Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखामा बुग्देउ (मच्छिन्द्रनाथ) जात्रा सुरुको चौथौ दिन, आज उकालोमा रथ तानिने परम्परा

दोलखामा बुग्देउ (मच्छिन्द्रनाथ) जात्रा सुरुको चौथौ दिन, आज उकालोमा रथ तानिने परम्परा

नेपाल सम्वत् ११४६ चौलागाः (२४ चैत्र, २०८२, ०७ अप्रिल २०२६) मंगलबार, बाँपिझ्याला । प्राचीन सहर दोलखामा अहिले मच्छिन्द्रनाथ अर्थात् बुग्देउको रथयात्रा भव्य रूपमा सञ्चालन भइरहेको छ। नेपाल भाषामा बुग्देउ भनिने यो जात्रा नेवार समुदायको धार्मिक र सांस्कृतिक पहिचानसँग जोडिएको छ। स्थानीय स्तरमा मात्र नभई काठमाडौं उपत्यका लगायत अन्य ठाउँका नेवार जातिका व्यक्तिहरू पनि यसमा सहभागी हुने परम्परा रहेको छ।

आज चैत्र २४ गते, दोलखाको तल्लो टोलबाट माथिल्लो टोलतर्फ करिब ६० डिग्रीको उकालो रहेको डास्नी मार्फत रथ तान्ने अनौठो परम्परा रहने छ। यो रथ यात्रा धार्मिक मात्र नभई सामाजिक एकताको प्रतीक पनि हो, जसले स्थानीयवासीहरूलाई सधैं एकताबद्ध बनाउने काम गरेको छ।

दोलखामा मच्छिन्द्रनाथलाई ‘रातो मच्छिन्द्रनाथ’ का रूपमा पूजा गरिन्छ। यो देवता वर्षा, समृद्धि र सहकाल (सहयोग र समृद्धि) का प्रतीक मानिन्छ। हिन्दू र बौद्ध परम्परामा दुवैमा धार्मिक महत्व बोकेको यस जात्राले स्थानीय सांस्कृतिक जीवनमा महत्वपूर्ण भूमिका खेलेको छ।

दोलखा प्राचीन सहर हो। यहाँका राजा इन्द्र सिंह देव ले नेपालमै पहिलोपटक चाँदीको सिक्का प्रचलनमा ल्याएका थिए। यो काठमाडौँमा महेन्द्र मल्ल द्वारा सिक्का जारी गर्नु भन्दा धेरै वर्ष पहिलेको हो।

व्यापारिक हिसाबले पनि दोलखा नेपालका महत्वपूर्ण मार्गहरूमा पर्ने शहर थियो। यहाँबाट भोट हुँदै भारत र बेलायतसम्म व्यापार हुने गर्दथ्यो, जुन मार्गलाई चीन र बेलायतको सिल्क रोडसँग समेत तुलना गरिन्छ।

पृथ्वीनारायण शाहले विक्रम सम्वत १८११ मा दोलखाको अन्तिम राजा जय नारायण देव सँग सन्धि गरेर दोलखा अधिपत्य आफ्नो नियन्त्रणमा लिएका थिए। रोचक कुरा के छ भने, नेवार जातिको प्राचीन थलो भएको दोलखामा मल्लकालीन शासकहरू कहिल्यै स्थापित थिएनन्। लिच्छवीकालीन शासकहरूको अधिपत्य कायम रहँदै पृथ्वीनारायण शाहले दोलखा नियन्त्रणमा लिए।

दोलखा सहर मन्दिर, चैत्य, बहाल, विहार र मठहरूले भरिपूर्ण छ। हिन्दू र बौद्ध दुवै मार्गका मानिसहरूले धार्मिक र सांस्कृतिक अभ्यास गर्ने परम्परा कायम छ। यी मन्दिर र सांस्कृतिक स्थलहरूले दोलखालाई ‘संग्रहालय सहर’ को रूपमा चित्रित गर्ने क्षमता राख्दछ।

तर, यति महत्त्वपूर्ण सांस्कृतिक र ऐतिहासिक सम्पदा हुँदाहुँदै पनि राज्यस्तरबाट पर्याप्त संरक्षण र प्रवर्द्धन भएको छैन। स्थानीय तहबाट केही पहल भए पनि, सरकारको तर्फबाट यस सहरको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई प्राथमिकता दिइएको देखिँदैन।

दोलखामा मच्छिन्द्रनाथ जात्रा मात्र नभई प्राचीन ऐतिहासिक र सांस्कृतिक महत्व पनि छ। यसलाई संरक्षित गर्दै राज्यले ऐतिहासिक संग्रहालय सहरको रूपमा विकास गर्न आवश्यक छ। स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिले दोलखालाई संरक्षण गर्नुले नेपालको सांस्कृतिक धरोहरको संरक्षणमा ठूलो योगदान दिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार