पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज काठमाडौँ उपत्यका का प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप सहित विभिन्न बौद्ध गुम्बाहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठुलो घुइँचो लागेको छ।
यस विशेष दिनको उपलक्ष्यमा विभिन्न स्थानमा पूजा–आराधना, धार्मिक प्रवचन, दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेषगरी स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित पवित्र अस्तु धातु सर्वसाधारणको दर्शनका लागि राखिएकाले बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको छ।
गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीहरूले विश्व शान्तिको कामना गर्दै शान्तिपाठ, ध्यान साधना र परिक्रमा गरिरहेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा भक्तजनहरूले दीप प्रज्वलन गर्दै व्यक्तिगत तथा राष्ट्रिय शान्ति र समृद्धिको कामना गरेका छन्।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीलाई हिन्दू धर्मावलम्बीहरूले पनि सिद्धार्थ गौतम लाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा गर्दै विशेष श्रद्धाका साथ मनाउने गर्छन्।
अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिनुभएका बुद्धको शिक्षाले विश्व शान्ति र मानवतावादी मूल्यहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ। आजभन्दा करिब २५७० वर्षअघि लुम्बिनी मा जन्मिनुभएका बुद्धले बोधगया मा ज्ञान प्राप्त गरेका थिए। उनले सारनाथ मा पहिलो पटक धर्मचक्र प्रवर्तन गरेका थिए भने कुशीनगर मा महापरिनिर्वाण प्राप्त गर्नुभएको ऐतिहासिक तथ्यहरू रहेका छन्।
यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। विभिन्न संघसंस्था तथा धार्मिक निकायहरूले शान्ति, सद्भाव र भ्रातृत्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ विविध कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। बुद्धका उपदेशलाई आत्मसात् गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्न आजको दिनले थप प्रेरणा दिने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij