प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदै छ ।
आज हिन्दु जगतमा यिनै सरस्वती मातालाई विभिन्न दृष्टिकोणले पूजा अर्चना गरिने दिन हो । माथिका संस्कृत श्लाोकले सरस्वतीलाई बाह्र रुपबाट सजिएको बाह्र देवीको हरेक महिमा यिनै एक्लै सरस्वतीले ग्रहण गरेर पृथ्वीका हरेक प्राणीको जिब्रोमा उत्तम ज्ञानका ध्वनीहरू गुन्जिउन्, हरेकको मस्तिष्कमा असल शिक्षाको बाँस होस्, प्रत्येक प्राणीमा करुणाले भरिएको विद्या भरियोस् भन्ने वाणी उदृत भएको पाईन्छ ।
सरस्वतीको वर्णनमा अर्को एक श्लोक यस्तो पनि रचिएको छ,
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्तरावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रम्हाच्युत शंकरप्रभृतिर्देवैः सदा वण्दिता ।
सा माम् पातु सरस्वती निःशेषजाड्यापाहा ।।
अर्थात् विद्याकी देवी सरस्वतीको रूप कमल र कुन्दनको फूल जस्तै निख्खुर सेतो वर्ण चन्द्रमा जस्तै शीतल, मोतीको माला जस्तै चमकदार भएर सेतै रजहाँसमा चढेर संसारमा विद्या दान गर्दै ब्रम्हा विष्णु र महेश्वरलाई समेत ज्ञान दिएर हिँड्ने महामायाकी देवी हुन् भनेर वर्णन गरिएको छ । यिनै देवीलाई हामीले पनि श्रद्धा पूर्वक दर्शन ढोग चढाउँछौं ।
आजको दिनमा हरेक बालबालिकालाई अक्षराम्भ गराउँदै विद्यालयमा पठनपाठनमा शुरुआत गराईन्छ भने, अन्य विद्यार्थी, शिक्षक र गुरु वर्गले पनि सरस्वतीलाई पुज्ने परम्परा छ । आजकै दिनलाई बसन्त पंचमीको रूपमा पनि मनाइन्छ । वसन्त ऋतुको आगमन भएको संकेत जनाउँदै वसन्ती रागले भरिएको धुन बजाउने चलन पनि छ ।
यहीबेलादेखि नै वन उपवनमा हरियाली छाएर कतै गुराँस, कतै रंगीचंगी चिमाल फुलेर प्रकृतिको सिङ्गो रूप नै शोभायमान हुन थाल्छ । सुनगाभा, सुनाखरी फूलहरू पनि मगमग बास्ना प्रवाहित गरेर फुल्न थाल्छ भने कालिज, मुनाल, तित्रा र कोइली चरीले पनि बसन्ती रागमा आफूलाई समाहित गर्न थाल्छन् ।
आजको दिनमा हरेक सरस्वतीको मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्छ । जस्तो कि काठमाडौं नजिकैको टोखाको सरस्वती मन्दिर, लाजिम्पाटमा नील सरस्वती मन्दिर, हाँडीगाउँको सरस्वती मन्दिर र स्वयम्भूमापनि देवीको उपासना र व्रत बसेर ज्ञान, विद्या, शिक्षा र असल वाणीको उन्नतिशील पथ उत्तम रहोस् भनेर पुज्ने गरिन्छ ।
त्यसैगरी आज सरस्वती मातालाई संगीत साधिकाको रूपमा पुजेर संगीत, गायन र वाद्ययन्त्र बजाउन निपुण हुनसकौं भन्ने हिसाबले संगीतकर्मीहरूले विशेष खालका पूजापाठ पनि गर्ने गर्छन् । यसैगरी आजको दिनमा हरेक दिन जे जति सामान चलाइने गरिन्छ ती सामग्रीको पनि पुजा गर्ने गरिन्छ । जस्तो कि औजार, पुस्तक, वाद्ययन्त्र, कलम कुचो आदि । किनकि यी सामानहरू पनि सरस्वतीकै विद्या र शिक्षामा आधारित हुने गरेकोे हुन्छन् । सरस्वती मातालाई दृष्टि, कदम र लगनशीलताको पथ प्रदर्शकको रूपमा हेरिन्छ ।
दोलखामा सरस्वती पूजा:
श्री पंचमीलाई बसन्त पंचमीको दिनको स्वरूपमा मनाइने प्रक्रियामा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ मा पर्ने ऐतिहासिक, पौराणिक एवं धार्मिक शहर दोलखामा विशेष रूपमा मनाउँदै आएको छ ।
यो दिनको पूर्वउज्यालोमा नै तल्लो बजारमा रहेको बज्रवती धारामा स्नान गरेर राइती धारामा चोखो पानी लिएर गणेश टोलमा रहेको गणेश मन्दिरमा स्थानीयवासी सर्जक, संगीतप्रेमी, गायक, भजन प्रेमी भक्तजनहरु जम्मा भएर श्री स्वस्थानी व्रत कथालाई आत्मसात गर्दै माधव नारायणको नाम जप्दै माधव भजन गाउँदै तल्लो बजारको मूल सडकमा पर्ने नारायणको मन्दिर परिक्रमा गर्दै धाराटोल (वती) हुँदै श्यामसुन्दर टोल, कोर्छेँ टोल, गुर्कोट टोल, डोकलुङा टोल भएर माथिल्लो बजारको सिम्भुथान, महादेव मन्दिर घुमेर लिस्टोल, भीमसेन डबली हुँदै भीमेश्वर मन्दिरमा गएर माधव भजनको विसर्जन गरिन्छ ।
आजको दिनको भजनमा अघिपछिको भजन भन्दा अलि पृथक देखिन्छ । किनकि आज देखि बसन्तऋतुको आगमन भएको संकेत स्वरूपमा वसन्त रागमा भजन गाउँदै आएका हुन्छन् । यसबेलाको भजन अति मिठासपूर्ण हुन्छ । लाग्छ बसन्तका हरिया पात र कोपिला नै हरेकको आवाजमा घुलमिल गरिरहेको छ जस्तो ।
हर शिव शंकर सुन्दर श्याम,
शिव शिव माधव शालिग्राम,
भन्दै वसन्त बहारलाई उदृत गर्दै कोइलीको स्वरको वर्णन गरिएको हुन्छ । यहाँनेर एउटा कुरा भन्नैपर्ने हुन्छ, त्यो के भने दोलखाको आफ्नै इतिहास छ । आफ्नै मौलिकता छ, नेवारी मातृभाषामा पनि गर्व गर्न लायकको कुरा यथेष्ट छ । तर भजनहरूमा भने भाषामा मातृत्व झल्केको देखिन्न, केही गरि यही प्रसङ्ग उठाइयो भने स्थानीय पुराना व्यक्तिहरू जे छ त्यसैलाई मौलिकता भन्ने गर्दछन्, यसमा चाहिँ नयाँ पुस्ताले केही ध्यान दिनुपर्नेछ भन्ने कुरा अगाडि आउँछ ।
किनकि ९८% प्रतिशत मौलिकता बताउन अनेक प्रमाण हुँदाहुँदै दुई प्रतिशत भजनको भाषा नहुनुले पनि मौलिकता माथि प्रश्न उठ्न सक्छ । किनकि यहाँको भजनमा नेपाल भरिकै देवदेवीको वर्णन गरिएको पाइन्छ । तर भाषामा संस्कृत, हिन्दी, उपत्यकाको नेपालभाषा अत्यधिक प्रचलनमा छ । स्थानीय दोलखाली नेपाल भाषाको भजन निकै वर्षपछि तिन चारवटा बनेको पाईन्छ ।
भाषाविद्हरूको भण्डारमा आफ्नै मौलिक मातृभाषाबाट न त गणेश मन्त्र छ । न मंगलगोला, न नमस्कारी । गीत गोविन्द पनि संस्कृत भाषामा । यसलाई नेवार भाषा बोलिने आँगनमा मौलिकताको परिभाषा दिनु अलि सुहाउँदो लाग्दैन कि ? यति मात्र होइन दशैंमा गाइने मालश्री, फागुमा गाइने होली र घाटुमा समेत आफ्नोे मातृभाषाको सृजना नहुन दुःखद कुरा हो । अब सरस्वती माताले ती अज्ञानतालाई हटाएर आफ्नै दोलखाली नेपाल भाषाबाट सबै भजन गीत बनाउनेतर्फ उचित ज्ञान र विद्या दिउन् यही प्रार्थना छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij