Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बढी पैसा–सर्त राखेपछि दीपिका भइन् 'आउट'

बढी पैसा–सर्त राखेपछि दीपिका भइन् 'आउट'

नेपाल सम्वत् ११४५, यंलागा, द्वादसी (२ असोज, २०८२, १८ सेप्टेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । उच्च बजेट र अत्यधिक धेरै कलाकारका कारण चर्चा कमाएको फिल्म 'कल्की २८९८ एडी' अहिले एउटा नयाँ कारणले चर्चामा छ।

कारण हो — यसको दोस्रो भागमा दीपिका पादुकोण देखिने छैनन्। फिल्म निर्माण कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै दीपिका पादुकोणले यसको सिक्वेल नखेल्ने घोषणा गरेको छ।

पहिलो भागकी यी अभिनेत्रीलाई दोस्रो भाग नखेलाउनुको कारण के हो त? बलिउडसँग सम्बन्धित अनलाइन 'बलिउड हंगामा' का अनुसार दीपिकाले पहिलो भागमा पाएको पारिश्रमिकभन्दा २५ प्रतिशत बढी मागेकी थिइन्।

उनले दैनिक ७ घन्टा मात्र सुटिङ गर्ने अडान पनि राखेकी थिइन्।

दीपिकाले राखेका यी दुई सर्तमा निर्माण पक्षले लामो समयदेखि छलफल गर्दै आएको थियो। आखिरमा उनीहरू दीपिकाका सर्त पूरा गर्न नसक्ने ठहरमा पुगे र उनको सट्टा अर्कै कलाकारलाई लिने निर्णय गरे।

यो फिल्ममा भिएफएक्सको अत्यधिक प्रयोग भएकाले दीपिकालाई दिनको ७ घन्टा मात्र सुटिङ गराउँदा सुटिङ अवधि लम्बिने निर्माण पक्षको भनाइ छ।

छलफल क्रममा लामो समय सुटिङ स्थलमा बस्नुपर्दा दीपिकाको निम्ति आरामदायी 'लक्जरी भ्यानिटी भ्यान' ल्याउने प्रस्ताव पनि गरिएको थियो। तर यो प्रस्ताव दीपिकाले अस्वीकार गरिन्।

यति मात्र होइन, दीपिकाले आफ्ना करिब २५ जना कर्मचारीको निम्ति पाँचतारे होटलमा बस्ने व्यवस्था र खाना खर्चसमेत निर्माताले नै बेहोर्नुपर्ने सर्त राखेको बलिउड हंगामाले लेखेको छ।

यसमा निर्माताको तर्क थियो — कलाकारले पारिश्रमिक पाइसकेपछि उनीसँग आउने टोलीको बसाइ र खानाको खर्च किन दिने?

निर्माताले पटक पटक उनका कर्मचारी टोलीको संख्या कटौती गर्न आग्रह गरे तर दीपिका आफ्ना मागमा अडिग रहिन्। आखिरमा दीपिकासँग सहकार्य गर्न नसकिने भन्दै निर्माताले उनी सिक्वेलमा काम नगर्ने आधिकारिक घोषणा गरिदिए।

'फिल्मको पहिलो भाग निर्माण गर्दाको लामो यात्राका बाबजुद हामीले सहकार्यको निरन्तरताका लागि सहमति जुटाउन सकेनौं। 'कल्की २८९८ एडी' जस्तो फिल्मलाई पूर्ण प्रतिबद्धता र समर्पण चाहिन्छ। हामी उनको भविष्यका कामहरूका लागि शुभकामना व्यक्त गर्छौं,' निर्माण कम्पनीले भनेको छ।

नाग अश्विन निर्देशित 'कल्की २८९८ एडी' हालैका समयमा ठूला प्यान–इन्डिया रिलिजमध्ये एक थियो। फिल्ममा प्रभाससँगै अमिताभ बच्चन, कमल हासन र दीपिका पादुकोणले मुख्य भूमिकामा अभिनय गरेका थिए। दीपिकाको चरित्र फिल्मको केन्द्रीय द्वन्द्वसँग जोडिएको थियो।

अब फिल्मबाट उनी बाहिरिएपछि कथाको निरन्तरता कसरी हुन्छ र निर्माताहरू कसरी अगाडि बढ्नेछन् भन्ने प्रश्न खडा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार