Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सुन्द्रावती विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुन्द्रावती विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल सम्वत् ११४६, अनलाथ्वः १० नवमी, (११ जेष्ठ, २०८३, २५ मे, २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालीका वडा नं. १ की वडा सदस्य निशा थामीको प्रमुख आतिथ्यमा आज जेष्ठ ११ गते सोमबारका दिन सुन्द्रावती आधारभूत विद्यालय, दामाराङमा अध्ययनरत ५३ जना सिमान्तकृत तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

कार्यक्रममा विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन आवश्यक झोला, जुत्ता, मोजा, वर्षभरिका लागि कापी–कलम तथा विद्यालय पोशाक प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार नेपाल गृह, बुढानिलकण्ठ काठमाडौंले विगत ६७ वर्षअघिदेखि निरन्तर रूपमा विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ। आर्थिक रूपमा कमजोर तथा सिमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी गरिएको यस सहयोगले विद्यार्थीहरूको शिक्षामा पहुँच बढाउन र अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण सहयोग पुगेको विद्यालयको भनाइ छ।

कार्यक्रममा बोल्दै वडा सदस्य निशा थामीले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्दै आएको नेपाल गृहको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सामाजिक तथा शैक्षिक सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो।

विद्यालय परिवारले पनि निरन्तर रूपमा विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा साथ दिँदै आएको नेपाल गृहप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिन सम्बन्धित संघसंस्था तथा सहयोगी हातहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार