नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। लामो इतिहास बोकेको कम्युनिस्ट आन्दोलन अहिले भने गम्भीर चुनौतीको चरणमा पुगेको देखिन्छ। पछिल्लो आमनिर्वाचनपछि वामपन्थी शक्तिहरू कमजोर बनेका छन्, जसले आन्दोलनको भविष्यबारे प्रश्न उठाएको छ।
पुराना कम्युनिस्ट अगुवाहरूका अनुसार नेतृत्वभित्रको अहंकार, गल्ती स्वीकार नगर्ने प्रवृत्ति र अत्यधिक महत्वाकाङ्क्षाले पार्टीहरूलाई कमजोर बनाएको छ। संसदीय राजनीतिमा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न नसक्नु पनि वर्तमान अवस्थाको प्रमुख कारण मानिएको छ।
वि.सं. २००६ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै फुट र एकताको क्रम झेल्दै आएको छ। हालसम्म आइपुग्दा पनि यो क्रम रोकिएको छैन, जसका कारण आन्दोलनको समग्र शक्ति कमजोर बनेको विश्लेषकहरूको भनाइ छ। अहिले नेपालमा कति वटा कम्युनिस्ट पार्टी छन् भन्ने यकिन गर्नसमेत कठिन भएको अवस्था छ।
निर्वाचन आयोगमा कम्युनिस्ट नाममा १४ वटा दल दर्ता
निर्वाचन आयोगमा कम्युनिस्ट नाममा १४ वटा दल दर्ता छन्। नेताहरूले ‘कम्युनिस्ट’ नाममा पार्टी खोल्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्। यसबीच प्रमुख दलहरूबीच पुनः एकताको चर्चा चलिरहेको भए पनि नेताहरूले तत्कालभन्दा आत्मसमीक्षा र सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
वामपन्थी दलभित्र वैचारिक अस्पष्टता, नेतृत्वगत टकराव र विभाजनको अवस्थाबीच स्थापना दिवस मनाइँदै गर्दा आन्दोलनले आफ्नो मूल उद्देश्य हासिल गर्न नसकेको चिन्ता व्यक्त गरिएको छ। विश्लेषकहरूका अनुसार अहिलेको अवस्थामा कम्युनिस्ट आन्दोलन ‘सच्चिने वा सक्किने’ मोडमा पुगेको छ।
पछिल्लो चुनावी परिणामले पनि वामपन्थी दलहरूको प्रभाव घटेको देखाएको छ। यसले दलहरूलाई पुनर्गठन, एकता र स्पष्ट वैचारिक दिशातर्फ अघि बढ्न थप दबाब सिर्जना गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij