Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

हेलम्बु गाउँपालिकाका पाँच सय वर्ष पुराना ऐतिहासिक गुम्बा पुनर्निर्माण

हेलम्बु गाउँपालिकाका पाँच सय वर्ष पुराना ऐतिहासिक गुम्बा पुनर्निर्माण

नेपाल सम्वत् ११४५, बछलागाः ११ एकादशी, (जेठ, २०८२, २३ मे, २०२५) शुक्रबार, बाँपीझ्याला । विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका निरन्तरका परकम्पका कारण पूर्ण रूपमा ध्वस्त बनेका सिन्धुपाल्चोकका सयौँ गुम्बाको पुनर्निर्माण भइरहेको छ । तीमध्ये दर्जनौँ गुम्बाको पुनर्निर्माण भइसकेको छ । भारतलगायतका देशको आर्थिक सहयोगमा ऐतिहासिक गुम्बाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो ।

हेलम्बु गाउँपालिकाका भूकम्पले पूर्ण रूपमा ध्वस्त भएका पाँच सय वर्ष पुराना ऐतिहासिक गुम्बा पुनर्निर्माण पूरा हुने चरणमा रहेका हुन् । भारत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले पाँच वर्षअघि ठेक्का आह्वान गरेर ऐतिहासिक गुम्बाहरूको पुनर्निर्माण थालेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

भारत सरकारले प्रत्येक गुम्बालाई १० करोड रुपियाँभन्दा बढी सहयोग गरेको छ । नेपाल सरकारले ठेक्का आह्वान गर्दा रकम घटाएर टेन्डर गरेको थियो । चिरी गुम्बा पुनर्निर्माणका लागि छ करोड ४५ लाख, सेर्माथाङ गुम्बाका लागि पाँच करोड ५० लाख, तार्केघ्याङ गुम्बाका लागि सात करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त गुम्बाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । ज्यादै पुराना गुम्बामध्ये चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भइसकेको उक्त गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाले बताउनुभयो । सो गुम्बामा १५८ घरपरिवारले नियमित पूजा गर्ने गरेका छन् ।

भोटेकोशी गाउँपालिका–१, लिस्तीकोटमा रहेको चार सय वर्ष पुरानो ज्याङ्तेर लिस्ती पावो गुम्बा भारतीय सरकारको नौ करोड ८३ लाख रुपियाँमा पुनर्निर्माण भइरहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमागाउँस्थित सो गुम्बासहित छगाममा विसं १९६० मा स्थापित आनी गुम्बा पनि छ । यस गुम्बामा १२० जना तिब्बती शरणार्थी बस्दै आएका छन् । भूकम्पपछि हेलम्बु, पाँचपोखरी थाङ्पाल, इन्द्रावती गाउँपालिकामा गुम्बा पुनर्निर्माणले गति लिएको छ ।

सहरी विकास तथा भवन आयोजनाको केन्द्रीय एकाइले जिल्लाभर सात वटा गुम्बा पुनर्निर्माण गरिरहेको छ । गुम्बैगुम्बाको सहरका रूपमा परिचित हेलम्बुमा शताब्दीऔँ पुराना गुम्बा र सांस्कृतिक महŒव बोकेका सम्पदामध्ये केही अन्तिम चरणमा भए पनि अझै धेरै गुम्बा अलपत्र रहेको ह्योल्मो सांस्कृतिक अनुसन्धादाता टासिदोङ्बा ह्योल्मोले बताउनुभयो । भूकम्प गएको साढे छ वर्षसम्म पनि ७५ प्रतिशत गुम्बा त्रिपाल र टेकोकै भरमा थिए ।

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको तथ्याङ्कमा भूकम्पले जिल्लाका २५२ गुम्बामध्ये २०५ वटा क्षतिग्रस्त भएका थिए । भारत सरकारको सहयोगमा सात वटा र अन्य केही स्थानीय आफैँले ऋणधन र चन्दा सङ्कलन गरेर ठड्याउँदै छन् । बाँकी गुम्बा पुनर्निर्माण अभावमा भग्नावशेषमा परिणत भएका छन् ।

यसअघि समुद्री सतहबाट तीन हजार ७७० मिटरको उचाइमा रहेको प्रसिद्ध हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमा क्षेत्रका तीर्थस्थल आयाङ्ग्री गुम्बा तार्केघ्याङकी स्थानीय पेमा लामा ह्योल्मो परिवारको अगुवाइमा तार्केघ्याङवासी र अन्य ह्योल्मो समुदायको सहयोगमा ठड्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार