Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

स्वर्ण महोत्सवमा द्वाल्खा गुठीको गरिमामय उत्सव: इतिहासकार डा. टेकबहादुर श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित

स्वर्ण महोत्सवमा द्वाल्खा गुठीको गरिमामय उत्सव: इतिहासकार डा. टेकबहादुर श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित

नेपाल सम्वत् ११४६, चौलागाः ९ नवमी, (२८ चैत्र, २०८२, ११ अप्रिल, २०२६) शनिवार, बाँपिझ्याला । द्वाल्खा गुठीको स्वर्ण महोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा “दोलखाका ऐतिहासिक रुपरेखा” का लेखक तथा इतिहासकार डा. टेकबहादुर श्रेष्ठ लाई सम्मान गरिएको छ। ५० वर्षे गौरवपूर्ण यात्रा पूरा गरेको गुठीले सांस्कृतिक, सामाजिक तथा बौद्धिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई कदर गर्दै भव्य कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा गुठीका पूर्व अध्यक्षहरू आत्माकृष्ण श्रेष्ठ, केदारमान सिंह श्रेष्ठ र कृष्ण प्रसाद मास्के सम्मानित भएका थिए। साथै बाद्यवादक नवराज प्रधान र युवा गायक दीपक श्रेष्ठ ‘स्वप्नील’ लाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। यसअघि २०८२ चैत्र २५ गते दोलखामा आयोजित कार्यक्रममा गुठीका पूर्व अध्यक्ष तथा जेष्ठ नागरिक मुक्तीमान राजभण्डारीलाई अभिनन्दन गर्नुका साथै दोलखाका बाद्यवादक र संस्कृतिप्रेमी व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो, जसले गुठीको निरन्तर सामाजिक सक्रियता झल्काएको थियो।

काठमाडौं उपत्यकाको विजुली बजारस्थित क्रिष्टल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा टेकबहादुर श्रेष्ठ सहित गुठीका पूर्व अध्यक्षहरू, पूर्व सांसद दिव्यमणी राजभण्डारी, पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा. मुक्तीनारायण प्रधान, प्रा.डा. हरिदर्शन श्रेष्ठ, समाजसेवी बैकुण्ठनारायण प्रधान, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, युवा पत्रकार रमेश खड्का तथा कालिञ्चोक युवा क्लबका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै गुठीको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रमको प्रारम्भ सदस्य शान्ती श्रेष्ठको स्वागत मन्तव्यबाट भएको थियो भने गुठीका अध्यक्ष विनोद मास्केले संस्थाको उद्देश्य, गतिविधि र योगदानमाथि प्रकाश पारेका थिए। गुठीको ५० वर्षे ऐतिहासिक यात्राको विस्तृत विवेचना सदस्य प्रकाश श्रेष्ठले प्रस्तुत गरेका थिए, जसले संस्थाको विकासक्रम र समाजमा यसको भूमिकालाई स्मरण गराएको थियो।

उपस्थित अतिथिहरूलाई गुठीका सदस्यहरू कल्याणीदेवी श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ र शान्ती श्रेष्ठले खाता लगाएर स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन गुठीका महासचिव उपेन्द्र प्रधानले गरेका थिए। स्वर्ण महोत्सवको अवसरमा सम्पन्न यो कार्यक्रमले द्वाल्खा गुठीको दीर्घकालीन योगदानलाई सम्मान गर्दै दोलखाको सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।

atma-k.jpg
kedarman.jpg
Krishna-p.jpg
Jagat-n.jpg
dipak.jpg
sarla.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार