
नेपाल सम्वत् ११४५ थिंलागाः १५ ( १५ पुष , २०८१) डिसेम्बर ३०, २०२४ , सोमबार, बाँपीझ्याला ।सामान्यतय सात वर्षको बालक भाँडाकुटी खेलेर रमाइलो गर्छ तर यहाँ एक सात वर्षका बालकले कलिलो उमेरमै माटोको भाँडो बनाएर सबैलाई आश्चर्यमा पार्नुभयो । दौरा, सुरुवाल र भातगाउँले टोपीमा सजिएर थिमिका सात वर्षका ओजिल प्रजापतिले बनाउँदै गरेको माटोको पाला हेर्नेको भिड थियो । भक्तपुर मध्यपुर थिमि नगरपालिकाले शुक्रबारदेखि आयोजना गरेको ‘मध्यपुर थिमि महोत्सव’ मा ओजिलले माटोको दियो, बुद्ध स्तूपा बनाएको देख्दा सबैले उहाँको भिडियो बनाइरहेका थिए ।
महोत्सवको अन्तिम दिन आइतबार प्रजापतिले बनाउनुभएका माटाको सामान आकर्षणको केन्द्र नै बनेको थियो । ओजिलका बुवा विनोद प्रजापतिले आफ्नो पुख्र्यौली पेसामा छोराले साथ दिएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “१५० वर्षदेखि हामी यही माटोको भाँडा बनाउने पेसामा छौँ । हाम्रो संस्कृतिलाई यसरी नै जीवन्त राख्नुपर्ने उद्देश्यले यो पेसा पुस्तान्तरण हुँदै छ ।” ओजिलले दियो, रक्सी खाने पाला, बुद्धको स्तूपा, घैँटो बनाउन सक्छ उहाँले भन्नुभयो, “छ वर्षदेखि ओजिलले माटोको भाँडा बनाउन थालेको हो । महोत्सवमा प्रस्तुत गरिएको जन्मपछिका संस्कार गर्ने तरिका अर्को आकर्षणको केन्द्र बनेको थियो । नेवारी समुदायमा जन्मेको छ दिनमा गरिने न्वारन, भात खुवाइ, दुई वर्ष, चार वर्ष, इहि (बेल विवाह), गुफा, व्रतबन्ध, विवाह र जङ्को महोत्वसमा प्रस्तुत गरिएको थियो ।

महोत्सवको स्टलमा विशेष प्रकारका नेवारी खाना राखिएका थिए । त्यसबाहेक सहरका भित्री चोकमा ७५० वटा नेवारी संस्कृति झल्किने स्मारक, १५० वटा अमूर्त सम्पदा राखिएको थियो । त्यस्तै २५ भन्दा धेरै चोकमा स्थानीय बाजासहितको सांस्कृतिक झाँकी, नृत्य, भजन, गीत प्रदर्शन गरिएका थिए । नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले मध्यपुर थिमिको ठेट नेवारी कला, संस्कृति र उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनु्भयो । उहाँले भन्नुभयो, “मध्यपुर थिमि नेवार समुदायको सहर हो । यहाँ विभिन्न कला, संस्कृति छन् । बाजा छन् । परम्परागत सिप छन् । उत्पादनहरू छन् । त्यसलाई प्रवर्धन गर्नु महोत्सवको उद्देश्य हो । महोत्सवमा माटो तथा सेरामिक्सबाट बनेका माटोका भाँडा, हस्तकला, गेडागुडी, किराँत र लिच्छविकालीन १५३ मुलुकका मुद्रा, बुद्धको अस्तु पनि राखिएका छन् । स्थानीय रूपमा उत्पादन हुने मदिरा, तोरीको तेल, परम्परागत खेल, हाकुपटासीलगायतका उत्पादन पनि राखिएको थियो । त्यस्तै जन्मदेखि मृत्युसम्मका विभिन्न नेवारी संस्कार, जिब्रो छेड्ने जात्रा, बिस्केट जात्रा, अबिर जात्रा पनि महोत्वसमा प्रदर्शन गरिएका थिए । महोत्सवमा मध्यपुर थिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेसा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
थिमि शङ्खधर चोकदेखि नगदेश र बोडे हुँदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रलाई प्रदर्शनी स्थलका रूपमा प्रस्तुत गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पलिस्वां पुखू (कमलपोखरी) बोदेमा मध्यपुर महोत्सव २०८१ को समापन गर्नुभएको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij