नेपाल सम्वत् ११४५, गुंलागा २ द्वादशी (४ भाद्र, २०८२, २० अगष्ठ, २०२५) बुधबार, बाँपीझ्याला । विगतका चाडपर्वमा जस्तो यो वर्ष खाद्यान्नको अभाव र मूल्यवृद्धिको समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाबी गरेको छ ।
चाडपर्वमा खाद्यान्नको खपत अत्यधिक बढ्छ । चामल, चिनी, तेल, घ्यू, माछा, मासुलगायतका खाद्यान्न अभाव हुने तथा महँगी बढ्ने समस्याले चाडपर्व नै खल्लो बनाइदिने गरेको छ । दुई वर्ष अघिको चाडपर्वमा चिनीको अभाव भएको थियो । उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता थियो । चिनी खरिदका लागि धादिङ, नुवाकोटदेखि काठमाडौँ आउनुपरेको थियो ।
यो वर्षको चाडपर्वमा कुनै पनि खाद्यान्न अभाव नहुने कम्पनीको बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाले दाबी गरे ।
कम्पनीसँग हाल १ लाख ८६ हजार ५०८ क्विन्टल चामल मौज्दात छ, जुन चाडपर्वको माग धान्न पर्याप्त रहेको उनको भनाइ छ । ‘यो मौज्दातले जति बाँड्दा पनि पुग्छ, देशभरका जनताले खाद्यान्न अभाव झेल्नुपर्दैन,’ उनले भने ।
चिनीको अभाव पनि नहुने उनको भनाइ छ । कम्पनीसँग हाल करिब ९ हजार क्विन्टल चिनी मौज्दातमा छ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि करिब १६ हजार क्विन्टल मौज्दात रहेकाले बजारमा चिनीको अभाव सिर्जना नहुने दाबी छ । विगतका वर्षहरूमा जस्तो उपभोक्ताले लाइन लागेर चिनी किन्नुपर्ने अवस्था यसपटक नआउने थापाले स्पष्ट पारे ।
खाद्यान्न वितरणमा दुर्गमलाई प्राथमिकता
कम्पनीले दुर्गम क्षेत्रका डिपोहरूमा खाद्यान्नको सहज आपूर्तिमा विशेष ध्यान दिएको जनाएको छ । कम्पनीका अनुसार डोल्पा, जुम्ला, मुगु, हुम्ला र बाजुरालगायत दुर्गम जिल्लाका सदरमुकाम र डिपोहरूमा असार मसान्तभित्रै खाद्यान्न पुर्याइसकेकको छ । ‘दसैँलाई पुग्ने खाद्यान्न दुर्गममा पठाइसकेका छौँ, कुनै पनि ठाउँमा अभाव हुन दिँदैनौँ,’ थापाले प्रतिबद्धता जनाए ।
विगतका वर्षहरूमा चाडपर्वको मुखमा खाद्यान्नको अभाव र मूल्यवृद्धि हुने गुनासो आउने गरे पनि यस वर्ष समयमै पर्याप्त खाद्यान्नको जोहो र सुपथ मूल्य पसलको व्यापक विस्तारले उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
४५ जिल्लाका १११ स्थानमा पसल राखिने
कम्पनीले आउँदो दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशका ४५ जिल्लाका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले गत वर्ष ४२ जिल्लाका ६३ स्थानमा यस्ता पसल सञ्चालन गरेकोमा यस वर्ष थप ४८ स्थानमा पसल सञ्चालन गर्ने गरी प्रस्ताव गरेको छ । साथै यस्ता पसलहरूमा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकता दिने भएको हो ।
यो वर्ष दाल तथा गेडागुडी र तेलबाहेक अन्य खाद्यान्नमा मूल्य वृद्धि भएको देखिँदैन । खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाद्यान्नमा मूल्य वृद्धि नभएको र चाडपर्वमा पनि बढ्ने सम्भावना नभएको बताए ।
कम्पनीको बिक्री वितरण विभाग प्रमुख थापाका अनुसार, चाडपर्वमा उपभोक्तालाई राहत दिन घटस्थापनाको करिब एक हप्ता अगाडिदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना छ । यद्यपि, यसको अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए ।
‘हामीले घटस्थापनाभन्दा एक हप्ताअघिदेखि पसल सञ्चालन गर्नुपर्छ भनेर मन्त्रालयमा सिफारिस गरेका छौँ,’ थापाले भने, ‘मन्त्रालयबाट निर्णय आउनासाथ कार्यान्वयनमा जानेछौँ ।’
कम्पनीले साउन २६ गते नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सुपथ मूल्य पसल सञ्चालनको प्रस्ताव पठाइसकेको छ ।
के–केमा कति छुट ?
कम्पनीले विभिन्न खाद्यान्नमा छुट दिने प्रस्ताव गरी मन्त्रालयमा पठाएको छ । जसअनुसार, सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५ रुपैयाँ छुट हुनेछ । यस्तै, दालमा प्रतिकिलो ५ रुपैयाँ र तेलमा ७ रुपैयाँ छुट दिइनेछ । मसलाजन्य वस्तुमा १० रुपैयाँ कर्णालीका रैथाने उत्पादन सिमी, फापर, चिनो र कागुनो जस्ता वस्तुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने प्रस्ताव छ । खसी, बोका तथा च्याङ्ग्रा जिउँदोको प्रतिकिलो १० रुपैयाँ छुट उपलब्ध हुनेछ । थापाले भने, ‘यो हाम्रो सिफारिस हो, मन्त्रीस्तरको निर्णयबाट अन्तिम टुङ्गो लाग्नेछ, तर हामीले अघिल्लो वर्षको भन्दा नघट्ने गरी प्रस्ताव गरेका छौँ ।’
अघिल्लो वर्ष चामलमा ५ रुपैयाँ, दाल तथा गेडागुडीमा ५ रुपैयाँ, कर्णालीको रैथाने चामलमा ५ रुपैयाँ, तेलमा ५ रुपैयाँ, घ्युमा ७ रुपैयाँ चिनीमा ५ रुपैयाँ छुट गरेको थियो । यस्तै खसी बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १०/१० रुपैयाँ छुट दिइएको थियो ।
खाद्यान्नको मूल्य बढ्ने सम्भावना छैन
यो वर्ष दाल तथा गेडागुडी र तेलबाहेक अन्य खाद्यान्नमा मूल्य वृद्धि भएको देखिँदैन । खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाद्यान्नमा मूल्य वृद्धि नभएको र चाडपर्वमा पनि बढ्ने सम्भावना नभएको बताए ।
‘अहिले खाद्यान्नमा तत्काल मूल्य बढ्ने देखिएको छैन । किनभने अहिले पर्याप्त मात्रामा मौज्दात छ,’ उनले भने । पछिल्लो समय चीन जोड्ने नाका ठप्प रहेका छन् । जसले खाद्यान्नमा प्रभाव नपार्ने बताए ।
‘फलफूलमा प्रभाव पर्ला खाद्यान्न चीनबाट धेरै आयात हुँदैन । चीनबाट धेरै आयात हुने फलफूल र दुई प्रकारका ड्राईफ्रुट हो,’ उनले भने, ‘ओखर र किसमिस बढी त्यताबाट आयात हुन्छ ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij