Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

सुत्केरी रक्तश्राव रोक्न ‘कन्डम टेम्पोनेड’ विधिबारे स्वास्थ्यकर्मीलाई तालिम

सुत्केरी रक्तश्राव रोक्न ‘कन्डम टेम्पोनेड’ विधिबारे स्वास्थ्यकर्मीलाई तालिम

नेपाल सम्वत् ११४६, बछलागाः १० दशमी (२९ बैशाख, २०८३, १२ मे, २०२६) मंगलबार, बाँपिझ्याला । स्थानीय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवामा कार्यरत स्रोतव्यक्तिहरूलाई सुत्केरी अवस्थामा हुने अत्यधिक रक्तश्राव रोक्ने र महिलाको जीवन बचाउने सम्बन्धी तालिम प्रदान गरिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय र धौलागिरि प्रादेशिक अस्पतालको आयोजनामा तथा फेयरमेड र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनामार्फत स्वास्थ्यकर्मीलाई ‘कन्डम टेम्पोनेड’ विधिबारे व्यवहारिक प्रशिक्षण दिइएको हो। यो विधि सुत्केरी महिलामा हुने अत्यधिक रक्तश्राव रोक्न प्रयोग गरिन्छ, जसले मातृ मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

परियोजनाका अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलका अनुसार एमएनएच अपडेट तालिममार्फत ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई सुत्केरीपछि हुने रक्तश्रावको अवस्था, त्यसको व्यवस्थापन र प्रोटोकलअनुसार औषधि प्रयोगबारे जानकारी दिइएको हो।

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, स्त्रीरोग विशेषज्ञ डा. विजय ओझा तथा नर्सिङ अधिकृतहरू देवी भट्टराई, मिलन बरुवाल र अजिता सिलवालले तालिममा सहजीकरण गर्नुभएको थियो। तालिममा ‘कन्डम टेम्पोनेड’ विधिको व्यवहारिक अभ्यास समेत गराइएको थियो।

बागलुङका १० स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्ति तथा बर्थिङ सेन्टरका अनमीहरू तालिममा सहभागी भएका थिए। शनिबारदेखि सोमबारसम्म सञ्चालन भएको तालिमको पहिलो चरणमा १५ जना सहभागीलाई विधिबारे विस्तृत जानकारी दिइएको वरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराईले बताउनुभयो।

डा. किरण तिवारीका अनुसार सुत्केरी अवस्थामा अत्यधिक रक्तश्राव भएमा ‘कन्डम टेम्पोनेड’ विधिबाट रक्तश्राव नियन्त्रण गरी बिरामीलाई सुरक्षित रूपमा सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सकिन्छ।

यसअघि ढोरपाटनस्थित बुर्तिवाङ अस्पतालमा कार्यरत नर्स पार्वती अर्यालले यही विधि प्रयोग गरेर ४२ जना सुत्केरी महिलाको ज्यान बचाइसकेको बताइएको छ।

चिकित्सकहरूका अनुसार कन्डममा पानी भरेर पाठेघरमा राख्दा रक्तश्राव नियन्त्रण गर्न सकिन्छ। यो विधिबाट बिरामीलाई २४ घण्टासम्म स्थिर राखी सुरक्षित उपचारमा पुर्‍याउन सकिने भएकाले ग्रामीण क्षेत्रमा यसको उपयोग अत्यन्त महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार