केके मानन्धर
कालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन साय्मि । जीवन मानन्धरलाई जीवन दाइचाको नामले काठमाडौंका अधिकांशले चिन्थे । अहिले पनि जीवन दाइचाको मिठाइ पसल (स्वीट् केव) चलेका पसलहरू मध्येका हुन् । सोही पसलमा बसेर थुप्रै राजनीतिक योजना बुझे, सामाजिक सेवाको लागि कार्यक्रमहरू तयार भए । जीवन दाइचाको उदारपन, राजनीतिक नेताहरूलाई संरक्षण दिने, साथ, सहयोग र परेको खण्डमा जे पनि गरिदिने बानीले अरूलाई झस्काउँथ्यो । कत्तिले नेताहरूको लागि यत्तिसम्म नगर्नु भनि बारम्बार सम्झाए पनि । तर एउटा कुरोमा लागे पछि रफ्तारमा लाग्ने बानी भएका जीवन दाइचा कसैको नसुनिकन लागिरहे । ०४६ सालको संगीन समयमा पनि खतरा मोलेर कालिमाटीस्थित व्यस्त बजारको घरमा अहिलेका शीर्ष नेताहरूलाई सेल्टर दिए ।
अर्धभूमिगत आन्दोलनकालमा केन्द्रीय समितिको बैठक गराउनेमा सहयोग गरे । कम्युनिस्ट पार्टीको लागि गर्नुगरे । विद्युत कर्पाेरेसनमा जागिरे भएका ईन्जिनियर भाइले केहि गरिदिनुस् न दाइ भन्दा, म केहि गर्न सक्दिन र कसैलाई भनसुन गर्न मन पराउँदिन भन्ने उत्तर फर्काए, उनै जीवन दाइचाले । आफ्नै बलबुताले गर्नुपर्छ भन्ने अर्ति दिए । पार्टीको लागि के मात्र गरेनन्, सुमनको बुवा जीवन दाइचाले । २०५४ सालमा पार्टी फुटेको घोषणा हुँदा आँखाबाट बरर आँसु झारेका थिए । पार्टी फुटेको खबर दिएर जीवनलाई रूलाएकोमा जीवन दाइचाका साथी जनज्योति श्रेष्ठले मनमा ग्लानी महसुस गरेको संस्मरण सामाजिक सञ्जालमा लेखेका छन् । उनकै जेठो छोरो सुमन साय्मि अहिले बुवाको पदचाप पछ्याउँदै छन् । बुवासँगै राजनीतिमा होमिएकाहरू ठूल्ठूला लाभका पदमा पुगे, सेल्टर दिएर बचाउने व्यक्ति इमान, त्याग, धैर्य, समर्पन, उदारपनले त्यहाँसम्म नपुगेपनि काठमाडौंबासीको मन र मस्तिष्कमा अहिले पनि जिवितै छन् ।
सुमनले बालाजु सडक बिस्तारको विरोध गर्ने क्रममा सन् २००१ मा (पाँच वर्षअघि) गिरफ्तार हुँदा प्रहरीको खोरमा मातृभाषा (नेपालभाषा) बोले । आफुसँगै पक्राउ परेका साथीहरूबीच खोरभित्र मातृभाषामा कुरा गरेको आरोप सुमन साय्मिले थुप्रैपटक खेप्नु परेको थियो । नेपालभाषा बोलेकै आरोपमा अपराधी सरह हतकडी लगाएर खोरमा जाकेको थियो । कहिले गैरन्यायिक सडक बिस्तार संघर्ष समितिका संयोजक भएर कहिले खोला मापदण्ड पीडित र थुप्रै समय गुठी र भूमि पीडितको पक्षमा आन्दोलनको क्रममा प्रहरी हिरासतमा बसेका छन् । उहिले बुवाको सेल्टर पाएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै बुवाको योगदानलाई कदर गरि सुमनलाई कथित पटक पटक कारागारमा जाकेर उपहार दिएका थिए ।
उहिले ओली नेतृत्वको सरकारले सुमन तथा उनका साथीहरूलाई गरेको दुव्र्यवहार निन्दनीय थियो÷छ÷रहनेछ । गैरन्यायिक सडक बिस्तारको विरोधमा लागेका न्यायिक अभियन्ता तथा नागरिक अगुवा सुमन साय्मिले खोला मापदण्ड पीडित, गुठी, सहकारी तथा लघुवित्त पीडितदेखि भूमि पीडितको पक्षमा सधैं वकालत गरिरहे । जीवन दाइचाले पार्टी र नेतालाई त्यत्रो सहयोग गरे तर कहिलेपनि आफ्नो ब्यक्तिगत हितको लागि पार्टीबाट कुनैपनि सहयोग मागेनन् । न त भनसुननै गरे । ठ्याक्कै त्यस्तै स्वभाव सुमन साय्मिको छ ।
पछिल्लो समयः
सुमन साय्मि किन राजनीतिमा आए?
सुरूको बखत फोहोरी राजनीतिले आजित भएर टाढा बसेका सुमन साय्मि पछि बुवाको पोलिटिकल लिगेसी बुझेपछि प्रभावित भएका थिए । हामीले नगरे कसले गर्छ? अहिले नगरे कहिले गर्ने? राजधानीबासीको राजनीतिक चेत कहिले आउँछ? जस्तो प्रश्नको उत्तर खोज्न सुमनले राष्ट्रिय राजनीति सुरू गरेका हुन् ।
पहिले नेता चुन्ने र पछि नागरिकको लागि काम गर्ने प्रवृत्तिलाई परिवर्तन गरेर नागरिकको आवाज बोल्ने÷बोलिरहेका नेतालाई सत्तामा पुर्याउन राजनीतिमा आएको सुमनको दाबी छ । बहुल राष्ट्रियताको अस्तित्वलाई सर्वस्वीकार्य बनाएर स्वदेशवादको विचार, दर्शन र अस्तित्व स्थापित गराउँदै उच्च नैतिकता, स्वमूल्य, स्वमान्यता र स्वभूमिको रक्षाको लागि सुमनले राजनीति गरेका हुन् । सबैखाले दमनको अन्त्य गर्दै उत्पीडित राष्ट्रियताहरूको मुक्तिको उद्घोष र स्वदेशी सभ्यताको पुनरुत्थानको लागि सधैं वकालत गरिरहने सुमनको प्रतिवद्धता रहेको छ ।
केवल अभियान, विरोध र आन्दोलनले मात्र हरेक पीडित नागरिकको दीर्घकालीन समाधान नआउने ठम्याइ पश्चात् नीति निर्माण तहसम्म पहुँच बनाउन राजनीतिमा आएको सुमनको भनाइ रहेको छ । सरकारी संरचनामै पुगेर संस्कृति, सम्पदा, शहर र समग्रमा सभ्यताका मुद्दा नीति तहमा उतार्नुपर्ने भएर राष्ट्रिय राजनीतिमा संलग्न भएको सुमनको भनाइ रहेको छ ।
दसक भन्दा बढी समयदेखि नागरिकको पीडामा मल्हम लगाउन उद्धत रहेका सुमन साय्मि समग्रमा मुद्दाको राजनीतिमा विश्वास गर्छन् ।
अभियन्ताबाट राष्ट्रिय राजनीति सुरू गरेका नेपाली कम्युनिष्ट पार्टीका नेता सुमन साय्मिसँग अन्तरक्रिया गरेर केके मानन्धरले तयार गरेको लेख ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij