नेपाल सम्वत् ११४५, कौलागा, १ प्रतिपक्ष, (२२ असोज, २०८२, ०८ अक्टोबर, २०२५) बाँपिझ्याला । युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्रमणको उद्देश्य मस्कोको युद्ध वित्तपोषण क्षमतालाई कमजोर पार्नु रहेको छ ।
ऊर्जा अनुसन्धान समूह क्ललरका विश्लेषक होमायुन फालक्षाहीका अनुसार किएभको आक्रमण अहिले ‘धेरै प्रभावकारी’ देखिएको छ, जसले रूसी रिफाइनरी उत्पादन दर करिब १० प्रतिशतले घटाएको छ ।
अभावको जोखिम देखिँदै मस्कोले पेट्रोलियम उत्पादनहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ र पेट्रोल निर्यातमाथिको रोकथाम विस्तार गरेको छ । रुसको रिफाइनरी उत्पादन सेप्टेम्बरको मध्यसम्म दैनिक ४९ लाख ब्यारेलमा झरेको छ । ऊर्जा विश्लेषक जानिव शाहका अनुसार यो सन् २०२५ को पहिलो छ महिनाको तुलनामा करिब चार लाख ब्यारेल कम हो ।
यसले रूसी कच्चा तेल र परिष्कृत उत्पादनहरूको मूल्यबीचको अन्तरलाई उल्लेखनीय रूपमा बढाएको छ । पम्पमा पेट्रोलको मूल्यमा परेको असर रूसी उपभोक्ताले पहिले नै महसुस गरिरहेका छन् । रोसस्टाटका तथ्याङ्कअनुसार सेप्टेम्बर १ सम्म खुद्रा पेट्रोलको मूल्य सन् २०२४ को अन्त्यको तुलनामा ६।७ प्रतिशतले बढिसकेको छ । यद्यपि सोही अवधिमा कच्चा तेलको मूल्य घटेको थियो ।
क्षतिग्रस्त तेल पूर्वाधारहरू पुनः सञ्चालनमा ल्याउन ‘लामो समय’ लाग्ने सम्भावना रहेकाले विश्लेषक शाहका अनुसार दीर्घकालमा रुसको स्थिति झनै बिग्रन सक्छ ।
तेलको विश्वव्यापी मूल्य घट्दै गएको र बजारले आगामी महिनाहरूमा आपूर्ति प्रचुर मात्रामा हुने अपेक्षा गरेको समयमा यस्तो भइरहको छ । एसईबी बैंकका विश्लेषक बार्ने सिल्ड्रपले भने, “युक्रेनले रूसी रिफाइनरीहरूमा आक्रमण क्षमतामा सुधार गर्दै जाँदा स्थिति अझ गम्भीर बन्दै जाने सम्भावना छ ।” साथै उनले रूसी तेल निर्यात बन्द र घरेलु रेशनिङ (प्रत्येक व्यक्तिलाई निश्चित मात्रामा (वस्तु) मात्र राख्न दिइने अनुमति) को सुरुआत हुन सक्ने पनि चेतावनी दिए ।
अमेरिकाका लागि युक्रेनका दूत किथ केलगले युक्रेनले अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि लामो दूरीका आक्रमण गर्न सक्ने सङ्केत दिएका छन् ।
रुसले केही तेल निर्यात पुनःमार्ग निर्धारण गर्न खोजे पनि यसले कठिन लजिस्टिक समस्या भोगिरहेको छ । साथै, यसको कच्चा तेल खरिद गर्न इच्छुक देशहरूको सङ्ख्या सीमित हुँदै गएको छ ।
सरे क्लिन एनर्जी कन्सल्टेन्सीका निर्देशक आदि इमसिरोभिकका अनुसार मस्कोमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अहिलेसम्म अपेक्षित प्रभाव पार्न सकेका छैनन् । “केही प्रतिबन्ध ढिलो कार्यान्वयन भएकाले राष्ट्रपति भ्लादिमिर पुटिनले समानान्तर व्यापार प्रणाली निर्माण गर्न पर्याप्त समय पाउनुभयो”, उनले भने ।
यसैबीच, वासिङ्टनले भारतका केही उत्पादनमा भन्सार शुल्क दोब्बर बनाउँदा पनि भारतको रूसी तेल खरिदमा खासै कमी आएको छैन । अर्कोतर्फ, पश्चिमी तेल कम्पनीहरू फिर्ता भएपछि रुसमा ऊर्जा पूर्वाधारमा लगानी घट्दै गएको छ, जसले निकट भविष्यमा उत्पादन क्षमतामा बाधा पुर्याउने देखिन्छ ।
फालशााहीका अनुसार हाल रुसले दैनिक करिब ९२ लाख ५० हजार मिलियन ब्यारेल तेल उत्पादन गरिरहेको छ । यो युद्धअघि रहेको लगभग एक करोड ब्यारेल प्रतिदिन (एमबिपिडी) को तुलनामा कम हो । हाल यसको अधिकतम उत्पादन क्षमता ९४ लाख ५० हजार एमबिपिडीमा सीमित छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij