Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बालेन्द्र शाहको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको कडा आपत्ति

बालेन्द्र शाहको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको कडा आपत्ति

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ६, षष्ठी (११ फागुण, २०८२, २३ फ्रेब्रुअरी, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार क्षेत्रमा क्रियाशील व्यवसायीहरूको मानमर्दन हुने गरी दिएको अभिव्यक्तिप्रति बालेन्द्र शाह विरुद्ध कडा आपत्ति जनाएको छ।

सोमवार महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंह ले शाहको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत, असभ्य तथा उत्तेजक रहेको आरोप लगाउनुभयो। उहाँले प्राविधिक पृष्ठभूमिका नेताले निर्माण क्षेत्रमा देखिएका ढिलाइबारे वास्तविक कारण पहिचान गरी समाधानको बाटो देखाउनुपर्नेमा अमर्यादित शैली अपनाउनु अराजकता भएको टिप्पणी गर्नुभयो।

महासंघले शाहसँग सार्वजनिक आत्मालोचनाको माग गर्दै उक्त विषयमा निर्वाचन आयोग नेपाल को समेत ध्यानाकर्षण गराएको जनाएको छ।

शाहले धनगढीमा आयोजित चुनावी सभामा “दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन... रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्छ” भन्ने अभिव्यक्ति दिनुभएको थियो।

पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले दशकौँ पुराना अव्यवहारिक ऐन–नियमका कारण पूर्वाधार क्षेत्र अस्तव्यस्त भएको दाबी गर्नुभयो। उहाँले मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङ मार्गकाठमाडौं–तराई द्रुतमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू समेत समयमै सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो।

महासंघले पूर्वाधार क्षेत्रलाई ‘संकटकाल’ घोषणा गरी एकीकृत छाता ऐन ल्याउन माग गरेको छ। साथै निर्माण उद्योगमा प्रतिकूल प्रभाव पर्दा अर्थतन्त्र र राजश्व संकलनमा समेत नकारात्मक असर पर्ने बताइएको छ।

पत्रकार सम्मेलनमार्फत महासंघले विना अध्ययन आयोजना सुरु नगर्ने, सार्वजनिक खरिद ऐन २०६३ का केही प्रावधान संशोधन गर्ने, ठेक्का फरफारक तथा भुक्तानी प्रक्रिया सुधार गर्ने, निर्माण सामाग्रीको सहज उपलब्धता सुनिश्चित गर्ने लगायत नौ बुँदे माग अघि सारेको छ।

महासंघले निर्वाचनपछिको संसद र मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार विकासका लागि आवश्यक छाता ऐन ल्याउने प्रस्ताव गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार