नेपाल सम्वत् ११४६, बछलागाः ९ नवमी (२८ बैशाख, २०८३, ११ मे, २०२६) सोमबार, बाँपिझ्याला । संवैधानिक परिषद् ले सर्वोच्च अदालतका चौथो वरियताक्रममा रहेका न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ ।
सिफारिसलगत्तै सर्वोच्च अदालतका केही वरिष्ठ न्यायाधीशहरूबीच आन्तरिक छलफल भएको स्रोतले जनाएको छ । छलफलपछि उनीहरू नियमित रूपमा इजलासमा फर्किएका छन् भने सिफारिसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, असन्तुष्ट देखिएका न्यायाधीशहरू अहिले राजीनामा नदिने विषयमा लगभग एकमत भएका छन् । छलफलमा ‘राजीनामा नगरी उच्च मनोबलका साथ नियमित काम गर्ने’ समझदारी बनेको बताइएको छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरि फुयाल लगायतले तत्काल पदत्याग नगर्ने निष्कर्ष निकालेका हुन् ।
स्रोतका अनुसार, संवैधानिक परिषद्ले विगतको अभ्यास र वरिष्ठताको परम्परा उल्लंघन गरेको महसुस भए पनि अहिले राजीनामा दिनु भनेको आरोप स्वीकार गरेजस्तो हुने निष्कर्षमा उनीहरू पुगेका छन् । साथै, राजीनामा दिएमा आफूलाई हटाउन चाहने पक्षलाई सहज हुने मनोविज्ञान पनि छलफलमा देखिएको बताइएको छ ।
यदि संसदीय सुनुवाइ समिति बाट डा. मनोज शर्माको नाम अनुमोदन भएमा उनी करिब ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् । त्यसले सपना प्रधान मल्ल र कुमार रेग्मीलाई प्रधानन्यायाधीश बन्ने अवसरबाट वञ्चित गर्ने देखिएको छ ।
यद्यपि, न्यायाधीश हरि फुयालको हकमा भविष्यमा रोलक्रमका आधारमा नेतृत्वको सम्भावना कायम रहने चर्चा न्यायिक वृत्तमा भइरहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij