Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरको शिलामा पसिना–भक्तजनले नदेखे पनि देउमा (कुमारी) को आत्माले देखिन्, राष्ट्रपतिद्वारा क्षमा पूजा

दोलखा भीमेश्वरको शिलामा पसिना–भक्तजनले नदेखे पनि देउमा (कुमारी) को आत्माले देखिन्, राष्ट्रपतिद्वारा क्षमा पूजा

नेपाल सम्वत् ११४६, कछलाथ्वः ७, सप्तमी, (११ कार्तिक, २०८२, २८ अक्टोबर, २०२५) मंगलबार, बाँपिझ्याला । साक्षात् सहस्र अवतारका रूपमा पूजिने श्री भीमेश्वर महादेव—जसको शिलामा पसिना आउने घटनालाई देशमा राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र असामान्य घटनाहरूको पुर्वसूचना मानिन्छ ।  पुनः एकपटक अद्भुत रहस्यका रूपमा प्रकट भएको छ।

गत भाद्र २३ र २४ गते देशमा अकल्पनीय Zen-Z आन्दोलनको क्रममा भएको दुर्घटनापछि भक्तजनहरूबीच एउटा प्रश्न उठेको थियो –
“यो यति ठूलो घटना हुँदा पनि दोलखा भीमेश्वरको शिलामा पसिना किन आएन?”

bhimeshwor2.jpg

किनभने इतिहासमा हरेक ठूलो राजनीतिक वा प्राकृतिक परिवर्तनअघि दोलखा भीमेश्वरको शिलामा पसिना आउने परम्परा रहँदै आएको छ।
तर अहिले पुष्टि भएको छ कि — त्यो समयमा नै श्री भीमेश्वरको शिलामा पसिना आएको रहेछ, जुन मन्दिरमा उपस्थित पुजारी वा भक्तजनहरूले प्रत्यक्ष देख्न नपाए पनि काठमाण्डौँस्थित जीवित देउमा (कुमारी) को आत्माले देखेकी रहिछिन्।

Bhimeshwor4.jpg

देउमाले उक्त रहस्यमय दर्शनपछि देशमा थप अनिष्ट नहोस् भनी तुरुन्तै राष्ट्रप्रमुखमार्फत क्षमा पूजा पठाउन आग्रह गरेकी थिइन्।
उनको आग्रह अनुसार, इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न शाक्यले सम्माननीय राष्ट्रपतिज्युलाई भेटी जानकारी गराएपछि, राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरी प्रसाद पाण्डेको नेतृत्वमा प्रतिनिधि टोली दोलखा पुगेर क्षमा पूजा र रुद्राविशेष सम्पन्न गरेको हो।

Bhimeshwor3.jpg

कोरा पूजासहितको क्षमा पूजा सम्पन्न
यस पटकको क्षमा पूजा सामान्य बलि पूजा नभई कोरा पूजासहितको क्षमा पूजा र रुद्राविशेष भएको भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो।
राष्ट्रपति कार्यालयको तर्फबाट आएका प्रतिनिधिहरूमा उपसचिव ईश्वरी प्रसाद पाण्डे, सहायक स्वकीय सचिव शुसिल तिमल्सिना, कुमारी घरका अध्यक्ष तथा इन्द्रजात्रा व्यवस्थापन समिति संयोजक गौतम रत्न शाक्य लगायतको टोली सहभागी थियो।

दोलखामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गरुड दल गणका गणपति लोक सागर कटुवाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू पनि पूजा अवसरमा उपस्थित थिए।

पूजा व्यवस्थापनमा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, दोलखा भीमेश्वर  गुठी व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठ, सचिव राजेन्द्र नारायण श्रेष्ठ तथा गुठियारहरू सक्रिय रूपमा खटिएका थिए।

Bhimeshwor6.jpg

शिलामा पसिना आउँदा हुने परम्परा र विश्वास
दोलखा भीमेश्वरको शिला देशका दुर्लभ प्रतीकहरू मध्ये एक हो।

जनविश्वास अनुसार, शिलामा पसिना आउँदा मुलुकमा कुनै अनिष्ट वा परिवर्तन हुने संकेत हुन्छ।
त्यस बेला मन्दिरका घण्टाहरू लगातार बजाइन्छ, र मानिसजस्तै टप–टप खस्ने पसिनालाई सेतो कपासले पुछिन्छ।

उक्त कपास राष्ट्रप्रमुखका लागि महाप्रसादको रूपमा पठाइन्छ, र त्यसपछि राष्ट्रपति कार्यालयबाट क्षमा पूजा पठाउने परम्परा रही आएको छ।

अघिल्ला समयहरूमा राजसंस्था हुँदा राजदरबारबाट राजाले क्षमा पूजा पठाउने चलन थियो।
गणतन्त्र स्थापनापछि यो जिम्मेवारी राष्ट्रप्रमुख (राष्ट्रपतिले) वहन गर्दै आएका छन् ।

इतिहासका साक्षी पसिनाका क्षणहरू
मन्दिर गुठी व्यवस्थापन समितिका अभिलेखअनुसार, राजा ग्रिवाणयुद्ध विक्रम शाहको पालादेखि नै भीमेश्वरको शिलामा पसिना आएको रेकर्ड भेटिन्छ।
त्यसपछि पनि १९९० सालको भूकम्प, चार सहिदको बलिदान, २००७ सालको क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४६ र २०६२÷६३ का जनआन्दोलन, राजदरबार हत्याकाण्ड, गणतन्त्र घोषणा, २०७२ सालको भूकम्प, २०७७ को कोरोना महामारी, र २०८१ सालको बाढीपहिरो जस्ता घटनाअघि पनि शिलामा पसिना आउने गरेको प्रमाण छ।

विश्वास बलियो बनाउँदै आजको घटना
यसपालिको घटना — जसमा मन्दिरका पुजारी वा भक्तजनहरूले प्रत्यक्ष पसिना देख्न नपाए पनि देउमाको आत्माले देखेकी कुरा यथार्थमा परिणत भएको विश्वासले भक्तजनहरूमा पुनः श्रद्धा र विश्वास अझ गहिरो बनेको छ।

“श्री भीमेश्वर साँच्चै साक्षात् भगवान हुन्,” भन्ने आस्था अझ प्रबल बनेको छ।

देशमा शान्ति, स्थायित्व र समृद्धिको कामनासहित गरिएको राष्ट्रपतिबाट पठाइएको क्षमा पूजा र रुद्राविशेष अब सम्पूर्ण नेपाली जनताको सुरक्षाको प्रतीक बन्न पुगेको छ।

Bhimeshwor5.jpg

Bhimeshwor8.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार