Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

चुनावी सरगर्मी बढ्दै: तामाकोशीमा नेकपाको बृहत् सभा र सामूहिक प्रवेश

चुनावी सरगर्मी बढ्दै: तामाकोशीमा नेकपाको बृहत् सभा र सामूहिक प्रवेश

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ७, सप्तमी (१२ फागुण, २०८२, २४ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला, दोलखा  । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तामाकोशी क्षेत्रमा बृहत् चुनावी सभा सम्पन्न गरेको छ। सभामा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन्।

कार्यक्रममा पार्टीका जिल्ला तथा केन्द्रीय तहका नेताहरूले निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए। वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, विकासका मुद्दा, स्थानीय आवश्यकताहरू तथा जनताको अपेक्षाबारे धारणा राख्दै नेकपालाई बलियो राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत गरेका थिए।

Tamakoshi.jpg

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार बिशाल खड्का तथा समानुपातिक उम्मेदवार महेन्द्र कार्कीले दोलखाको विकास, सुशासन र जनजीविकाका सवालमा पार्टीले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो।

दर्जनौँ नेता–कार्यकर्ता पार्टी प्रवेश

सभाकै क्रममा विभिन्न दलसँग आबद्ध रहेका स्थानीय नेता तथा कार्यकर्ताहरूले नेकपाको नीति, कार्यक्रम र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले अबिर, खादा तथा सदस्यता प्रदान गरी स्वागत गरेका थिए।

पार्टी प्रवेश गर्नेहरूले विकास, स्थिरता र जनहितका मुद्दामा नेकपा प्रतिबद्ध रहेको भन्दै आगामी निर्वाचनमा सक्रिय रूपमा प्रचार–प्रसारमा जुट्ने बताएका छन्।

निर्वाचन केन्द्रित रणनीति

कार्यक्रममा नेताहरूले आगामी निर्वाचनलाई परिवर्तन र स्थायित्वको अवसरका रूपमा लिनुपर्ने बताएका छन्। तामाकोशी क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा रोजगारीका मुद्दालाई प्राथमिकतामा राख्दै निर्वाचन अभियान अगाडि बढाइने जनाइएको छ।

सभामा स्थानीय बासिन्दा, समर्थक तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

पार्टीले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा चुनावी सभा, घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटलाई तीव्रता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार