Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखामा पाँच सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न

दोलखामा पाँच सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न

नेपाल सम्वत् ११४६ चौलागाः अष्टमी, अर्थात् २०८२ साल चैत्र २७ गते (१० अप्रिल २०२६) शुक्रवारका दिन दोलखामा मनाइने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ जात्रा विधिवत रूपमा सम्पन्न भएको छ। सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको यो भव्य रथयात्रा यस वर्ष चैत्र १९ गतेदेखि सुरु भई नौ दिनसम्म विभिन्न टोलहरूमा परिक्रमा गराउँदै अन्ततः डोकलुङ्गा टोलमा भित्र्याएर समापन गरिएको हो।

Machindrafe.jpg

जात्राको सुरुवात परम्परागत रूपमा दुधले स्नान गराउने ‘दुधुकु ठुङ पुनिस’ विधिबाट गरिन्छ, जुन दोलखा नेवार समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ। त्यसपछि डोकलुङ्गा टोलबाट देवतालाई पिङ्गल टोलमा ल्याई विधिपूर्वक रथारोहण गराइन्छ। चैत्र २१ गतेदेखि सुरु हुने रथयात्रा क्रमशः नक्छेँ टोल, श्यामसुन्दर टोल, टँसिचा टोल, माथिल्लो टोल, दुङ्गल टोल हुँदै पुनः पिङ्गल टोल र अन्तिम दिन डोकलुङ्गा टोलमा पुर्‍याइन्छ। विशेषगरी उकालोमा करिब ३६० डिग्री घुमाएर रथ तानिने दिनलाई जात्राको सबैभन्दा रोमाञ्चक र महत्वपूर्ण क्षणका रूपमा लिइन्छ, जहाँ स्थानीयको उत्साह र सामूहिक सहभागिता उल्लेखनीय हुन्छ।

Machindrafe.jpg

यो जात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई दोलखाको सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको परम्परा हो। रथ जहाँ-जहाँ पुग्छ, त्यही टोलका बासिन्दाहरूले त्यस दिनलाई आफ्नो चाड (नखत) का रूपमा मनाउँछन्। आफन्त, इष्टमित्र र चेलिबेटीलाई बोलाएर भोज खुवाउने, रातभर भजनकिर्तन गर्ने र दीपावली गर्ने चलनले यस पर्वलाई अझ जीवन्त बनाउँछ। यस क्रममा कुखुराको मासु प्रयोग नगर्ने तथा शुद्धता कायम राख्ने विशेष नियम पनि पालना गरिन्छ।

इतिहासतर्फ फर्किँदा, रातो मच्छिन्द्रनाथ जात्राको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन प्रमाण नभए पनि अभिलेखअनुसार वि.सं. १६३८ मै मच्छिन्द्रनाथ अर्थात् श्री आर्यावलोकेश्वरलाई सुनको प्रभामण्डल चढाइएको उल्लेख भेटिन्छ। यसले कम्तीमा पाँच सय वर्षअघि नै यो जात्रा प्रचलनमा रहेको संकेत गर्दछ। 

वि.सं. १८६० मा गिर्वाणयुद्ध वीरविक्रम शाहले गुठी व्यवस्थालाई पुनः व्यवस्थित गर्दै रथयात्रालाई निरन्तरता दिन लालमोहर प्रदान गरेका थिए। लापिलाङ, लेप्टुङ, कार्तिके र गुमु क्षेत्रका उत्पादनलाई गुठीका रूपमा छुट्याई रथ निर्माण तथा पूजा सञ्चालनको व्यवस्था गरिएको थियो।

machincfr8.jpg

परम्पराअनुसार ती क्षेत्रका मानिसहरूले चोयाको डोरी, काठ, तेल, वनमाला लगायत सामग्री ल्याई रथ निर्माण गर्ने गर्थे। पहिले १२–१३ तलासम्म अग्लो रथ बनाइने गरिन्थ्यो, जुन अहिलेको तुलनामा निकै भव्य मानिन्थ्यो। रथमा देवतालाई राखेपछि भैरवको मुखुण्डो ल्याई धर्मासीमा स्थापना गर्ने र विशेष पूजा गर्ने चलन पनि रहिआएको छ।

मच्छिन्द्रनाथलाई करुणामय, लोकेश्वर, पद्मपाणी, आर्यावलोकेश्वर, बुगदेउ जस्ता विभिन्न नामले पुकारिन्छ। बौद्ध परम्परामा आधारित भए पनि हिन्दू धर्मावलम्बीहरूले पनि उनलाई वर्षा र सहकालका देवताको रूपमा श्रद्धापूर्वक पूज्ने गर्दछन्। यसले दोलखामा प्राचीनकालदेखि नै धार्मिक सहिष्णुता र सांस्कृतिक समन्वय रहेको स्पष्ट देखाउँछ।

जात्रासँगै पूर्णिमाका दिन ‘खो पूजा’ नामक जलदेवीसँग सम्बन्धित अर्को परम्परागत अनुष्ठान पनि गरिन्छ, जसमा विभिन्न अन्नका बीउहरू नदीमा बगाएर कृषि समृद्धिको कामना गरिन्छ। यो परम्परा पनि दोलखाको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा गाँसिएको छ।

Machindra2.jpg

यसरी धर्म, संस्कृति, इतिहास र सामाजिक एकताको अद्वितीय संगमका रूपमा रहेको दोलखाको रातो मच्छिन्द्रनाथ जात्रा आज पनि उत्तिकै श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित यस परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

फोटोः अजय प्रधान

machindra4.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार