नेपाल सम्वत् ११४६, सिल्लाथ्व १५, प्रतिपदा (१९ माघ, २०८२, २ फ्रेवअरी, २०२६) सोमबार, बाँपिझ्याला । दुई सातादेखि बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन। विशेषगरी काठमाडौँ उपत्यकामा धेरै माग रहेको नेपाल ग्यासको चरम अभाव हुँदा उपभोक्ताहरू नराम्ररी मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी नहुँदा यो समस्या निम्तिएको हो।
स्थानीय विक्री केन्द्रहरूमा ग्यास नपाएपछि दैनिक सयौँ उपभोक्ता रित्तो सिलिण्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन्। तर, कम्पनीको कार्यालय पुग्दा समेत ग्यास नपाएको नयाँ बसपार्कका नमराज घिमिरेले गुनासो गरे। उनले १५ दिनदेखि डिपोमा पालो पर्खंदा पनि ग्यास नपाएपछि बाध्य भएर कम्पनीमै धाउनुपरेको तर त्यहाँ पनि बिचल्ली भएको बताए।
घरमा एउटा मात्र सिलिण्डर हुने उपभोक्ताको अवस्था झन् बिजोग छ। चाबहिलमा बस्ने प्रेम साहले ग्यास नपाएपछि विगत तीन दिनदेखि दाउराको आगोमा खाना पकाएर जीविकोपार्जन गरिरहेको बताए। उनले बिहानैदेखि कम्पनीको कार्यालयमा लाइन बसे पनि ग्यास पाउने छाँटकाँट नदेखेको दुखेसो पोखे।
यस्तै, नेपालटार बस्ने विद्यार्थी अर्जुन सिम्खडाले पनि डिपोले बालाजु पठाएको तर यहाँका गार्डहरूले ग्यास आउँदैन भनिरहेकाले आफू अन्योलमा परेको बताए। उपभोक्ताहरूले ग्यास नपाउँदा दैनिक जीवन नै कष्टकर बनेको र बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशङ्का समेत गरेका छन्।
नेपाल ग्यास कम्पनीका कार्यकारी सञ्चालक एवं नेपाल एलपीजी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीले भने ढुवानीमा समस्या भएकाले यो स्थिति आएको स्वीकार गरे। उनले नेपाल ग्यासको दैनिक माग ८ देखि १० बुलेट रहने गरेको तर आफ्नै ढुवानी बुलेट नहुँदा भारतीय ढुवानीकर्तामा भर पर्नुपरेको बताए।
भण्डारीले ग्यासको नियमित आपूर्ति सुरु भइसकेको दाबी गर्दै बजारको चक्र केही दिनमा पुरानै अवस्थामा फर्कने विश्वास दिलाए। उनले पाइपलाइनको काम छिटो सकिए यस्ता समस्या बारम्बार नआउने उल्लेख गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरे। उनले कतिपयले आवश्यकताभन्दा बढी ग्यास भरेर राखेका कारण पनि बजारमा अभाव देखिएको दाबी गरे।
यता नेपाल आयल निगमले भने ग्यासको अभावबारे आफू जानकार रहेको र उद्योगीहरूलाई अभाव तत्काल हटाउन कडा निर्देशन दिएको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले भारतीय ढुवानीकर्तामा निर्भर रहनुपर्ने बाध्यताले समस्या निम्तिएको बताए।
उनले अहिले इन्डियन आयल कर्पोरेसनसँग पनि कुराकानी भइरहेको र चुनाव नजिकिएकाले आपूर्ति व्यवस्था सहज बनाउन निगमले विशेष चासो दिइरहेको जानकारी दिए। निगमले यो सङ्कटको मौका छोपेर कसैले कालोबजारी गरेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij