नेपाल सम्वत् ११४५ दिल्लाथ्वः ७ (असार १८, २०८२ ) जुलाई २, २०२५ ,बुधबार, बाँपीझ्याला । यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुन सक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आँकलन गरिएको जानकारी दिनुभयो । डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन उहाँले आग्रह गर्नुभयो । साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ ।
उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट १६ सय को हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नहुँदा, परीक्षण भए पनि रिपाेर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको उहाँको भनाइ छ । ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार १० हजारको हाराहारीमा डेङ्गुका बिरामी समाजमा छन् । उहाँ भन्नुहुन्छ,“तथ्याङ्कमा डेङ्गु सङ्क्रमण कम देखिए पनि समाजमा १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा नआएको हुँदा समाजमा डेङ्गु सङ्क्रमण फैलिने सम्भावना उच्च छ ।”
डा.दाहालले डेङ्गु बढ्ने अनुमान गरी कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेङ्गु नियन्त्रण गर्ने तयारी गरेको बताउनुभयो । यो आर्थिक वर्षका लागि डेङ्गु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि पाँच वर्षीय बहुनिकाय योजना तयार भई स्वीकृतिका लागि अन्तिम अवस्थामा छ । डेङ्गुबाट हुने मृत्युको जोखिमलाई कम गर्न निजी तथा सरकारी अस्पतालका १७ सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मी डेङ्गु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पताललाई तयारी अवस्थामा राखेको उहाँको दाबी छ ।
महाशाखाले डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियानलाई चुस्त दुरुस्त बनाउने काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । डा. दाहालका अनुसार डेङ्गु परीक्षणका लागि यो आर्थिक वर्षमा ५७ हजार किट प्रदेश तथा स्थानीय तहमा वितरण गरिसकेको छ । हाल ३० हजार किट प्रदेशमा पठाई सकिएको र २५ हजार किट स्वास्थ्य सेवा विभागमा मौज्दात रहेको उहाँको भनाइ छ । डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयं पनि जिम्मेवार भएकाले डेङ्गु नियन्त्रण गर्ने उपाय अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij