नेपाल सम्वत् ११४६, चिल्लागाः १४ चतुर्दशी (४ चैत्र, २०८२, १८ मार्च, २०२६) बुधबार, बाँपिझ्याला । बुधबार काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइने घोडेजात्रा विशेष उत्साहका साथ सम्पन्न भएको छ। पर्वको अवसरमा उपत्यकाभर सार्वजनिक बिदा दिइएको थियो।
यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना द्वारा आयोजित विशेष समारोहको रामचन्द्र पौडेल ले अवलोकन गरेका थिए। उनलाई नेपाली सेनाको टुकडीले औपचारिक सलामी अर्पण गरेको थियो।
समारोहमा रामसहायप्रसाद यादव, सुशीला कार्की, नारायणप्रसाद दाहाल, मन्त्रिगण, कूटनीतिक नियोगका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अश्वकलाका विविध आकर्षक प्रदर्शनहरू प्रस्तुत गरिएका थिए। घोडा दौड, जम्प, चार्जर दौड, ऐतिहासिक प्रयोग, घोडचढीबाट हमला तथा फायर जम्पजस्ता रोचक गतिविधिले दर्शकको ध्यान खिचेका थिए।
साथै, घोडाको प्रयोग सामान ओसारपसारदेखि युद्ध, शिकार, कृषि, खेल र उत्सवसम्म कसरी गरिन्छ भन्ने झलक पनि देखाइएको थियो। कुकुरबाट समेत विभिन्न कला प्रदर्शन गराइएको थियो।
उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरेका थिए।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यो पर्वसँग गुरुमापा नामक राक्षसको किंवदन्ती जोडिएको छ। जनविश्वासअनुसार उक्त राक्षसलाई परास्त गरेपछि पनि उसको आत्माबाट बालबालिकालाई खतरा हुन सक्ने डरले घोडाको टापले कुल्चाएर दबाउने प्रतीकस्वरूप घोडेजात्रा मनाउने गरिएको हो। सोही कारण राति गुरुमापालाई शान्त पार्न रूखको फेदमा खानेकुरा चढाउने परम्परा पनि छ।
यसै दिन ललितपुरमा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन पनि रहेको छ।
यता, टुँडिखेलभित्र विशेष अतिथि र औपचारिक कार्यक्रम भइरहँदा सर्वसाधारण भने बाहिरबाटै हेर्न बाध्य देखिए। धेरैजसो दर्शक फलामे बारबाट चिहाएर कार्यक्रम हेर्दै थिए भने केहीले आकाशे पुल वा रुखमा चढेर जोखिमपूर्ण तरिकाले अवलोकन गरेका थिए।
यसले वर्षौंदेखि उठ्दै आएको ‘सर्वसाधारणका लागि पहुँच’ सम्बन्धी प्रश्न यसपटक पनि यथावत् रहेको संकेत गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij