Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेवाः देय् दवुको आयोजनामा मरिणमा नेवारी संस्कृति सम्बन्धी प्रशिक्षण सम्पन्न

नेवाः देय् दवुको आयोजनामा मरिणमा नेवारी संस्कृति सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल सम्वत् ११४६, अनलाथ्वः १ प्रतिपदा (३ जेष्ठ, २०८३, १७ मे, २०२६) आईतबार, बाँपिझ्याला । मरिण गाउँपालीकाको आर्थिक सहयोग तथा नेवाः दय् दवु मरिण गाउँपालिकाको आयोजनामा “नेवारी इतिहास, संस्कार र संस्कृति” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। २०८३ साल जेठ २ र ३ गते मरिण गाउँपालिका वडा नं. ६ स्थित छाप, सिन्धुलीमा सम्पन्न उक्त कार्यक्रम नेवार समुदायको भाषा, संस्कृति, परम्परा तथा ऐतिहासिक पहिचान संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

Marin-3.jpg

कार्यक्रम नेवाः देय् दवु मरिण गाउँपालिकाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष विमर्र्श मोक्तान रहनुभएको थियो भने विशेष अतिथिमा उपाध्यक्ष विमला माझी सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, नेवाः देय् दवुका पूर्व केन्द्रीय अध्यक्ष तथा संरक्षक नरेश ताम्रकार, केन्द्रीय सदस्य विनोदकुमार श्रेष्ठ, प्रदेश उपत्यका समितिका वरिष्ठ उपाध्यक्ष गणेशमान श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य तथा प्रशिक्षक उपेन्द्र प्रधान, बागमती प्रदेश महिला सचिव भद्रा राजभण्डारी, प्रदेश सदस्यहरू कालिदास श्रेष्ठ र भानुभक्त श्रेष्ठ, सिन्धुली जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, सचिव समिर श्रेष्ठ तथा कोषाध्यक्ष पदम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

Marin4.jpg

त्यसैगरी मरिण गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका वडाध्यक्षहरू हिरा गुर्मछान, कलम आले, जीतबहादुर श्रेष्ठ, जीतबहादुर काल्तान, दीपक माझी तथा चन्द्रथिङ फौदको समेत कार्यक्रममा सहभागिता रहेको थियो। टोखाका सामाजिक अभियन्ता तथा पूजारी देवराज डंगोलले नेवार समुदायमा प्रचलित पूजा विधि र सांस्कृतिक अभ्यासका विषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले सुकुण्डामा बत्ती बालेर गर्नुभएको थियो। उद्घाटनपश्चात राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने नेवाः गीतमार्फत अतिथिहरूलाई स्वागत गरिएको थियो। स्वागत मन्तव्य भेषराज श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन बाबुराम श्रेष्ठले गर्नुभएको थियो।

Marin1.jpg

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विमर्श मोक्तानले भाषा, संस्कार र संस्कृति कुनै पनि समुदायको पहिचानको आधार भएको बताउनुभयो। उहाँले मौलिक संस्कृति संरक्षणका लागि स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तर प्राथमिकता दिने धारणा व्यक्त गर्नुभयो। विशेष अतिथि विमला मोक्तानले परम्परागत संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सामुदायिक चेतना आवश्यक रहेको बताउनुभयो।

त्यस्तै नेवाः देय् दवुका पूर्व अध्यक्ष तथा संरक्षक नरेश ताम्रकार, केन्द्रीय सदस्य विनोदकुमार श्रेष्ठ तथा सिन्धुली जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नेवार समुदायको भाषा, संस्कृति र पहिचान जोगाउन सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभएको थियो।

प्रशिक्षण सत्रमा पूर्व केन्द्रीय सदस्य उपेन्द्र प्रधानले नेवार जातिको संस्कार, नेपाल भाषा, रञ्जनालिपिको प्रयोग, यसको महत्व तथा लेखन विधिबारे जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो। उहाँले नेपाल भाषा नेवार समुदायको ऐतिहासिक पहिचान र सभ्यताको आधार भएको उल्लेख गर्नुभयो।

Marin-2.jpg

यसैगरी स्वःनिग प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेशमान श्रेष्ठले नेवार समुदायका चाडपर्व, बाजागाजा तथा सांस्कृतिक परम्पराबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले नेवार संस्कृतिका पर्व र सांस्कृतिक अभ्यासहरूले सामाजिक एकता तथा सामूहिक सहकार्यलाई मजबुत बनाउने बताउनुभयो।

पूर्व केन्द्रीय अध्यक्ष तथा संरक्षक नरेश ताम्रकारले नेवार समुदायको इतिहास, नेवाः समुदाय आफ्नो थातथलोबाट विस्थापित हुनुका कारण तथा भाषा, संस्कृति, संस्कार, चाडपर्व र रीतिरिवाजबारे विश्लेषणात्मक प्रस्तुति दिनुभएको थियो। उहाँले समयसँगै मौलिक संस्कृतिमा आएको परिवर्तन र त्यसको संरक्षणका लागि समुदाय सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा मरिण गाउँपालिका भित्रका १०२ जना महिला तथा पुरुष सहभागीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई ज्ञानवर्धक, उपयोगी र प्रेरणादायी भएको बताएका थिए। कार्यक्रम उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी नेवाः देय् दवु मरिण गाउँपालिकाका अध्यक्ष राजकुमार श्रेष्ठले दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार