नेपाल सम्वत् ११४६, बछलाथ्वः १४ पूर्णीमा (१८ बैशाख, २०८३, १ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। यो प्रतियोगिता पोखरामा आयोजित महिलाको पहिलो प्रतियोगिता हो।
प्रतियोगिता आरएस पोखरा फुटबल क्लबको आयोजना र पोखरा रंगशालामा सञ्चालन भइरहेको छ। उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक आरएस पोखरा क्लबलाई ८–० को सानदार जितसहित फाइनलमा प्रवेश गरेको छ।
पुलिसको जितमा राष्ट्रिय महिला टोलीकी स्टार स्ट्राइकर रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। त्यस्तै, निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपेका थिए।
खेलको सुरुवातमै पुलिसले आक्रामक खेल प्रदर्शन गर्यो। खेलको तेस्रो मिनेटमा पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो भने पाँचौँ मिनेटमा रेखा पौडेलको क्रस बल गोलमा परिणत भयो। नवौँ मिनेटमा आरएसकी गोलरक्षक प्रिया लामाले रेखाको प्रहार बचाइन्।
दशौँ मिनेटमा रेखाको पासमा निर्मला विकले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन्। सत्ताइसौँ मिनेटमा रेखाले पुनः गोल गर्दै आफ्नो क्षमताको प्रदर्शन गरिन्। ३५औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरिन्। त्यसको दुई मिनेटपछि पाँचौं गोल पनि रेखाले नै गरिन्।
आरएसकी खेलाडीहरू पनि अवसर सिर्जना गर्न सफल भए। २३औँ मिनेटमा अनिता रानामगरको प्रहार पुलिसका डिफेन्डरले क्लियर गरे। २८औँ मिनेटमा अनिताको हेडर गोलरक्षक उस्सा नाथले बचाइन्। २९औँ मिनेटमा आयुषा रिउलेको लामो प्रहार पनि उस्सा बाधक बनिन्। ४०औँ मिनेटमा वर्षा ओलीको प्रहार गोलको अवसरमा परिणत भएन।
पहिलो हाफको अन्त्यसम्म पुलिसले आयोजकलाई ५–० ले पछि पार्यो। दोस्रो हाफमा पुलिसले थप दुई गोल गरे र एक गोल उपहारस्वरुप पायो। खेलको ५०औँ मिनेटमा साहारा लिम्बूले गोल गर्दै स्कोर थपिन्। ६०औँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौं गोल गरिन् र प्लेयर अफ द म्याच घोषित भइन्।
प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ। आयोजक आरएस पोखरा क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, र सङ्कटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताअन्तर्गत शनिबार दोस्रो खेल त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच हुनेछ। यस खेलको विजेताले फाइनलमा पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
फाइनल खेल यही वैशाख २० गते आयोजना हुनेछ। च्याम्पियन टोलीले नगद रु पाँच लाख, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछ। उत्कृष्ट खेलाडीले रु ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार, र अनुशासित टिमले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij