नेपाल सम्वत् ११४५, गुँलाथ्वः ४, (१२ श्रावण, २०८२, २८ जुलाई, २०२५) सोमबार, बाँपिझ्याला । महिलाले लगाउने गर्भनिरोधक सङ्गिनी सुई कुकुरलाई लगाइने गरेको पाइएको छ । पशु अधिकारको दृष्टिकोणले यो कार्य अपराध हुने भए पनि आफ्नो सजिलोका लागि अन्धाधुन्ध प्रयोग बढिरहेको छ । औषधी पसलमा सहजै पाइने र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा यसको प्रयोग बढेको हो, जसको कारणले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी जटिल समस्या देखिन थालेको पशु स्वास्थ्यकर्मीले उल्लेख गरेका छन् ।
काठमाडौँ उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ । अज्ञानता र पशु प्राविधिकको गलत सल्लाहले महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन तीनमहिने सङ्गिनी सुई काठमाडौँ उपत्यकासँगै देशका प्रमुख सहरका कुकुर (पोथी कुकुर) लाई लगाउने गरेको केन्द्रीय रेफरल पशु चिकित्सालयका डा. प्रकाश अधिकारीले बताउनुभयो ।
उहाँले अस्पतालमा दैनिक उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरको समस्या देखिएको र त्यो सङ्गिनी सुईको असर भएको दाबी गर्नुभयो । पहिला पहिला कुकुरको पाठेघरमा समस्या एकदमै कम देखिने भए पनि पछिल्लो समय सङ्गिनी सुईको दुरुपयोगले समस्या बढेको जिकिर गर्नुभयो । सङ्गिनी सुई कुकुरधनी स्वयंले लगाउन अनुरोध गर्ने गरेको र औषधी पसलमा सहजै उपलब्ध हुने भएकाले यसको दुरुपयोग बढ्दो रहेको उहाँले बताउनुभयो ।
सङ्गिनी सुई नितान्त महिलाका लागि बनाइएको हुनाले कुकुरमा प्रयोग गर्नु दुरुपयोग हो । कुकुरमा यो सुईको प्रयोगले डिम्बाशयमा मासु (सिस्ट) पलाउने र पाठेघर सङ्क्रमण (पायोमेट्रा) को जोखिम बढाउँछ । साथै कुकुरले खाना पनि कम खान थाल्छ । पेट फुल्ने, रक्तअल्पता हुने, योनीबाट गन्हाउने फोहोर पदार्थ फाल्ने जस्ता लक्षण पनि कुकुरमा देखा पर्छन् ।
समयमा शल्यक्रिया उपचार नभए कुकुर मर्न सक्छ । हर्मोन असन्तुलनका कारण कुकुरको तौल बढ्ने र रौँ झर्ने जस्ता समस्या देखिन सक्छ । यो सुईको नियमित प्रयोगले स्तन ग्रन्थीको क्यान्सरको सम्भावना हुन्छ । कुकुरको अस्थायी परिवार नियोजनको कुनै पनि साधन नभएकाले अनावश्यक प्रजनन रोक्न सुरक्षित र स्थायी विधि कुकुरको बन्ध्याकरण गर्नु नै राम्रो हुने उहाँले बताउनुभयो ।
पशु चिकित्सक एवं नेपाल भेटेरिनरी परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले यो समस्या सहरदेखि गाउँसम्म फैलिएको दाबी गर्नुभयो तर सहरमा भने यसले ठुलै समस्या ल्याएको उहाँले उल्लेख गर्नुभयो । कुकुर पाल्ने व्यक्तिहरूले औषधी पसल र कुकुरका लागि खोलिएका क्लिनिकमा गएर वा घरमै बोलाएर कुकुरलाई सङ्गिनी सुई लगाउने गरेको पाइएको छ ।
धेरै मानिसले लहैलहैमा लागेर कुकुरलाई सङ्गिनी सुईको प्रयोग गरिरहेको उहाँले बताउनुभयो । “यसले कुकुरलाई मृत्युको मुखमा पु¥याउँछ । सङ्गिनी सुई कुकुरमा लगाउन मिल्दैन । यो नितान्त महिलाका लागि मात्रै बनेको हो,” डा. शाहीले भन्नुभयो । केही पैसाका लागि घर घरमा गएर कुकुरलाई सङ्गिनी सुईको प्रयोग गर्ने कार्य तत्काल रोक्नु पर्छ । नत्र पाठेघरको रोग लागेर कुकुर मर्ने उहाँले स्पष्ट पार्नुभयो । लगातार दुई/तीन पटक सङ्गिनी सुई लगाएको खण्डमा ९० प्रतिशत कुकुरको पाठेघरमा समस्या देखिन थाल्छ ।
सङ्गिनी सुई महिलाका निम्ति पर्याप्त शोध गरेर बनाइएको परिवार नियोजनको साधन हो । डा. शाही भन्नुहुन्छ, “महिलाको शारीरिक तथा प्रजनन क्षमता, बनावट, संरचना कुकुरसँग कतै पनि मेल खाँदैन । महिलाको शरीरको तौल र कुकुरको शरीरको तौल फरक हुन्छ । महिलामा प्रत्येक महिना महिनावारिको चक्र हुन्छ भने कुकुरमा प्रत्येक ६/६ महिनामा हुन्छ । त्यसैले मानिस र कुकुरको शारीरिक तथा प्रजनन क्षमता फरक हुने भएकाले सुईको प्रयोग गर्नु हुँदैन ।”
पशु अधिकारकर्मी मधु कट्टेलले पशु कल्याण मानवताको संवेदनशील र नैतिक दायित्वसँग गहिरो रूपमा गाँसिएको क्षेत्र भएको र मानिसमा प्रयोग हुने खोप, सुई र औषधी पशुलाई लगाउन नहुने उल्लेख गर्नुभयो । उहाँले पशुहरूलाई पीडा, दुःख, रोग, भोक र डर जस्ता अवस्थाबाट मुक्त गर्दै उनीहरूलाई स्वस्थ, सुरक्षित र सम्मानपूर्वक बाँच्ने अधिकार दिलाउन आवश्यक रहेको औँल्याउनुभयो । पशुको जीवन पनि मानिसको जीवन जत्तिकै मूल्यवान् भएकाले आफ्नो स्वार्थका लागि गलत प्रयोग गर्न नहुने उहाँ बताउनु हुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij