४३ वर्षीया शुवरानी थारूको जीवन सामान्य देखिए पनि गहिरो सन्देश बोकेको छ। आफ्नै बारीमा उब्जाएको हरियो मकै पोल्दै जीविका चलाइरहनुभएकी उहाँका लागि काम केवल आम्दानीको माध्यम मात्र होइन, आत्मसम्मानको प्रतीक पनि हो।
मधुवन नगरपालिका–४ माचढ चोकको सडक किनारमा धुवाँसँगै संघर्षको कथा लेखिरहेकी ४३ वर्षीया शुवरानी थारूको जीवन सामान्य देखिए पनि गहिरो सन्देश बोकेको छ। आफ्नै बारीमा उब्जाएको हरियो मकै पोल्दै जीविका चलाइरहनुभएकी उहाँका लागि काम केवल आम्दानीको माध्यम मात्र होइन, आत्मसम्मानको प्रतीक पनि हो।
“काम सानो ठुलो हुँदैन, गर्ने जाँगर हुनुपर्छ,” भन्ने उहाँको भनाइ केवल शब्दमा सीमित छैन, व्यवहारमै झल्किन्छ। गत वर्षसम्म नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी शुवरानी अहिले त्यही सडक किनारमा मकै पोल्दै हुनुहुन्छ। उपमेयर भइसकेको व्यक्तिले यस्तो काम गर्नुहुन्छ भन्ने प्रश्नहरू उठे पनि उहाँ त्यसलाई सहज रूपमा लिनुहुन्छ। उहाँ स्पष्ट भन्नुहुन्छ, “आफ्नो काम गर्न के को लाज ? म कतै ठग्न चोर्न गएको छैन।”
राजनीतिक पदमा पुग्नु अघि पनि उहाँको जीवन कृषिसँगै जोडिएको थियो, र आज पनि त्यही पेशामा निरन्तरता दिनुभएको छ। पहिले जग्गा भाडामा लिएर खेती गर्ने, मकै लगाउने र पोलेर बेच्ने काम गर्नुहुन्थ्यो भने अहिले पनि त्यही क्रम जारी छ। कार्यकाल सकिएपछि फेरि मकै पोल्ने काममा फर्किनु उहाँको आत्मनिर्भर सोच र श्रमप्रतिको सम्मानको उदाहरण हो।
आर्थिक हिसाबले पनि यो काम प्रभावकारी देखिएको छ। मकै दाना बनाएर बेच्दा सीमित आम्दानी हुने भए पनि घोगा वा पोलेर बेच्दा मूल्य बढ्ने भएकाले उहाँले यो तरिका रोज्नुभएको हो। प्रतिघोगा २५ रुपैयाँमा मकै बेच्दै गत वर्ष ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुभयो। यस वर्ष भने एक लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ।
कृषि र पशुपालन नै उहाँको परिवारको मुख्य आधार हो। श्रीमान् फुलराम थारूसँग मिलेर आफ्नै १० कठ्ठा जमिनसँगै थप २ विघा भाडामा लिएर खेती गरिरहनुभएको छ। मकै, गहुँ र तरकारी उत्पादनसँगै उहाँहरूले पशुपालन पनि गर्दै आउनुभएको छ। आठ वटा भैंसी र एक गाईबाट दैनिक २० लिटरसम्म दूध उत्पादन गरी बिक्री गर्ने गरिएको छ, जसले परिवारको दैनिकी चलाउन सहयोग पुर्याएको छ।
तर यो संघर्ष केवल आर्थिक होइन, स्वास्थ्य र विगतको पीडासँग पनि जोडिएको छ। द्वन्द्वकालमा भोग्नुपरेको यातनाका कारण उहाँ अहिले पनि शारीरिक रूपमा कमजोर हुनुहुन्छ। उपचारका लागि भारतको लखनउसम्म जानुपरेको अनुभव उहाँसँग छ। लामो दूरी हिँड्न नसक्ने, भारी बोक्न नसक्ने अवस्थाका बीच पनि उहाँले काम छोड्नुभएको छैन।
राजनीतिक रूपमा पनि सक्रिय रहनुभएकी शुवरानी हाल नेकपा (एमाले) बाट प्रदेश सभा सदस्यको जिम्मेवारीमा हुनुहुन्छ। यसअघि तत्कालीन माओवादी केन्द्रको तर्फबाट उपमेयर बनेर सेवा दिनुभएको उहाँले आफ्नो कार्यकाल इमान्दारीपूर्वक पूरा गरेको बताउनुहुन्छ। उपमेयर हुँदा पाएको तलबसमेत स्वास्थ्य उपचारमै खर्च भएको र ऋण लिएर बनाएको सानो घरको किस्ता अझै तिर्दै गरेको उहाँको जीवन यथार्थ हो।
शुवरानी थारूको कथा केवल एक व्यक्तिको संघर्ष होइन, श्रमको सम्मान, आत्मनिर्भरता र इमान्दारिताको ज्वलन्त उदाहरण हो। धुवाँले ढाकिएको त्यो सडक किनारमा उभिएर उहाँले समाजलाई एउटा स्पष्ट सन्देश दिइरहनुभएको छ-काम कहिल्यै सानो हुँदैन, सोच सानो हुनु हुँदैन।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij