नेपाल सम्वत् ११४६, बछलागाः ४ चौथी (२३ बैशाख, २०८३, ६ मे, २०२६) बुधबार, बाँपिझ्याला । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ बीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र चीन बीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित छलफल भएको जनाइएको छ।
भेटका क्रममा मन्त्री वादीले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको स्पष्ट पार्दै दुई देशबीचको सहकार्यलाई सामाजिक विकासका क्षेत्रमा अझ विस्तार गर्न सकिने धारणा राखिन्। उनले विशेषगरी महिला सशक्तीकरण, बालअधिकार संरक्षण, ज्येष्ठ नागरिकको सेवा विस्तार तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनमा सहकार्य बढाउन सकिने उल्लेख गरिन्। साथै, नेपाल–चीन सम्बन्धलाई अझ परिणाममुखी बनाउने दिशामा आफ्नो मन्त्रालय सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
छलफलमा स्थानीय नेपाली महिलाले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने, नमूना ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री र विशेष सेवाको उपलब्धता बढाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
राजदूत माओमिङले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा बलियो रहेको उल्लेख गर्दै आपसी विश्वास र सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाए। उनले महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण तथा समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य विस्तार गर्न चीन तत्पर रहेको विश्वास व्यक्त गरे।
समग्रमा, यो भेटले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सामाजिक विकाससँग जोड्दै अझ व्यावहारिक र परिणाममुखी बनाउने संकेत दिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij