नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः ९ नवमी (१४ पौष, २०८२, २९ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । गएको असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाकामा आइतबारदेखि आवतजावत सुरु भएको छ। आइतबार बिहानदेखि नै नेपाली ट्रकका चालक केरुङतर्फ जान सुरु गरेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनको सीमामा रहेको ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सकिएको जानकारी दिए।
उनले यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने जानकारी चिनियाँ समकक्षीले गराएको बताए।
गत २४ असारगते अगाडि सामग्री लिन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत आइतबार केरूङतर्फ प्रस्थान गरेका सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।
ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै रसुवागढी नाकाबाट व्यापार व्यवसाय ठप्प छ। गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए।
चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिएको उल्लेख छ। साथै सबै विदेशी व्यापारिक प्रतिष्ठानले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीले प्रवेशअघि नै आवश्यक तयारी, सवारीसाधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ।
आगामी बिहीबारदेखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारीसाधनको निरीक्षण गरेपछि मात्र आवागमनको अनुमति दिने व्यवस्था गरिएको छ। यस अवधिमा एकतर्फी पालैपालो प्रणाली कडाइका साथ लागु गरिने चिनियाँ पक्षले जनाएको छ।
सीमाक्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिने छ।
चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बनेसम्म आवागमन खुला रहने र बाँकी समयमा दुवैतर्फबाट सवारी आवगमन नियन्त्रण गरिने चिनियाँ पक्षले जनाएको छ।
जनवरी ८ पछि भने चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सामान्य भन्सार समयभन्दा एक घण्टा बढी सवारीसाधन प्रवेशका लागि खुला हुनेछ।
त्यसैगरि दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रूपमा आवागमन सञ्चालन गरिने छ। चिनियाँ लगानीमा निर्माण भएको मितेरी पुल २०७२ सालको भूकम्पछि जीर्ण बनेको थियो।
गल्छीदेखि रसुवागढीसम्म सडकको कुल लम्बाइ ८२ किलोमिटर छ।
ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक खण्डको विभिन्न स्थानमा नदिले कटान गरेको थियो। सडक कटान गरेको ठाउँमा मर्मत गरेर सवारी सञ्चालन गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij