नेपाल सम्वत् ११४६, चौलागाः १ पूर्णीमा (१९ चैत्र, २०८२, ३ अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । नेवाः पत्रकार राष्ट्रिय दबू ले हनुमानढोका दरबार क्षेत्र अन्तर्गत आयोजना गरेको ‘सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका’ विषयक विचार गोष्ठीमा वक्ताहरूले संस्कृति तथा सम्पदा जोगाउन तथ्यमा आधारित पत्रकारिता अपरिहार्य रहेको बताएका छन्।
कार्यक्रममा सहभागीहरूले पत्रकारहरूले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती र लापरवाहीमाथि निरन्तर निगरानी राख्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन ‘वाचडग’ भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनीहरूका अनुसार सचेतना फैलाउने, नीति सुधारका लागि बहस सिर्जना गर्ने र सरोकारवालाको आवाज नीति निर्माण तहसम्म पुर्याउने काम पत्रकारिताको महत्वपूर्ण दायित्व हो।
काठमाडौँ महानगरपालिका का प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धर ले सम्पदा संरक्षणका लागि स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले काठमाडौँ उपत्यकाको मौलिक पहिचान जोगाउन सञ्चार क्षेत्र अझ जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
गुठी संस्थानका पूर्व प्रशासक किरण शाक्यले गुठी प्रणालीलाई सम्पदा संरक्षणको मेरुदण्डका रूपमा व्याख्या गर्दै यससम्बन्धी विषयमा गहिरो अध्ययनसहित तथ्यपरक सामग्री प्रस्तुत गर्न पत्रकारलाई आग्रह गरे।
संस्कृतिकर्मी जितेन्द्रविलास बज्राचार्यले मातृभाषामार्फत पत्रकारिता र डिजिटल माध्यमको प्रयोगले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले सम्पदाको मौलिकता जोगाउन सञ्चारमाध्यमले सन्दर्भसहित सही व्याख्या दिनुपर्नेमा जोड दिए।
त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामी ले लोपोन्मुख संस्कृति जोगाउन र नीतिगत सुधारका लागि पत्रकारिताले सशक्त भूमिका खेल्नुपर्ने धारणा राखे।
कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ ले पत्रकारहरूको भूमिका समाचार सम्प्रेषणमा मात्र सीमित नभई भाषा, पहिचान र मौलिक ज्ञानको संरक्षणसँग जोडिएको बताए। निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्य तथा वरिष्ठ पत्रकार विराजकाजी राजोपाध्याय ले पनि संस्कृति तथा सम्पदासम्बन्धी रिपोर्टिङ गर्दा अध्ययन, सन्तुलन र गहिराइ आवश्यक हुने बताएका थिए।
कार्यक्रममा अन्य पदाधिकारीहरूले नागरिक पत्रकारिता प्रवर्द्धन, तालिम, स्रोत–साधनको उपलब्धता तथा समुदायसँग सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij