नेपाल सम्वत् ११४६, अनलाथ्वः १३ त्रयोदशी, (१५ जेष्ठ, २०८३, २९ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखाको प्रसिद्ध हिलस्टेसन चेर्दुङ (३,६९० मिटर) को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ। नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’मा बिहीबारदेखि सुरु भएको ‘चेर्दुङ पदयात्राका तस्वीरहरू’ शीर्षकको तीन दिने प्रदर्शनी एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको हो।
प्रदर्शनीमा पत्रकार लामाले चेर्दुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा जनजीवन झल्काउने ३१ वटा तस्वीर प्रदर्शन गरेका छन्। तस्वीरहरूमा गौरीशंकर हिमशृंखला, जिरी उपत्यका, झ्याँकु गाउँ, स्थानीय जीवनशैली, साइक्लिङ गतिविधि तथा सांस्कृतिक विविधताका दृश्य समेटिएका छन्।
विश्व पर्वतारोहण महासंघका मानार्थ विज्ञदूत तथा पर्यटनविज्ञ आङछिरिङ शेर्पाले प्रदर्शनीको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले चेर्दुङसँग जोडिएका आफ्ना अनुभव सुनाउँदै प्रदर्शनीले चेर्दुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, पर्यटन पत्रकार अमृत भादगाउँलेलगायतले चेर्दुङ क्षेत्रको पर्यटन सम्भावना र यसको प्रचार–प्रसारको आवश्यकतामाथि धारणा राखेका थिए।
पत्रकार जीवन लामाले आफ्नो जन्मथलोको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउँदै चेर्दुङको पहिचान स्थापित गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
दोलखाको चेर्दुङ प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। जिरी उपत्यका र सुरी गाउँको माथिल्लो भागमा अवस्थित चेर्दुङबाट गौरीशंकरसहित पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यहाँबाट नुम्बुर, रामदुङ, छेकिगो, धारे मेलुङत्से, लाक्पा दोर्जे, टासी लाप्चा, गौरीशंकर, आमा बामरे, गणेश तथा गोर्खा हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ।
चेर्दुङ धार्मिक दृष्टिले हिन्दु तथा बौद्धमार्गीहरूको साझा आस्थाको केन्द्र पनि हो। डाँडाको शिरमा अवस्थित चेर्दुङेश्वर महादेव मन्दिर तथा नजिकै रहेको गुरु रिम्पोचे (पद्यसम्भव) को पाइला रहेको ढुङ्गाले यस क्षेत्रलाई धार्मिक महत्व प्रदान गरेको छ। हिन्दु धर्मावलम्बीहरूले यहाँ त्रिशूल चढाउने गर्छन् भने बौद्धमार्गीहरूले धर्ज्यू र लुङ्दार फहराएर श्रद्धा व्यक्त गर्ने परम्परा रहेको छ।
स्थानीय जनविश्वासअनुसार चेर्दुङेश्वरको पूजा गरेमा रोगव्याधि नलाग्ने तथा वन्यजन्तुले चौपायालाई हानि नगर्ने विश्वास गरिन्छ। यहाँ प्रत्येक वर्ष चण्डी पूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गर्दछ। बौद्ध परम्पराअनुसार गुरु रिम्पोचे हिमाली क्षेत्रमा बौद्ध धर्म प्रचार गर्ने क्रममा चेर्दुङ आइपुगी ध्यानमा बसेको विश्वास गरिन्छ। त्यहाँ रहेको ओढारलाई अहिले ध्यान केन्द्रका रूपमा विकास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij