नेपाल सम्वत् ११४६, कछलाथ्वः ९, अष्ठमी, (१३ कार्तिक, २०८२, ३० अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला । अमेरिका र चीनबीच बहुप्रतिक्षित व्यापार वार्ता सुरू भएको छ।
दक्षिण कोरियाको तटीय सहर बुसनमा रहेको गिम्हेस्थित दक्षिण कोरियाको वायु सेनाको अड्डामा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता सुरू भएको हो।
औपचारिक वार्तामा बस्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको थियो।
पत्रकारहरूका अगाडि दुई राष्ट्रपतिले एकअर्कासँग हात मिलाएका थिए। पत्रकारहरूका अगाडि ट्रम्प उत्साहित देखिएका थिए भने सी गम्भीर देखिएका थिए।
दुई राष्ट्रपतिबीचको सुरूवाती भेटको भिडिओ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। सार्वजनिक भएको भिडिओमा ट्रम्म बोलिरहेका छन् भने सी शान्त देखिएका छन्।
ट्रम्पले सुरूवातमै आज दुई देशबीचको वार्ता सकारात्मक र सफल हुने विश्वास व्यक्त गरे। 'हाम्रो वार्ता सफल हुन्छ। त्यसमा कुनै शंका छैन,' ट्रम्पले पत्रकारहरूसँग भने।
उनले राष्ट्रपति सी कडा वार्ताकार रहेको स्वीकार गरे। 'उहाँ कडा वार्ताकार हुनुहुन्छ, जुन त्यति राम्रो होइन,' ट्रम्पले ठट्टाको शैलीमा भने।
'हामी एकअर्कालाई राम्ररी चिन्छौं। हामीबीच एक अर्काप्रति राम्रो बुझाइ छ,' ट्रम्पले अगाडि भने।
त्यसपछि त्यहाँ उपस्थित एक पत्रकारले ट्रम्पलाई आज व्यापार सम्झौता हुन्छ? भनेर सोधेकी थिइन्। ट्रम्पले त्यसमा आफू सकारात्मक रहेको जबाफ दिए।
यद्यपि राष्ट्रपति सीले भने कुनै प्रतिक्रिया जनाएनन्। प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा भने राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध र व्यापार युद्धबारे बोलेका छन्।
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेलगत्तै चीनसँग व्यापार युद्ध सुरू गरेका थिए। राष्ट्रपति सीले त्यसलाई स्वाभाविक भनेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
'दुई ठूला आर्थिक शक्तिबीच सामान्य घर्षण हुनु स्वाभाविक हो,' सीले भनेका छन्।
त्यस्तै उनले विश्वमा देखिएको संकटको सामना गर्नका लागि अमेरिका र चीनजस्ता दुई शक्तिशाली देशहरू मिलेर अगाडि बढ्नुपर्ने पनि बताए।
राष्ट्रपति सीले मित्रवत व्यवहारका साथ अघि बढ्न आफू तयार रहेको पनि ट्रम्पसँग बताए।
उनले दुई देशबीचको सम्बन्धलाई 'विशाल जहाज' को रूपमा वर्णन गरे जसलाई चुनौतीहरूको सामना गर्न दुई नेताहरूको स्थिर र बलियो हात आवश्यक पर्ने बताए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij