Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

बन्धकहरूको शव फिर्ता प्रक्रिया ढिला भएकोमा हमासलाई युद्ध विराम उल्लंघन भएको आरोप

बन्धकहरूको शव फिर्ता प्रक्रिया ढिला भएकोमा हमासलाई युद्ध विराम उल्लंघन भएको आरोप

नेपाल सम्वत् ११४५, कौलागा ९, नवमी, (२९ असोज, २०८२, १५ अक्टोबर, २०२५) बुधबार, बाँपिझ्याला । गाजामा मृत बन्धकहरूको शव फिर्ता प्रक्रिया सुस्त भएकोमा इजरायलले युद्धविराम सम्झौताको उल्लंघन भएको आरोप लगाएको छ । मानवीय सहायता बोकेका ट्रकहरूको संख्या आधा घटाउने घोषणा पनि गरेको छ ।

यसअघि इजरायल र हमासबीच जारी युद्धविरामलाई लिएर आशाको किरण देखिएको थियो । संयुक्त राष्ट्रसंघको मानवीय सहायता शाखाका प्रवक्ता ओल्गा चेरेवकोले आफूलाई गाजामा मानवीय सहायता पु‍‍र्‍याउने जिम्मा लिएको इजरायली सैन्य एजेन्सीबाट यो कटौतीको जानकारी दिइएको बताइन् ।

जीवित बन्धकहरू सबै फिर्ता गरिए पनि हमासले अझै फिर्ता नगरेका २० जना मृत बन्धकहरूको शवलाई लिएर हमास र इजरायली सरकार दुवैमाथि दबाब बढिरहेको बताइएको छ ।

मंगलबार जारी विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ) ले भन्यो, “हमासले सम्झौताअनुसार आफ्नो जिम्मेवारी पूरा गरी सबै बन्धकहरूलाई उनीहरूको परिवार र उचित अन्त्येष्टिका लागि फिर्ता गर्न आवश्यक प्रयास गर्नुपर्छ ।” 

इजरायलका रक्षा मन्त्रीले प्यालेस्टिनी सशस्त्र समूहलाई चेतावनी दिँदै भने, “कुनै पनि ढिलाइ वा जानाजानी बेवास्तालाई सम्झौताको गम्भीर उल्लंघन मानिनेछ र त्यसअनुसार जवाफ दिइनेछ ।” 

इजरायली अधिकारीहरूले हमासले बन्धकहरूको शव हस्तान्तरण गर्न नसकेर युद्धविराम सम्झौता उल्लंघन गरेकाले सहायता अवरोध सहित इजिप्टसँगको राफाह सीमा नाका खोल्ने योजनामा ढिलाइ गर्ने निर्णय गरिएको बताए ।

हमासले भने मृत बन्धकहरूको शव पत्ता लगाउन गाह्रो भइरहेको प्रतिक्रिया दिएको छ ।

हमासद्वारा थप चार बन्धकको शव फिर्ता
इजरायल रक्षा बल (आईडीएफ)ले हमासले मृत्यु भइसकेका थप चार बन्धकहरूको शव फिर्ता गरेको जनाएको छ । रेड क्रसले मंगलबार राति ती शवहरूलाई कफिनमा राखेर इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण हुनुअघि इजरायलले हमासले मृत्यु भएका सबै २८ बन्धकहरूको शव फिर्ता नगरेसम्म गाजामा राहत सामग्रीको आपूर्ति अवरुद्ध गरिने चेतावनी दिएको थियो । प्यालेस्टिनी सशस्त्र समूहले सोमबार २० जना जीवित र चार जना मृत बन्धकहरूलाई फिर्ता गरेको थियो ।

रेड क्रसले मंगलबार जारी विज्ञप्तिमा इजरायलमा रहेका ४५ जना मृत प्यालेस्टिनीहरूको शव गाजामा फिर्ता गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजना, जसलाई इजरायल र हमास दुवैले स्वीकार गरेका थिए, त्यसअनुसार सबै ४८ जना बन्धकहरूको हस्तान्तरण सोमबार मध्याह्नभित्र पूरा भइसक्नुपर्ने थियो ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले रेड क्रसले इजरायली सैन्य अधिकारीहरूलाई चार बन्धकका शव हस्तान्तरण गरेको पुष्टि गरेको छ । यी अवशेषहरूलाई फोरेन्सिक पहिचानका लागि राष्ट्रिय केन्द्रमा पठाइएको छ, जहाँ परिवारहरूलाई जानकारी दिइनेछ ।

यद्यपि, इजरायलको सैन्य एजेन्सी सीओजीएटीले निर्धारित ६०० ट्रकको राहत आपूर्तिमा आधा कटौती गर्ने निर्णय कार्यान्वयन गर्छ वा गर्दैन भन्ने अझै स्पष्ट भएको छैन ।

युद्धविराम सम्झौताअन्तर्गत सबै बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिनुपर्ने थियो । तर, हमासले गाजामा व्यापक विनाश र शव खोज्न कठिनाइका कारण ढिलाइ भइरहेको बताएको छ । एपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार