नेपाल सम्वत् ११४६, चौलागाः १० दशमी, (२९ चैत्र, २०८२, १२ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२ मा बागमती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय द्वारा निर्माण गरिएको “सांस्कृतिक सम्पदा तथा मुद्रा संग्रहालय” औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। वि.सं. २०७७ देखि २०७९ सालसम्म ३ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त संग्रहालय अब भीमेश्वर नगरपालिकाले सञ्चालन, संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ।
यस महत्वपूर्ण परियोजनाको परिकल्पना तथा अगुवाइ ई. आत्माकृष्ण श्रेष्ठले गर्नुभएको हो। उहाँले सानै उमेरदेखि दोलखाको कृषि, पर्यटन र सांस्कृतिक विकासका लागि निरन्तर योगदान दिँदै आउनुभएको छ। संग्रहालय स्थापना उहाँको दीर्घकालीन सपना रहेको बताइन्छ, जसलाई साकार पार्न उहाँले विभिन्न चरणमा पहल गर्दै अन्ततः सफल बनाउनुभएको हो।
हस्तान्तरण कार्यक्रम भीमेश्वर नगरपालकिाको नगर प्रमुख ईश्वर नारायण मानन्धर को अध्यक्षतामा सम्पन्न भएको थियो भने बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संग्रहालय भवनको अवलोकन, शिलान्यास स्मरण तथा हस्तान्तरण सम्झौता सम्पन्न गरिएको थियो।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको संरचनालाई अब उपयोगमा ल्याउनुपर्नेमा जोड दिँदै संग्रहालयलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले अब संग्रहालयबाट प्राप्त आम्दानीमध्ये ३० प्रतिशत प्रदेश सरकार र ७० प्रतिशत स्थानीय तहलाई जाने व्यवस्था गरिएको जानकारी दिनुभयो।
पर्यटन आयोजना इकाई कार्यालयका प्रमुख उत्तम चापागाईंले आवश्यक कार्यविधि निर्माणमा ढिलाइ भएका कारण निर्माण सम्पन्न भएको दुई वर्षपछि मात्र संग्रहालय हस्तान्तरण गर्न सम्भव भएको उल्लेख गर्नुभयो। त्यस्तै मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले यो संग्रहालय दोलखा जिल्ला को प्रमुख पर्यटकीय सम्पदाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो।
नगर उपप्रमुख कमला बस्नेतले संग्रहालयको संरक्षण र प्रवर्द्धनमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक हुने बताउनुभयो। नगरप्रमुख मानन्धरले संग्रहालय सञ्चालनका लागि आवश्यक कार्यविधि तयार गरी दोलखाको मौलिक पहिचान झल्किने सामग्रीहरू संकलन गरिने जानकारी दिनुभयो।
ऐतिहासिक रूपमा महत्वपूर्ण दोलखा लाई “नेपालमै पहिलो चाँदीको सिक्का निकालिएको स्थान” र सांस्कृतिक सम्पदाको उद्गमस्थलका रूपमा चिनिन्छ। यस्तो सन्दर्भमा स्थापना भएको यस संग्रहालयले दोलखाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले पर्यटन विकाससँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij