Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

इजरायली हवाई आक्रमण, ४० भन्दा बढीको मृत्यु

इजरायली हवाई आक्रमण, ४० भन्दा बढीको मृत्यु

गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार, इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो ।

यता, इजरायल र हमासबीच २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्न कतारको राजधानी दोहामा भइरहेको युद्धविराम वार्ता एक सातासम्म प्रयास हुँदाहुँदै अड्किएको छ । दुवै पक्षले एकअर्कामाथि वार्ता अवरुद्ध पार्ने आरोप लगाएका छन् ।
गाजामा हिंसा जारी रहँदा, युद्धका कारण दुई करोडभन्दा बढी जनसंख्या मध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भइसकेका छन् । खाद्य संकट, इन्धनको चरम अभाव र अस्पतालहरूको सेवा प्रभावित बनेको भन्दै संयुक्त राष्ट्रसंघका सात निकायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

गाजाको नुसेरात शिविरमा पानीको धारा नजिक भएको ड्रोन आक्रमणमा आठ बालबालिकासहित १० जना मारिएको जनाइएको छ । गाजा सिटीमा रहेको एक व्यस्त बजारमा गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको हो ।

स्थानीय बासिन्दाहरूले अनुभव सुनाउँदै भने, ‘हामी बिहानै ठूलो विस्फोटको आवाजले ब्यूँझियौँ । छिमेकीको घर पूर्ण रूपमा ध्वस्त भयो र उनका साना बालबालिकासहित सबै भग्नावशेषमा पुरिए ।’

अर्का एक बासिन्दा महमुद अल–शामीले भने, ‘हामीमाथि जे भइरहेको छ, त्यो मानव सभ्यताको इतिहासमै कहिल्यै भएको थिएन । अब यस युद्धको अन्त्य हुनुपर्छ ।’ गाजाको दक्षिणी सागरकिनारस्थित अल–मावासी क्षेत्रमा विस्थापित बसेको पालमाथि भएको आक्रमणमा पनि तीन जना मारिएका छन् ।

१५० भन्दा बढी स्थानमा आक्रमण

इजरायली सेनाले पछिल्ला २४ घण्टामा गाजा क्षेत्रमा १५० भन्दा बढी स्थानमा आक्रमण गरेको बताएको छ । ती आक्रमणमा हमासका लडाकु, हतियार भण्डारण केन्द्र, तोप तथा साना हतियार प्रहार गर्ने ठाउँहरू समावेश छन् ।
युद्धग्रस्त क्षेत्रमा सञ्चारको अभाव र पहुँचको कठिनाइका कारण मृतकको संख्या र घटनाको स्वतन्त्र पुष्टि गर्न सकिएको छैन ।

हजारौँको मृत्यु, अझै युद्ध अन्त्य अनिश्चित

यो युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको हो । उक्त दिन एक हजार २१९ जना इजरायली नागरिकको मृत्यु भएको थियो र २५१ जना बन्धक बनाइएका थिए । हालसम्म ४९ जना अझै बन्धकमा रहेको जनाइएको छ, जसमध्ये २७ जनालाई मृत घोषणा गरिएको छ ।
हमासको अधीनमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा ५८ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ, जसमा धेरैजसो सर्वसाधारण छन् । संयुक्त राष्ट्रसंघले पनि यी तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

गम्भीर चिन्ता : जबरजस्ती विस्थापनको योजना ?

वार्तामा संलग्न प्यालेस्टिनी स्रोतका अनुसार, हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग राखेको छ । तर इजरायलले ४० प्रतिशतभन्दा बढी भू–भागमा सेना कायम राख्ने योजना प्रस्तुत गरेको छ ।

स्रोतका अनुसार, इजरायली योजनाले हजारौँ प्यालेस्टिनीलाई गाजाको दक्षिण भागतर्फ धकेल्ने प्रयास भइरहेको छ, जसको अन्तिम उद्देश्य तिनीहरूलाई अन्य देशतर्फ जबरजस्ती विस्थापित गर्ने हो ।

इजरायली अधिकारीले आफूहरूले वार्तामा लचिलो भूमिका खेलेको तर हमास कडा अडानमै अडिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अस्थायी युद्धविराम पछि मात्रै स्थायी सम्झौताको कुरा गर्न सकिने र त्यो पनि हमासले हातहतियार छाडे मात्र सम्भव हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार