Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

श्री स्वस्थानी ब्रत कथा आजबाट प्रारम्भ, दोलखामा एक महिनासम्म माधवनारायणको बसन्तगान शुरु

श्री स्वस्थानी ब्रत कथा आजबाट प्रारम्भ, दोलखामा एक महिनासम्म माधवनारायणको बसन्तगान शुरु

नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १५ पुर्णिमा (१९ पौष, २०८२, ३ जनवरी, २०२६) शनिवार, बाँपिझ्याला । सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । नेपाल राज्यमा विशेषः शालीनदीमा मेला लाग्ने र ब्रत बस्नेहरुले ब्रत लिने गरिन्छ ।

यसै गरी प्राचीन साँस्कृतीक शहर दोलखामा आजदेखि एकमहिनासम्म माधवनारायणको भजन बसन्तगानका साथ तिनधारा राईतीदेखी दोलखा भीमेश्वरसम्म भजन किर्तन गर्ने चलन रही आएको छ । जसमा दोलखाका बच्चादेखि बृद्धसम्म र महिलाहरुको विशेष सहभागीतामा भजन किर्तनमा हुने गरेको छ । आजदेखि एकमहिनाको अन्त माघ शुल्क पूर्णेको दिन सहधारा जात्राका साथ स्वस्थानी ब्रतकथा, भजन किर्तन समापन गर्ने परम्परा रहेको रहीआएको छ ।

स्वस्थानी ब्रत कथाः
हिन्दू धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वास्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रतकथाका ३१ अध्यायहरु पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरुले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरु पूर्ण साकाहारी हुन्छन् ।

श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।
आउनुहोस् यसै हिन्दु संस्कार–संस्कृतिको स्वस्थानी व्रतकथाबारे थप कुरा उल्लेख गरौं । अष्टमातृका अर्थात् आठ वटा देवीको बीचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

शुद्ध चित्त अनि सफा संकल्प लिएर भक्ति अनि श्रद्धाकासँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी स्वस्थानीका चारवटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरवार अनि कमलको फूल छन् ।

वैदिक सनातन संस्कारलाई धर्मसित मात्र होइन कि सभ्यताक्रमसित जोडिनु जरुरी छ । सिन्धु नदीको तटमा भएको सभ्यता अनि शब्दकोषमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ’ह’ शब्द प्रयोग गरेर सिन्धुको साटो हिन्दू भएको दस्तावेजहरूमा उल्लेख छन् ।

यी अष्टमातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्टमातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दू संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबीचको संवाद छ । स्वस्थानी व्रतकथामा शिव भगवानका जेष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनी बीचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनि‘।’

श्री स्वस्थानी कथा आराध्यदेव भगवान शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा श्रृंखलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दू परिवारहरूमा साँझ या विहान चोखो निधो हुँदै ब्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।

प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।

स्वस्थानी व्रतालुहरू काठमाडौंको साखुँस्थित शालीनदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शालीनदीमा ब्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भीडभाडमा रोक लागेको छ । यो शालीनदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसूस हुन्छ ।

सतीदेवी दक्ष प्रजापतीकी छोरी हुन् । दक्ष प्रजापती यज्ञ चलिरहँदा अन्य देवगण अघिल्तिर सतिदेवीकी पति आराध्यदेव भगवान महादेवको अपमान गर्छन । आफ्नो पति महादेवको अपमान सहन गर्न नसकी आवेगमा सतीदेवीले अग्निकुण्डमा हाम फालेर देहत्याग गर्छिन् ।

सतीदेवीको जल्दै गरेको लास बोकी महादेवले भावविह्वल हुँदै देश–देशान्तर परिक्रमामा गर्छन् । यसरी परिक्रमा गर्दा सतीदेवीका शरीरका अङ्गहरू क्रमैसँग धर्तीमा पतन हुँदै जान्छन् । उनको शरीरका अंगहरू पतन भएका ठाउँमा एक शक्ति पीठ कायम भएको विश्वास गरिन्छ । सतीदेवीका अंगहरू पतन भएका ठाउँहरू पछि शक्तिपीठका रूपमा चिनिन्छन् ।

सतीदेवीको शरीरको अन्तिम अंश झरेर गुहेश्वरी शक्तिपीठ बनेको विश्वास गरिन्छ । त्यस्तै उनको कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको मानिन्छन् । जम्मु कश्मीरको त्रिसन्देश्वर पीठमा सतीदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्ग्लादेशमा धेरै शक्तिपीठहरू अझै छन् । दैलेख जिल्लाको नाभि खोलाको तीरमा सतीदेवीको नाभि पतन भएको विश्वास गरिन्छ । त्यो ठाउँमा परापूर्वकालदेखि ज्वाला बलिरहेको मन्दिर छ, जसलाई ज्वालास्थान भनिन्छ ।

हिमालय पुत्री पार्वतीले शिवको वर पाउँ भनी श्री स्वस्थानी माताको व्रत बसेकाले शिव भगवानसँग विवाह भएको उल्लेखित छन् । गोमा ब्राह्मणीको वृद्ध ब्राह्मणसँगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रतकथालाई सामाजिक मुद्दामा जोडदै नारी समानताका सवालसहित ब्याख्या गर्छन् । तर सनातन कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लगाउनु उचित नहोला ।

गोमा ब्राह्मणीको कथाले प्राचीन समयमा पनि बालबिवाहका नराम्रा असरहरू प्रस्तुत गर्दै बालबिबाहबारे जनचेतना फैलाइनु पर्छ । यौन अनि प्रजजन स्वास्थ्यबारे पनि खुलेर उदाहरणसहित ब्याख्या गरेको यो व्रतकथाले गणेशको शीरभेदन, संसारको श्रृष्टी अनि शिव–पार्वती सम्बन्धका विषयमार्फत् धेरै ठाउँमा नारी–पुरुषबीचको लैगिक समातनाको वकालत पनि गरेको छ ।

स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्छ । व्रतालुले घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर–किशोरीको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन–किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।
हिउँदमा पूजा गरिएका नदी किनारहरूले वर्षामा सबैको रक्षा गरुन् । लैगिंक समानताका लहरहरू समाजमा साकार रूपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्टमातृका सबैको हामीप्रति असिम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् १

माघ स्नान सुरु:
माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको संकल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्छ । स्नानपछि भगवान् विष्णुको पूजाअर्चना गर्नु र सकेसम्म सात्विक, अल्पहार र एक छाक मात्र भोजन गरी श्रद्धा र भक्तिपूर्वक व्रत बस्न सकिन्छ । माघ महिनामा दानको विशेष महत्व छ । दानमा तिल, गुड, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।

माघ महिनामा पवित्र नदीहरूमा स्नान गर्नाले विशेष ऊर्जाको प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्तिपूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान नारायणलाई प्राप्त गर्न सकिन्छ भन्ने सनातनप्रति विश्वास राख्नेहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार