
प्रा. डा. श्याम जोशी
हिन्दूहरूले आफ्ना दिवंगत पुर्खाहरूको उद्धारको लागि सतबिज छर्ने गर्छन् । त्यसैले मानिसहरु हालै निधन भएको व्यक्तिका परिवारलाई सतबिज छर्नु अनिवार्य जस्तै ठान्छन् । सतबिजमा धान, गहुँ, चना, मकै, जौ, तिल र औंला कोदो गरी सात थरिका अन्न वा बीउ हुन्छन् । तर कतिपय ठाउँमा मानिसहरु सुन्तला, स्याउ उखु, अम्बा र केरा जस्ता फलफूल पनि मिसाउने गर्छन् ।

चतुर्दशीको एक दिन अगाडि मार्ग कृष्ण त्रयोदशीका दिन सतबिज छर्ने तयारी गरिन्छ । यस दिन पशुपति मन्दिरमा जाग्राम बस्ने, मृतकको नाममा दीप प्रज्वलन गर्ने र भजन गाउने चलन छ । अर्को दिन बिहान सबेरै भक्तजनले मन्दिर नजिकैको बागमती नदीमा स्नान गर्छन् । त्यसपछि भक्तजनले मन्दिरको वरिपरी तोकिएको बाटोमा सतबिज छर्न थाल्छन् । व्रत बस्नेले मात्र नभएर टाढा टाढाबाट आउने मानिसले पनि पशुपति र गुजेश्वरी आसपासका जंगलमा सतबिज छर्छन् ।

सतबिज छर्ने चलनको उत्पत्ति कसरी भएको भन्ने बारे एउटा किंवदन्ती छ । कुनै समय बालासुर नामक एकजना राक्षस थिए । कुख्यात बालासुरले दाहसंस्कारका लागि घाटमा ल्याइएको शवलाई खाने र मृतकका आफन्तलाई आतंकित गर्ने गरेका थिए । यस्का कारण आफन्तले मृतकको अन्तिम संस्कार गर्न असमर्थ भएका थिए । यसबाट चिन्तित भएर मानिसहरूले बालासुरको क्रुर व्यवहारबाट मुक्त गराउनको लागि आफ्नो राजालाई पहल गर्न आग्रह गरे। जनताको पीडा सुनेर राजाले वृष सिंहलाई बालसुरलाई तुरुन्त मार्ने आदेश दिए ।
तर बालासुर वृष सिंहको साथी भएकोले बालासुरलाई मार्न हिच्किचाए । वृष सिंहले राजाको आदेशलाई अवहेलना गर्ने कुनै बाटो देखेन तर एक मित्रलाई मार्न अनिच्छुक थियो। कुनै बाटो नदेखेपछि वृषले स्लेसमान्तक वनमा भगवान शिवको तपस्या गरे । उस्को तपस्याबाट प्रसन्न भएर भगवान शिवले बालासुरलाई राक्षसी प्रबृतिबाट मुक्त गराए। अब बालसुरलाई मार्ने आबश्यकता परेन ।


यसैबीच, शिवले वृषलाई बालासुरलाई उस्ले गरेको पापबाट मुक्त गराउन सतबिज छर्ने आदेश दिनुभयो । त्यसैले, त्यसै दिनदेखि सतबिज छर्ने प्रचलन सुरु भएको थियो र यो पर्बलाई पनि उनैको नाम बाट बाला चतुर्दशी भन्न थालियो । वृषले बालासुरलाई नामारेरनै उस्को राक्षसी व्यवहारबाट निकाल्न सफल भएको थियो । त्यसैले कतिपयले यो दिनलाई असल मित्रताको दिनका रूपमा पनि सम्झन्छन् ।
मन्दिर परिसरमा लाग्ने र नगरको मुख्य बजारसम्म फैलिएको विशेष मेलामा रमाइलो गर्न विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन । त्यसैगरी विभिन्न स्थानबाट पञ्चईबाजा भनिने परम्परागत बाजा बजाउँदै बेलको पातलाई पालकीमा राखेर भीमेश्वर मन्दिरमा ल्याउंछन् । “देवी पार्वतीको पसिनाको थोपाबाट बेल रुखको उत्पत्ति भएको मानिन्छ र बेलको पात उनको बासनाले भरिएको हुन्छ ।

बेलका पातहरू भगवान शिवको प्रिय मानिन्छन् र तिनीहरूलाई अर्पण गर्नु भनेको शुद्धिकारण गर्नु र आफ्नो आत्मा देवतामा समर्पण गर्ने भाब हो।“ बेलको पात ल्याउनेहरू पनि रातभर जाग्राम बसेर र दीप बाल्छन्। जाग्राम बसेर दीप प्रज्वलन गर्नाले पितृको क्रोधबाट मुक्ति मिल्ने जनविश्वास छ ।
सतबिज छर्न जानेहरूले बिहान सबेरै नुहाएर पवित्र हुन्छन्। माथिल्लो टोलको समुहले माथिल्लो टोलको शिम्भुथानबाट यात्रा सुरु गरी भीमेश्वर, त्रिपुरासुन्दरी, नास्वर, मच्छिन्द्रनाथ, गणेश र तिलिञ्चो डाँडाको चुचुरोमा रहेको मञ्जुश्रीका देवीदेवताका मन्दिरहरु परिक्रमा गरी शुरु गरेकै ठाउँमा पुगेर समापन गर्छन् । तल्लो टोलको समुहले तल्लो टोलको शिम्भुथानबाट बाजा बजाउंदै यात्रा सुरु गरी सतबिज छर्दै यी सबै मन्दिरहरुको परिक्रमा गर्छन्।

दोलखा सहरमा छरिने सतबिजमा विभिन्न प्रकारका अन्न र फलफूल र अक्षताको मिश्रण हुन्छ। यो जात्रामा नगरवासी मात्रै नभएर बाहिरबाट आएका मानिसहरू पनि दुवै समूहमा मिसिएर आ–आफ्ना मृतकका परिवारका सदस्यको नाममा सतबिज छर्छन् । प्रचलित चलन अनुसार मृतक नयाँ भएमा आफन्तले सतबिज छर्ने चलन लाइ अनिवार्य जस्तै ठान्छन् ।
माथि उल्लेख गरिए अनुसार बाला चतुर्दशीको दिन भगवान शिवले बालासुर राक्षसको क्रुरताबाट जनतालाई मुक्त गरि सतबिज छर्ने आदेश दिएका थिए । त्यसैले मानिसहरु रातभर जाग्रम बसेर पूजापाठ, दीप प्रज्वलन र भजन गरि भीमेश्वरका तीन रूपमध्ये एक, महादेवको रुपमा भीमेश्वरको दर्शन र पुजा गर्न आउने जनविश्वास रहेको छ ।
स्मरणीय छ कि स्व. प्रा. बालकृष्ण जोशी ले २०२४ सालमा हाम्रो संस्कृति पत्रिकामा भीमेस्वरलाइ “एक शिला तीन अवतार “ भनेर व्याख्या गर्नु भएको थियो । केहि व्यक्तिहरु सत्बिज छर्ने परम्परा लाइ यसो भनेर आलोचना गर्ने गर्छन् – “एकातिर, पर्याप्त खानाको अभाबमा धेरै मानिसहरुले दुख पाइरहेका छन् भने अर्को तिर, मानबिय जिबनको लागि अति महत्वपूर्ण अन्नहरू परम्पराको नाममा खेर फाल्ने गरिन्छन् ।”



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij