नेपाल सम्वत् ११४६, बछलाथ्वः १ प्रतिपदा (५ बैशाख, २०८३, १८ अप्रिल, २०२६) शनिवार, बाँपिझ्याला । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण असन क्षेत्रको मौलिकता जोगाउने उद्देश्यले “Vehicle Free Ason” कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। कार्यक्रमको उद्घाटन काठमाण्डौ महानगरका कार्यवाहक प्रमुख सुनीता डंगोलले गरेकी हुन्। यस अभियानअन्तर्गत अब प्रत्येक शनिबार असन क्षेत्रमा सवारीसाधन पूर्ण रूपमा निषेध गरिनेछ र क्षेत्रलाई पैदलमैत्री बनाइनेछ।
महानगरपालिकाका अनुसार यो कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोक, भोटाहिटी चोक र महाबौद्ध हुँदै असनसम्म फैलिएको मुख्य क्षेत्रलाई समेट्नेछ। यी मार्गहरूमा शनिबारका दिन कुनै पनि प्रकारका सवारीसाधन प्रवेश गर्न नपाइनेछ। इन्द्रचोक, मच्छिन्द्रबहाल, मांस गल्ली, वटु गणेश क्षेत्रलगायत भित्री गल्लीहरूमा समेत मोटरसाइकलसमेत निषेध गरिनेछ। सवारीचालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य केवल ट्राफिक व्यवस्थापन होइन, असनको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई जोगाउनु पनि हो। पछिल्लो समय अत्यधिक सवारी चाप र भीडका कारण पुराना सहरी बस्तीहरूमा व्यवस्थापन चुनौती बढ्दै गएको छ। यसले परम्परागत जीवनशैली, सांस्कृतिक गतिविधि र स्थानीय व्यापारमा समेत असर पार्न थालेको महानगरको ठहर छ।
शनिबारका दिन असन क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। स्थानीय परिकारको प्रदर्शनी, रैथाने हस्तकला, परम्परागत संगीत, नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने योजना छ। यसले असन क्षेत्रलाई केवल व्यापारिक केन्द्र मात्र नभई जीवित सांस्कृतिक स्थलका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
महानगरपालिकाले यस कार्यक्रममार्फत स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने, पर्यटन आकर्षण बढाउने र समुदायलाई सांस्कृतिक रूपमा सक्रिय बनाउने अपेक्षा गरेको छ। साथै नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कृतिसँग जोड्ने अवसर सिर्जना हुने विश्वास पनि व्यक्त गरिएको छ।
कार्यक्रम अवधिमा असन आउने सर्वसाधारणलाई सवारीसाधन बाहिरै पार्किङ गरेर पैदल यात्रा गर्न आग्रह गरिएको छ। धरहरा भूमिगत पार्किङ, जमल क्षेत्र, दरबार हाईस्कुललगायत स्थानहरूमा सवारी राख्न सकिने व्यवस्था गरिएको छ।
महानगरले यस्तो पहलले काठमाडौंलाई दीर्घकालीन रूपमा व्यवस्थित, पर्यावरणमैत्री र सांस्कृतिक रूपमा समृद्ध शहर बनाउने विश्वास लिएको छ। यदि कार्यक्रम सफल भयो भने भविष्यमा अन्य ऐतिहासिक क्षेत्रहरूमा पनि यस्तै मोडेल लागू गर्ने सम्भावना रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij