बैशाख महिनाको त्यो समय, जब दोलखाको आकाश न्यानो घाम र हल्का हावासँगै उत्सवमय बन्छ, यसपालि मेरो लागि अझ विशेष बनेको थियो। धेरै वर्षपछि २०८२ सालमा म आफ्नै घर—दोलखा शहरको ड्वाकुलुङा टोल—मा फर्किएको थिएँ। संयोग यस्तो पर्यो कि मच्छिन्द्रनाथलाई टोलभित्र भित्र्याउने दिन नै मेरो जन्मदिनसँग जुध्ने भयो। साथै ‘मिसामी’ नाटकको वृत्तचित्रको छायाङ्कनको काम पनि थियो। घर फर्कनुको उत्साह, सांस्कृतिक हलचल, र व्यक्तिगत स्मृतिहरू—सबै एकैपटक मिसिएका थिए।
तर, सानो ट्विस्ट रहेछ—मेरो जन्मदिन त भोलिपल्ट पो रहेछ।
बिहानै संस्कृतकर्मी तुलसी नारायण जोशी घर आइपुगे। उनले हतारिँदै भने—“आज मच्छिन्द्रनाथलाई भव्य रूपमा भित्र्याउनुपर्छ, टोल सजाउनुपर्छ।” मैले सहजै प्रतिक्रिया दिएँ—“मन्दिर त हाम्रो टोलमै छ, तर गुठियार र पुजारी त अरू टोलका हुन्, हामीले किन तयारी गर्नु पर्ने?” अहिले सम्झँदा, त्यो मेरो अज्ञानताको सीधा स्वीकार थियो। यत्रो वर्षसम्म आफ्नै टोलमा रहेको मच्छिन्द्रनाथसँग हाम्रो सम्बन्ध के हो भन्ने मैले कहिल्यै गहिरिएर सोचेको रहेनछु।
तुलसीले त्यसपछि एउटा रोचक कथा सुनाउन थाले—ड्वाकुलुङा टोल र मच्छिन्द्रनाथबीचको सम्बन्धको कथाभन्छन्, एक रात मच्छिन्द्रनाथले गुठियार र पुजारी दुवैलाई एउटै सपना देखाएछन्। सपनामा उनले गुनासो गरेछन्—“म यहाँ थुनिएर बस्न सक्दिनँ, मलाई संसार घुम्न मन छ।” अनि उनले आफैँ रथको बनावट बताएर सहर परिक्रमा गराउने आदेश दिएछन्। भोलिपल्ट जब गुठियार र पुजारीले एकअर्कालाई सपना सुनाए, उनीहरू छक्क परे। अन्ततः सल्लाह गरेर दोलखाको लापीलाङ गाउँबाट थामीहरू बोलाइयो र रथ निर्माण गरियो। थामीहरूलाई पनि केका लागि रथ बनाइँदैछ भन्ने थाहा थिएन—यो सबै रहस्य र आस्थाले भरिएको काम थियो।
उता, ड्वाकुलुङा टोलबासीहरू मच्छिन्द्रनाथलाई आफ्नै देवता मान्थे। त्यसैले मन्दिरमा सधैं एकजना बस्ने व्यवस्था थियो। तर एक रात, पालो बसेको मानिस निदाएछ, र बिउँझिँदा देवता हराइसकेका थिए। खोजी गर्दै जाँदा पिंगल टोलमा रथमा राखिएको अवस्थामा भेटिए। त्यसपछि झगडा भयो—“हाम्रो देवता किन चोरेर लग्यौ?” तर गुठियारले आश्वासन दिए—“सहर घुमाएर सुरक्षित फर्काउँछौं।” अन्ततः सहमति भयो, र त्यहीँबाट सुरु भयो रथयात्रा।
रथयात्रा क्रमशः पिंगलबाट नक्छे, कोर्छें, टसिचा, दुंगल हुँदै घुमाइन्छ, र अन्त्यमा फेरि ड्वाकुलुङा फर्काइन्छ। सुरुमा माथिल्लो टोल (थाबिन) नलगिने चलन रहेछ, तर पछि त्यहाँका बासिन्दाले विशेष सजावट र पूजा गर्ने जिम्मा लिएपछि त्यो पनि समावेश गरियो। त्यसैले त्यो दिन रथलाई विशेष रूपमा सिंगारिन्छ, उकालो चढाइन्छ, र रातभर भजन–कीर्तन गरिन्छ।
यो सबै सुन्दै जाँदा मलाई सबैभन्दा चाखलाग्दो कुरा के लाग्यो भने—ड्वाकुलुङा टोलका मानिसहरूले मच्छिन्द्रनाथलाई “चेली” को रूपमा हेर्छन्। जब देवतालाई जात्राका लागि लगिन्छ, उनीहरू सँगै जाँदैनन्—ठीक त्यसैगरी जसरी छोरीलाई बिहे गरेर पठाउँदा बाबुआमाले पछ्याउँदैनन्। तर फर्कने बेला भने, टोलका महिलाहरू बाटोभरि लाम लागेर पूजा गर्दै भव्य स्वागत गर्छन्। त्यो दृश्य केवल धार्मिक मात्र होइन, गहिरो सांस्कृतिक भावनाले भरिएको हुन्छ।
तर यहाँबाट मेरो मनमा एउटा प्रश्न उठ्यो—मच्छिन्द्रनाथ त गोरखनाथका गुरु मानिन्छन्, अर्थात् पुरुष। अनि कसरी उनी “चेली” भए?
मैले यसबारे थप बुझ्ने प्रयास गरेँ। विभिन्न संस्कृतिविद्हरूका अनुसार, मच्छिन्द्रनाथलाई केवल पुरुष देवता मात्र होइन, नारी स्वरूपमा पनि मानिन्छ। उनको पूजा–पाठमा दुवै लिङ्गसँग सम्बन्धित संस्कारहरू गरिन्छ—जस्तै इही, गुफा राख्ने, उपनयन आदि। यसले के देखाउँछ भने, मच्छिन्द्रनाथ कुनै एक सीमित पहिचानमा बाँधिने देवता होइनन्; उनी बहुरूपी छन्।
अर्कोतर्फ, किम्बदन्ती अनुसार, जब उपत्यकामा खडेरी पर्यो, तब रातो मच्छिन्द्रनाथलाई ल्याएपछि वर्षा भयो। किसानहरूलाई मनोरञ्जन दिन उनी कहिले ज्यापू त कहिले ज्यापुनीको भेषमा खेतमा नाच्न आउँथे भनिन्छ। यसले झनै प्रष्ट पार्छ—उनको स्वरूप स्थिर छैन, समय र सन्दर्भअनुसार बदलिन्छ।
यी सबै कुरा बुझ्दै जाँदा, मेरो सुरुवाती अन्योल विस्तारै मेटिँदै गयो। ड्वाकुलुङा टोलले मच्छिन्द्रनाथलाई “चेली” मानेको कुरा अब केवल परम्परा मात्र लागेन; त्यो उनीहरूको भावनात्मक सम्बन्धको अभिव्यक्ति जस्तो लाग्यो।
अन्ततः, मैले के महसुस गरेँ भने—मच्छिन्द्रनाथ कुनै एक रूप, लिङ्ग वा परिभाषामा सीमित देवता होइनन्। उनी विश्वासअनुसार बदलिने, समुदायअनुसार अर्थ पाइरहने, र समयसँगै नयाँ व्याख्या पाउने एक जीवित परम्परा हुन्। सायद यही कारणले, उनी कहिले गुरु हुन्, कहिले देवता, र कहिले आफ्नै टोलकी चेली।
र त्यो दिन, जब मच्छिन्द्रनाथलाई भव्य रूपमा ड्वाकुलुङा टोलमा भित्र्याइयो, त्यो केवल एउटा धार्मिक अनुष्ठान थिएन—त्यो मेरो आफ्नै संस्कृतिसँग पुनः भेट भएको क्षण थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij