Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वरमा ३५ लाखको फल्चा अलपत्र, छानाविहीन संरचना जीर्ण बन्दै-जवाफ खोज्दै दोलखावासी

भीमेश्वरमा ३५ लाखको फल्चा अलपत्र, छानाविहीन संरचना जीर्ण बन्दै-जवाफ खोज्दै दोलखावासी

नेपाल सम्वत् ११४६, बछलाथ्वः ११ द्वादसी (१५ बैशाख, २०८३, २८ अप्रिल, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ अन्तर्गत कालिमन्दिर क्षेत्रमा निर्माणाधीन भीमेश्वर धार्मिक पर्यटन विश्राम गृह (फल्चा) निर्धारित समयमै सम्पन्न नहुँदा अहिले अलपत्र अवस्थामा पुगेको छ।

२०८१ साल असोज १६ गते भीमेश्वर नगरपालिकासँग सम्झौता भई २०८१ साल फाल्गुण ११ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर तोकिएको समयसीमा सकिएको करिब दुई महिना नाघिसक्दा पनि संरचना पूर्ण त परै जाओस्, बनेको भागसमेत संरक्षण अभावका कारण दिनानुदिन बिग्रँदै गएको छ। यस विषयले दोलखावासीबीच चासोको विषय बनेको छ र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यो समाचार सम्प्रेषण गरिएको हो।

करिब ३५ लाख रुपैयाँको बजेट विनियोजन भएको उक्त परियोजनामा हालसम्म आधारभूत संरचना मात्र तयार भएको देखिन्छ। तर छाना नहालिएको कारण काठ, ढुंगा र गाह्रो जस्ता निर्माण सामग्री विगत ६ महिनादेखि निरन्तर घामपानीमा परिरहेका छन्। यसले संरचनाको गुणस्तरमा गम्भीर असर पार्नुका साथै भविष्यमा थप मर्मत खर्च बढ्ने जोखिम समेत बढाएको छ।

स्थानीय बासिन्दाका अनुसार सुरुवाती चरणमा केही समय काम अगाडि बढे पनि पछि निर्माण एकाएक सुस्ताएको थियो। पछिल्ला महिनाहरूमा निर्माण स्थल लगभग सुनसान जस्तै रहेको र काम पूर्ण रूपमा ठप्प भएको उनीहरूको भनाइ छ। यस विषयमा पटक–पटक वडा कार्यालय तथा भीमेश्वर नगरपालिका समक्ष मौखिक तथा अनौपचारिक रूपमा गुनासो राख्दा पनि कुनै ठोस प्रतिक्रिया नआएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

परियोजना ढिलाइ हुनुको कारण, ठेकेदारको जिम्मेवारी, भुक्तानी प्रक्रिया तथा प्राविधिक अनुगमनको अवस्थाबारे हालसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यसले पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरूले सार्वजनिक रकमको सही उपयोग नभएको आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

यससँगै अर्को महत्वपूर्ण प्रश्न पनि उठेको छ—निर्माण कार्य बीचमै किन छोडियो? के यसबारे २ नं. वडा कार्यालयले चासो लिनु पर्दैन? के नगरपालिकाले यसको संरक्षणका लागि पहल गर्नु पर्दैन? के यो राज्यको सम्पत्ति होइन? अब यसको संरक्षण कसले गर्ने? बजेट अभावका कारण यसै अवस्थामा यो फल्चा छोडिने हो कि? यस्ता प्रश्नहरू अहिले दोलखावासीका साझा जिज्ञासा बनेका छन्।

धार्मिक तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले निर्माण गर्न लागिएको यो विश्राम गृह फल्चा समयमै सम्पन्न भए स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो। तर वर्तमान अवस्थाले उक्त उद्देश्य नै संकटमा परेको देखिन्छ। अब ढिलासुस्तीको अन्त्य गर्दै निर्माण कार्यलाई तीव्रता दिनु र संरचनाको संरक्षण गर्नु सम्बन्धित निकायका लागि चुनौती मात्र नभई अनिवार्य जिम्मेवारी बनेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार