नेपाल सम्वत् ११४६, चौलागाः १० दशमी, (२९ चैत्र, २०८२, १२ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । भारतीय सङ्गीत जगतकी दिग्गज गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात र श्वासप्रश्वाससम्बन्धी समस्यापछि शनिबार अस्पताल भर्ना हुनुभएकी उहाँको मुम्बई स्थित ब्रिच क्यान्डी अस्पताल मा उपचारका क्रममा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उहाँको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे शिवाजी पार्कमा राजकीय सम्मानका साथ गरिने बताइएको छ।
सन् १९३३ सेप्टेम्बर ८ मा साङ्गलीमा जन्मिनुभएकी आशा भोसले महान् सङ्गीतकार पण्डित दीनानाथ मङ्गेशकर की तेस्रो सन्तान हुनुहुन्थ्यो। १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले करिब सात दशक लामो करियरमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ। सन् २०११ मा उहाँलाई गिनिज वर्ल्ड रेकर्ड्स ले विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा मान्यता दिएको थियो।
उहाँले ‘नयाँ दौर’, ‘तीसरी मञ्जिल’, ‘उमराव जान’, ‘इजाजत’ र ‘रङ्गीला’ जस्ता चर्चित चलचित्रका गीतमार्फत भारतीय पार्श्व गायनलाई नयाँ उचाइमा पुर्याउनुभयो। आफ्नो अद्वितीय स्वर, चञ्चलता र बहुमुखी शैलीका कारण उहाँ लाखौँ सङ्गीतप्रेमीको मनमा बस्न सफल हुनुभयो।
आफ्नो जीवनकालमा उहाँले दुई पटक राष्ट्रिय पुरस्कार, सन् २००१ मा दादासाहेब फाल्के पुरस्कार तथा पद्म विभूषण जस्ता उच्च सम्मान प्राप्त गर्नुभयो। साथै सन् १९९७ मा ग्रामी अवार्डका लागि मनोनयन हुने पहिलो भारतीय गायिका बन्ने गौरव पनि उहाँकै नाममा रहेको छ।
आशा भोसले को निधनसँगै भारतीय सङ्गीत जगतले एक स्वर्णिम युग गुमाएको छ। पार्श्व गायनको क्षेत्रमा उहाँले पुर्याएको योगदान र कालजयी गीतहरू सधैँका लागि स्मरणीय रहनेछन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij