नेपाल सम्वत् ११४५, कौलागा १२, द्वादसी, (१ कार्तिक, २०८२, १७ अक्टोबर, २०२५) शनिवार, बाँपिझ्याला । अहिले भारतदेखि नेपालसम्मका सिनेमा हलहरूमा एउटा फिल्मले तहल्का मच्चाइरहेको छ।
कन्नड भाषाको यो फिल्म हो 'कान्ताराः च्याप्टर १'। यो फिल्म सन् २०२२ मा बनेको 'कान्तारा' को 'प्रिक्वेल' हो।
त्यसैले 'कान्ताराः च्याप्टर १' हेर्न जाँदै हुनुहुन्छ भने 'कान्तारा' पनि हेरेर जानुहोस्। धेरैले त हेरिसक्नुभयो होला तर नहेर्नेहरूका लागि आज गुड फ्राइडे सिनेमामा हामी यही फिल्म हेर्न सिफारिस गरेका छौं।
कान्तारा यस्तो फिल्म बनेको थियो जसको सुरूमा न धेरै चर्चा थियो, न प्रचार, न धेरै कमाउने आशा नै। लगानी मात्र उठे पनि यो सफल मानिन सक्थ्यो।
तर फिल्मले अकल्पनीय कमाइ गरेर इतिहास रच्यो।
दर्शक र समीक्षकका नजरमा उत्कृष्ट सावित भयो। जम्माजम्मी १६ करोड भारूमा बनेको यो फिल्म कन्नड भाषाको हो। जानकारीका लागि, कन्नड भाषामा हालसम्म धेरै कमाउने फिल्म केजिएफ-२ हो। दोस्रोमा चार सय करोड भारू कमाउँदै यही फिल्मले रेकर्ड बनाएको छ। यति मात्र होइन, भारतमा सन् २०२२ मा सबभन्दा धेरै कमाउने चौथो फिल्म पनि बन्यो।
एक्सन, ड्रामा, रोमान्स, कमेडी, थ्रिलर, फिक्सन जस्ता सबै विधा समेटेको यो फिल्मका हरेक पक्षले प्रशंसा पाएको छ। संगीत, एक्सन, अभिनय, सिनेमाटोग्राफी, प्रस्तुति, निर्देशन लगायत सबैजसो पक्षको समीक्षकहरूले खुलेर सरहाना गरेका थिए।
'कान्तारा' को अर्थ हुन्छ रहस्यमयी जंगल।
ऋषभ शेट्टीद्वारा लिखित र निर्देशित कान्तारा झन्डै दुई सय वर्षअघिको परिवेशमा सुरू हुन्छ। त्यसपछि क्रमशः सन् १९७० र सन् १९९० को परिवेशमा कहानी बुनिएको छ।
मुख्य भूमिका निर्वाह गरेका ऋषभले अनुपमा चोपडालाई दिएको अन्तर्वार्तामा भने अनुसार उनलाई यो फिल्म बनाउने बजेट जुटाउन बडो सकस भएको थियो। सन् २०२१ मा, जब कोरोना चलिरहेको थियो, उनको दिमागमा कान्ताराको कथा फुरेको थियो। धेरै समयअघिको ग्रामीण परिवेश देखाउने गरी फिल्म बनाउन उनीसँग पर्याप्त बजेट थिएन।
धेरै पटक सुटिङमा बजेट कम भएर बाधा भयो। तर ऋषभ आफै खटेर यो फिल्म पूरा गरिछाडे। किनभने यो फिल्म उनको सपना थियो। र, उनको सपनाले आखिरमा मिठो फल दियो।
कन्नड भाषी फिल्ममा जमेका भए पनि उनलाई पूरा भारतका दर्शकसम्म पुर्याउने फिल्म यही हो। भारतका दर्शकसम्म पुगेपछि भारतीय फिल्म हेर्ने अरू देशका दर्शकसम्म पनि यो फिल्म पुग्यो। चर्चा बटुल्दै बटुल्दै यसले प्रशंसाको शिखर चुम्यो।
ऋषभले त्यही अन्तर्वार्तामा भनेका थिए, 'मैले आफ्नो भएभरको शक्ति, पैसा र मन लगाएर यो फिल्म बनाएको थिएँ। त्यही अनुसार आशा त राखेको थिएँ तर मैले सोचेभन्दा धेरै ठूलो फल मिलेको छ।'
किम्बदन्ती र दैवीशक्ति माथिको विश्वासलाई आधार बनाएर बनेको कान्ताराले मानिस र प्रकृतिबीचको संघर्षको कथा भन्छ।
र, यो कथा सन् १८४७ बाट सुरू हुन्छ। एक राजा जीवनमा सबै थोक भएर पनि खुसी हुन सकिरहेका हुँदैनन्। आफ्नो खुसी खोज्न अनेकतिर भौंतारिँदा एकदिन उनी एउटा जंगलमा पुग्छन् जहाँ उनको नजर एउटा पत्थरमा पुग्छ।
राजालाई एक्कासि जीवनको सबै शान्ति र सुख पाएको अनुभूति हुन्छ।
त्यो जंगल र पत्थर पंजुरली दैवको हुन्छ। उनी त्यो गाउँ र बासिन्दाका रक्षक हुन्। पंजुरलीसँग राजाले गाउँलेलाई आफ्नो धेरै जसो जमिन दिएर त्यो पत्थर आफूसँगै लैजाने सहमति गर्छन्।
पंजुरलीले राजालाई उनी र उनका पुस्ताले यो बचन कहिल्यै नतोड्न चेतावनी दिन्छन्। नभए उग्र रूपका गुलिगा दैवको भयानक आक्रोश खेप्नुपर्ने बताउँछन्।
के राजा वा उनका सन्तान यो सहमतिमा टिकिरहन सक्लान्? आफ्नो खुसी र शान्तिका लागि एक पत्थरको बदलामा दिएको त्यतिका विधि सम्पत्तिको लोभ उनका सन्तानले नगर्लान्? गरे भने उनीहरूको नियति के होला? के पंजुरलीले भनेजस्तै गुलिगा दैव आउलान्? उनले कसरी त्यो जंगल र जमिन जोगाउलान्?
यसका लागि तपाईंले कान्तारा हेर्नैपर्छ।
यो फिल्मले अलौकिक शक्तिको माध्यमबाट प्रकृति र मानवबीचको द्वन्द्व र त्यसका विभिन्न पक्षलाई बलियो पटकथामार्फत् पस्केको छ। तपाईंहरूको जानकारीका लागि पंजुरली र गुलिगा दैव निर्देशक ऋषभ शेट्टीका काल्पनिक पात्र होइनन्। भारतको उडुपी र मैंगलोर गाउँका स्थानीयले पंजुरली र गुलिगा दैवलाई आत्माका रूपमा पुज्छन्।
फिल्ममा देखाइएका धेरै दृश्य, विशेषगरी पंजुरलीको 'भूत कोला' र गुलिगा दैवको चरित्र, विशेष अवसरमा ती गाउँहरूमा प्रस्तुत गरिन्छ। यो फिल्म हेरिसकेपछि तपाईंहरूलाई पंजुरली र गुलिगा दैवका बारेमा थप जानकारी लिन मन लागे युट्युबमा भिडिओहरू उपलब्ध छन्।
फिल्म हेर्दा यसका एक एक दृश्य र संवाद मिहीन याद गर्न भने जरूरी छ। किनभने यसको सुरूदेखि अन्तसम्मका दृश्य र संवादलाई निर्देशकले बडो मिहीन साथ नै जोडेका छन्। यिनै संवाद र दृश्यले नै फिल्मको कथा व्याख्या गर्छन्। ध्यान दिएर हेर्नुभएन भने धेरै रहस्य प्रस्ट हुन सक्दैनन्।
फिल्मको सबैभन्दा बलियो पक्ष संगीत र ऋषभ शेट्टीको दमदार अभिनय हो। अन्तिमको बीस मिनेटको दृश्यले त दर्शकलाई सिरिंगै बनाउँछ।
कान्तारा पूरै हेरिसकेपछि तपाईंलाई पनि पक्कै लाग्नेछ— यति कम बजेटमा बनेको फिल्म पनि यति भव्य!
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij