Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

एमाले स्थापना दिवसमा ओलीको तस्बिर नहुँदा अर्थपूर्ण चर्चा

एमाले स्थापना दिवसमा ओलीको तस्बिर नहुँदा अर्थपूर्ण चर्चा

नेपाल सम्वत् ११४६, बछलाथ्वः ५ पञ्चमी (९ बैशाख, २०८३, २२ अप्रिल, २०२६) बुधबार बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो ७७औँ स्थापना दिवसका लागि तयार गरिएको प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर नराखेपछि पार्टीभित्र र बाहिर विभिन्न अड्कलबाजी सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने कार्यक्रमका लागि महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको सूचनामा ओलीको तस्बिर नदेखिएपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टीभित्र संगठन पुनर्गठनको बहस चलिरहेका बेला यस्तो निर्णयले थप चासो बढाएको छ। यद्यपि, केन्द्रीय कार्यालयका अधिकारीहरूले भने यसलाई सामान्य विषयका रूपमा लिएका छन्। केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार यो केवल कार्यक्रममा सहभागी हुन गरिएको सूचना मात्र भएकाले तस्बिर नराखिनु असामान्य नभएको स्पष्ट पारिएको छ।

अध्यक्ष ओली हाल स्वास्थ्य लाभमा रहेकाले कार्यक्रममा उहाँको सहभागिता निश्चित भइनसकेको बताइएको छ। यही कारणले पनि प्रचार सामग्रीमा उहाँको तस्बिर समावेश नगरिएको हुन सक्ने अनुमान गरिएको छ।

यसअघि भने एमालेले सार्वजनिक कार्यक्रमका प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको थियो। तर यसपटकको फरक अभ्यासले पार्टीभित्रको बदलिँदो सन्देश वा परिस्थितिको संकेत हो कि भन्ने प्रश्न उठेको छ।

एमालेले यस वर्ष स्थापना दिवस सामान्य ढङ्गले मनाउने तयारी गरेको छ। अन्तर्क्रिया, संवाद र विचार गोष्ठी जस्ता कार्यक्रममार्फत दिवस मनाइने भए पनि कार्यक्रमको विस्तृत स्वरूप अझै तय भइनसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार