Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बङ्गलादेशमा युनुस युगको अन्त्य संगै रहमानको शपथ आज

बङ्गलादेशमा युनुस युगको अन्त्य संगै रहमानको शपथ आज

नेपाल सम्वत् ११४६, सिल्लागाः १४, पूर्णिमा (५ फागुण, २०८२, १७ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला । बङ्गलादेशका लागि यो एक महत्वपूर्ण लोकतान्त्रिक संक्रमणको क्षण हो। मोहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकारको कार्यकाल समाप्त भएको घोषणा गरेका छन् र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि पदबाट राजीनामा दिएका छन्।

८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले आफ्नो सम्बोधनमा अब आउने सरकारले लोकतन्त्र, संवैधानिक शासन र मौलिक अधिकारहरूको रक्षा गर्ने विश्वास व्यक्त गरे।

सन् २०२४ मा शेख हसिनाको सरकार अपदस्थ भएपछि युनुसले संक्रमणकालीन नेतृत्व सम्हालेका थिए। उनको राजीनामासँगै बङ्गलादेशमा निर्वाचित सरकारद्वारा नियमित शासन प्रक्रियामा फर्किने बाटो खुलेको छ।

यो घटनालाई दक्षिण एसियाली राजनीतिमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको सकारात्मक संकेतका रूपमा पनि हेरिएको छ।

सन् २०२४ अगस्टमा शेख हसिनाको सरकार अपदस्थ भएपछि मोहम्मद युनुस ले अन्तरिम नेतृत्व सम्हालेका थिए। बिदाइ सम्बोधनमा उनले भने, “आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ। हाम्रो देशका युवाहरूले देशलाई दुष्ट शासकको पकडबाट मुक्त गरे र यो ठूलो मुक्तिको दिन थियो।”

गत साता सम्पन्न निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले उल्लेखनीय विजय हासिल गरेको छ। युनुसले बिएनपी नेता तारिक रहमान लाई बधाई दिँदै अबको सरकारको नेतृत्व उनकै काँधमा पुगेको बताए। निर्वाचन आयोगका अनुसार ३०० सदस्यीय संसद्मा बिएनपी गठबन्धनले २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट हात पारेको छ।

मतदानकै दिन बङ्गलादेशी मतदाताहरूले युनुसको सङ्क्रमणकालीन एजेन्डा ‘जुलाई चार्टर’ का पक्षमा जनमतसङ्ग्रहमार्फत मतदान गरेका थिए। यस चार्टरमा प्रधानमन्त्रीको कार्यकाल सीमा निर्धारण, संसद्को माथिल्लो सदन गठन, राष्ट्रपतिको शक्ति वृद्धि तथा न्यायिक स्वतन्त्रता सुदृढीकरणजस्ता व्यापक सुधार प्रस्ताव समावेश छन्। युनुसले आफ्नो कार्यकालमा कमजोर बनेका संस्थाहरूको पुनर्निर्माण गर्दै सुधारको आधार तयार गरेको दाबी गरेका छन्।

नवनिर्वाचित सांसदहरूले मङ्गलबार शपथ लिने कार्यक्रम छ, त्यसपछि ६० वर्षीय तारिक रहमान बङ्गलादेशका नयाँ प्रधानमन्त्री बन्नेछन्। १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा अब शक्तिशाली राजनीतिक वंशको नयाँ चरण सुरु हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार