आदर्श प्रधान
Reiki Grand Master / Life Coach Holistic Minds and Life Celebration Center
हामी दिनभर जुन किसिमका निर्णय लिन्छौं, बिहान कति बजे उठ्ने, के खाने, कति समय मोबाइल चलाउने, कति हिँड्ने, कति कुरा मनमा राख्ने, यी सबैले हाम्रो मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेका हुन्छन्। जीवनशैली भनेको केवल शरीरको कुरामा सीमित छैन, यो हाम्रो भावनात्मक, मानसिक र आत्मिक अवस्थासँग पनि गाँसिएको हुन्छ।
डा. जो डिस्पेन्जा भन्छन्, “Your personality creates your personal reality.” अर्थात्, तपाईंको व्यक्तित्व नै तपाईंको जीवनयथार्थ हो। तपाईं जस्तो सोच्नुहुन्छ, अनुभूति गर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ, त्यसैले तपाईंको भविष्य निर्माण हुँदै जान्छ। बिहान उठेपछि तपाईंको पहिलो काम के हुन्छ? धेरैजसो मानिसहरू मोबाइल फोन हेर्छन्, सामाजिक सञ्जाल जाँच गर्छन् वा हिजोको चिन्ता सम्झिन्छन्। यसैबाट दिनको मनस्थिति तय हुन्छ।
यदि तपाईंको बिहान तनावपूर्ण छ भने, दिनभर तपाईंको सोच, निर्णय र प्रतिक्रिया पनि त्यही अनुसार हुन्छ। डा. दीपक चोप्रा भन्छन्, “Every time you are tempted to react in the same old way, ask if you want to be a prisoner of the past or a pioneer of the future.” हरेक पल जब तपाईं पुरानै बानीमा फर्कन लाग्नुहुन्छ, त्यो क्षणमा आफूलाई सोध्नुहोस्, म विगतको दास बन्न चाहन्छु कि भविष्यको अग्रदूत? हाम्रो मस्तिष्क पुनः ढालिन सक्ने संरचना हो। तपाईंले जुन कुरा बारम्बार सोच्नुहुन्छ, त्यो नै तपाईंको मस्तिष्कको संरचना बन्न थाल्छ। नकारात्मकता, आलोचना, डर र चिन्तामा रमाउने बानीले मस्तिष्कको न्यूरल नेटवर्क त्यसै अनुसार विकास गर्छ।
डा. जो डिस्पेन्जा भन्छन्, “Ninety-five percent of who we are by the age of thirty-five is a memorized set of behaviors, emotional reactions, beliefs, perceptions.” ३५ वर्षको उमेरसम्म हामी ९५ प्रतिशत समय पुराना आदत र अचेतन विश्वासद्वारा संचालित हुन्छौं। यसको अर्थ, यदि तपाईं दिनहुँ तनाव, डर र निराशाको चक्रमा हुनुहुन्छ भने तपाईंको जीवनशैली नै त्यसको श्रोत हुन सक्छ। तर राम्रो खबर के हो भने यो परिवर्तन गर्न सकिन्छ। जीवनशैलीमा साना तर सशक्त परिवर्तनहरू लाएर मनोविज्ञान सुधार गर्न सकिन्छ। बिहान ध्यान गर्ने, कृतज्ञताको अभ्यास गर्ने, सन्तुलित आहार खाने, र डिजिटल डिटक्सजस्ता अभ्यासले मस्तिष्कको रसायन र संरचनामा सकारात्मक परिवर्तन ल्याउँछ। दिनको १०–१५ मिनेट ध्यान गर्दा अमिग्डाला (emotional center) शान्त हुन्छ। हरेक दिन तीन वटा कुरामा धन्यवाद लेख्दा डोपामिन र सेरोटोनिनजस्ता ‘ह्याप्पी केमिकल्स’ मस्तिष्कमा बढ्छन्।
त्यस्तै ३० मिनेटको हिँडडुलले शरीरलाई सक्रिय बनाउँछ, आत्मविश्वास बढाउँछ र तनाव घटाउँछ। बिहानको एक घण्टा मोबाइल नछुने नियमले तपाईंको विचारलाई स्पष्ट र रचनात्मक बनाउँछ। जीवनशैली सुधार गर्दा मात्र तपाईंको मस्तिष्कमा नयाँ न्यूरल पाथवेहरू बन्न थाल्छन्। नयाँ बानीहरू अभ्यास गर्दा आत्म-संयम, रचनात्मक सोच र भावना नियन्त्रण बढ्न थाल्छ। डा. चोप्रा भन्छन्, “The way you think, the way you behave, the way you eat, can influence your life by 30 to 50 years.” तपाईंको सोच, व्यवहार र आहारले तपाईंको जीवनलाई ३० देखि ५० वर्षसम्म प्रभाव पार्न सक्छ। हामीले बिर्सिएका छौं कि हाम्रो शरीर मात्र होइन, हाम्रो भावना र सोच पनि “खाना” खाँदैछ। जसरी अस्वस्थ खाना खाँदा पेट बिग्रिन्छ, त्यस्तै नकारात्मक भावना, हिंसात्मक सामग्री, चिन्ता, इर्ष्या, र निरन्तर असन्तुष्ट मानसिकता पनि मस्तिष्कमा विषको रूपमा प्रवेश गर्छ। ध्यान, मौन र सकारात्मक संवाद हाम्रो मानसिक पाचनतन्त्रका लागि अत्यावश्यक हुन्छ।
आजको सानो निर्णय, जस्तै ध्यान गर्ने, पर्याप्त पानी पिउने, नकारात्मकता नबोली बस्ने, तपाईंको मस्तिष्क र आत्मालाई स्वस्थ र शक्तिशाली बनाउन सक्छ। यदि तपाईं सोच्नुहुन्छ, “म यस्तै हो, बदल्न सक्दिन,” भने त्यो तपाईंको अचेतन बानीले बोलेको हो। तर विज्ञान र आध्यात्मिक अभ्यासहरू दुबैले प्रमाणित गर्छन् कि हामी हाम्रो मस्तिष्क, शरीर र चेतनालाई पुनःप्रोग्राम गर्न सक्दछौं।
जीवनशैलीको परिवर्तन भनेको कुनै तात्कालिक लक्ष्य होइन। यो एउटा सतत अभ्यास हो, जसले क्रमशः तपाईंलाई भित्रबाट रूपान्तरण गर्छ। जब तपाईं आफूसँगको सम्बन्ध सुधार गर्नुहुन्छ, तपाईंको वरपरको संसार पनि रूपान्तरण हुन थाल्छ। आजै सुरु गर्नुहोस्। शरीरलाई सुन्नुहोस्, सोचलाई हेर्नुहोस्, भावना र व्यवहारलाई सचेत रूपले मार्गदर्शन गर्नुहोस्। जीवनशैली मात्र जीवन जीने तरिका होइन, त्यो नै तपाईंको जीवनको गुणस्तर हो।
© आदर्श प्रधान Reiki Grand Master / Life Coach Holistic Minds and Life Celebration Center
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij