नेपाल सम्वत् ११४६, चिल्लागाः १० दशमी (२९ फागुण, २०८२, १३ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको प्रतिष्ठित ‘सुदर्शन–कपिला सिरपा’ सम्मानबाट सम्मानित भएका छन्। नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झी पुचः’ विराटनगर ले आज शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारोहमा उनलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो।
समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठ को नाममा स्थापना गरिएको सुदर्शन–कपिला ट्रष्ट मार्फत प्रदान गरिने यो सम्मान नेपाल भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ। सम्मान हरेक दुई वर्षमा एकपटक प्रदान गरिने व्यवस्था रहेको छ भनी झिपुचःका सचिव सञ्जु शाक्यले बताउनु भयो ।
समारोहमा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले संस्कृतीप्रेमी संरक्षक लाछीलाई दोसल्ला ओढाएर नगद दुई लाख रुपैयाँ र सम्मानपत्र प्रदान गर्दै लाछिको योगदानको उच्च प्रशंसा गर्नु भयो । कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएकाले यहाँका मौलिक नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्ने बताए।
कार्यक्रमका आयोजक झी पुचःका अध्यक्ष शरद श्रेष्ठ ले गणेशराम लाछिले नेपाल भाषा, नेवारी कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिँदै आएकाले उनलाई सम्मान गरिएको हो भनी बताए । उनले झी पुचःले नेवारी संस्कृति र परम्पराको संरक्षणका लागि विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको समेत बताए।
यसअघि उक्त सम्मान वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी सिक्किम तथा पोखरास्थित नेवा खल कास्की लाई प्रदान गरिएको थियो।
समारोहमा दबुली नेपालका अध्यक्ष सन्तोष प्रजापति, संस्कृतिविद सूर्यनारायण प्रधान, झी पुचःका संरक्षक राजन श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठ र भविसकुमार श्रेष्ठ लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। वक्ताहरूले नेपालको मौलिक नेपाल भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि संघीय, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वयात्मक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमकै अवसरमा लेखक दिनेश श्रेष्ठ को सम्पादनमा तयार गरिएको स्मारिकाको विमोचनसमेत गरिएको थियो। उक्त स्मारिकामा नेपाल भाषा, नेवारी संस्कृति, कला तथा परम्परासम्बन्धी विभिन्न अनुसन्धानात्मक र सिर्जनात्मक सामग्री समेटिएको आयोजकले जनाएको छ।
समारोहलाई सांस्कृतिक रूपमा समृद्ध बनाउन कलाकारहरूले विभिन्न प्रस्तुति दिएका थिए। विशेषगरी अन्नपूर्ण चरिया नृत्य समूहकी कलाकार सृविका गुभाजु ले प्रस्तुत गरेको चरिया नृत्यले उपस्थित दर्शकलाई आकर्षित गरेको थियो।
नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झी पुचः’ विराटनगर ले विगतदेखि नै नेवारी भाषा, कला, संस्कृति तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि सांस्कृतिक सम्मान, साहित्यिक गोष्ठी, सांस्कृतिक प्रस्तुति तथा स्मारिका प्रकाशनजस्ता गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij