नेपाल सम्वत् ११४६, प्वहेलागाः ४ पञ्चमी (२४ पौष, २०८२, ८ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक पहिचानका रूपमा परिचित ‘छलिया नाच’ पछिल्लो समय बैतडी जिल्लामा नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ । परम्परागत वेशभूषा, सामूहिक लय र उत्साहपूर्ण प्रस्तुतिले भरिएको नाच बैतडीको सामाजिक जीवनसँग गहिरोसँग गाँसिएको पाइन्छ ।
बैतडीलगायत सुदूरपश्चिमका गाउँ गाउँमा हुने विवाह, व्रतबन्ध, देउडा कार्यक्रम, मेला महोत्सव तथा विभिन्न सांस्कृतिक समारोहमा अहिले छलिया नाच अनिवार्य जस्तै बनेको शिवनाथ गाउँपालिकाका स्थानीय राजेन्द्र कलौनीले बताउनुभयो । पहिले ज्येष्ठ पुस्ताको सम्पत्तिका रूपमा सीमित मानिने यो परम्परा अहिले विद्यालय र क्याम्पस तहका युवकयुवतीले समेत सामूहिक रूपमा अँगाल्दै अभ्यास गर्न थालेको उहाँको भनाइ छ ।
छलिया नाचले संस्कृतिको संरक्षणसँगै बैतडीका युवालाई रोजगारीको अवसरसमेत दिएको छ । सङ्गठित समूह बनाएर विभिन्न स्थानमा प्रस्तुति दिँदै आएका कलाकारले यसलाई आम्दानीको स्रोतका रूपमा लिन थालेका छन् । स्थानीयस्तरमै अभ्यास, प्रस्तुति र व्यवस्थापन हुँदा विदेश पलायनको विकल्प बनेको बैतडीको सुर्नयाका छलिया कलाकार सोभान टेलरले बताउनुभयो ।
छलिया समूहमा आबद्ध युवा कलाकार प्रकाश टेलर भन्नुहुन्छ, “छलिया नाचले हामीलाई आफ्नो संस्कृति चिन्न मात्र होइन, आत्मनिर्भर बन्न पनि सहयोग गरेको छ । समूह बनाएर कार्यक्रम गर्दा राम्रो आम्दानी हुन्छ, जसले घरखर्च चलाउन मद्दत पुगेको छ ।”
बैतडीमा छलिया नाचसँग सम्बन्धित अन्य पेसासमेत चलायमान बन्दै गएका छन् । परम्परागत पोसाक सिलाउने दर्जी, ढोल–नगारा बजाउने कलाकार र कार्यक्रम व्यवस्थापनमा संलग्न व्यक्तिहरू पनि यसबाट लाभान्वित भएको बैतडीको पञ्चेश्वर गाउँपालिकाका मनोज औजीले बताउनुभयो । सुदूरपश्चिमको पहिचान बनेको छलिया नाच आज बैतडीमा पुस्ता जोड्ने माध्यमका रूपमा उभिएको छ ।
परम्पराको संरक्षण, नयाँ पुस्ताको सहभागिता र रोजगारीको सम्भावना जोडिँदै जाँदा छलिया नाच बैतडीको सांस्कृतिक जीवनमा झनै मजबुत हुँदै गएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij