Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दशै : प्राचिन शहर दोलखाको मौलिक परम्पराको हिपाथामी जात्रा

दशै : प्राचिन शहर दोलखाको मौलिक परम्पराको हिपाथामी जात्रा

हिपाथामी जात्रा कहिले सुरु भएको हो भन्ने यकिन मिति थाहा नभए पनि अठारौं शताब्दीको उत्तरार्धसम्म दोलखा राज्यमा शासन गर्ने राजाहरूले (मध्यकालमा) यो जात्रा सुरु गरेको अनुमान गरिएको छ । बडादशैंको पूर्वसन्ध्यामा टीकाको दिन दोलखा सहरमा हिपाथामी जात्रा हुन्छ । स्थानीय दोलखाको नेवारी भाषामा हिपाथामी भन्नाले रगत पिउने थामी हुने भएकाले यस पर्वलाई हिपाथामी जात्रा भनेर चिनिन्छ जुन नेपालमा कतै कुनै ठाउँमा यस किसिमको जात्रा मनाएको पाइँदैन ।

प्रा. डा. श्याम जोशी

भाषा, संस्कृती हाम्रो पहिचान भएकोले यसको संरक्षण गरौं !

दोलखा शहरको उत्तर–पूर्व डुमकोट गाउँको थामी जाति हिपाथामी जात्रामा सहभागी हुन्छन् । दोलखाका तत्कालीन शासकहरूले गुठीको व्यवस्था गरे अनुरुप दशैंमा उनीहरू दोलखा आउँछन् । करिब बाह्र जना थामीको समुह दोलखा आएर पुरान्छें टोलको दशैं घरमा बस्छन् । उनीहरुको समुहमा अभिनय गर्ने दुई ‘नाडी’ हुन्छन रगत पिउनेहरूको रूपमा; दुई ’गुरु’, जसले नाडीको आध्यात्मिक मार्गदर्शकको रूपमा काम गर्दछ र दुई ’टाउके’ जसले खड्ग जात्राको दिन राँगोको टाउको वाहकको रूपमा अभिनय गर्छन् । नवमीको दिन नाडीको रूपमा काम गर्ने दुईजनाले आफ्नो कपाल खौरेरर हिपाथामीको रूपमा गर्न तयार हुन्छन् । तिनीहरूले लंगोटी बाहेक अरू केही लगाउँदैनन् र आफ्नो शरीरलाई देवता आए जस्तो गरेर काम्न थाल्छन् ।

यसै गरी कालरात्रि पूजा गरेर बिहान सबेरै भीमेश्वर मन्दिरबाट फर्कने क्रममा पुरान्छें टोलमा गुठियारले हिपाथामी लाई फूल र अक्षता दिन्छन् । उनीहरुलाई लिएर हिपाथामीहरु लगातार काम्दै त्रिपुरासुन्दरी मन्दिरमा जान्छन् । त्रिपुरासुन्दरी जाने बाटोमा भीमेश्वर मन्दिर परिसरको ढुङ्गाको धारामा नाडीको रूपमा काम गर्ने दुई हिपाथामीहरू नुहाउँछन्, भगवान भीमेश्वरलाई श्रद्धा अर्पण गर्छन् र देविकोट भनेर चिनिने त्रिपुरासुन्दरी मन्दिरमा जान्छन् । अनुष्ठान गर्ने दुई नाडीहरूका साथसाथै अन्य हिपाथामीहरू पनि उनीहरूसँग हुन्छन् । देविकोटमा पुजारीले नाडीको सम्पूर्ण शरीरमा तेलले अभिषेक गर्ने र रातो धुलो लगाई दिने गर्छन । बाहिर निस्कने तयारी गर्दा पुजारीले पहिले ताला, चाबी, पाथी, फूल र लावाले पूजा गर्छ र त्यसपछि टाउकोमा फूल र लावा खन्याउछ। हिपाथामिहरु देवीलाई श्रद्धाञ्जली दिएपछि काम्दै मन्दिर बाहिर निस्किन्छन् ।

दोलखा शहरको हिपाथामी जात्रा दोलखाको नेवार र थामी जातीको मौलिक जात्रा हो !

मन्दिरको आँगनमा राखिएको भैसीको बाछोलाई चार खुट्टा बाँधेर पर्सौउने कार्य गर्छन् । एक कसाईले बाछोको घाँटीको मुख्य नाडी काट्छ, दुईवटा नसा निकाल्छ र रगतको धारा दुई नाडीहरूको शरीरमा छर्कन्छ । नाडीहरू अगाडि झुकेर मुखमा रगत लिन्छन र मारिएका बाछोको तीन फन्का लिएर हातमा समातेको कुरुवाको पानीले मुख धुन्छन । किंवदन्ती अनुसार भैंसीले रक्तबिर नामक राक्षसको प्रतिनिधित्व गर्ने भएकोले नाडीहरुले, देवीका सेवकको रूपमा, दानव रक्तबिरको रगत पिएर नयाँ राक्षसहरूको पुनरुत्थान रोक्छन र देवीको विजय सुनिश्चित गर्दछन् ।

रगत पिएपछि नाडीहरू काम्दै नगरको दक्षिण–पश्चिम भागमा रहेको राजकुलेश्वर मन्दिरतिर जान्छन् । अरू हिपाथामीहरू पनि तिनीहरूको साथमा जान्छन, कोही चिराग बालेर र कोही काँप्दै । यस क्रममा कुसुलेले देवीकोट मन्दिरको सिढीमा बसेर म्वाहरी (सनाई) बजाइ रहन्छ । अरु जात्रामा जस्तो यो जात्रामा पूर्ण बाजा बजाउने चलन छैन ।

हिपाथामीहरू राजकुलेश्वरमा पुगेपछि माहनेले उनीहरूलाई पूजा गर्छ, अनुहारमा तेल र सिँदूरले मलेर फेटा बाँध्छ । त्यसपछि माहनेले तिनीहरूलाई बलेको बत्तिको मुठा दिन्छ । तिनीहरूले मुठा बाट झिकेर आफ्नो अगाडि, पछाडि, बायाँ र दायाँ एक–एक बत्ति फ्याँक्छन् । यो जादू जस्तै हो कि तिनीहरूले आफ्नो मुख भित्र बाँकी बलेको बत्तिको मुठा राख्छन् र बहिर टोल तिर अघि बढ्छन् । हिपाथामीहरू बलेको बत्तिको मुठा खाएमा नाडीहरू समाधिबाट बाहिर आउँछ भन्ने बिस्वास गर्छन जबकि स्थानीयहरू बलेको बत्तिको मुठा खानु थामीको अंतर्निहित शक्तिको प्रतीक हो ।

कुसुले बहिरको डबलीमा बसेर मवाहरी फुकीरहन्छ । डबली मुनि भुइँमा रांगो बाँधेर राखिएको हुन्छ । हिपाथामीहरुले रांगो लाई तीन पटक घुम्छन र तीन पटक लट्ठीले पिट्छन् । यससँगै उनीहरुको त्यो दिनको प्रदर्शन समाप्त हुन्छ । त्यसपछि उनीहरु खिङ्गलचा नामक धारामा गएर रगतले लतपतिएको शरीर धुन नुहाउँछन् । त्यसपछि, सम्पूर्ण समूह आफ्नो “दशैं घर” मा फर्कन्छ । यससँगै हिपाथामी जात्राको अन्त्य हुन्छ तर एकादशीको दिन मनाइने खड्गजात्रा सम्म हिपाथामीको भूमिका कायम रहन्छ ।
खड्ग जात्रा पर्वले देवता र दैत्य महिषासुरबीचको युद्धलाई चित्रण गर्छ । खड्ग जात्राको दिन गुरु र नारी दशैं घरमा काम्दै गरेको बेला छ जना खाँड़ो (योद्धा) भित्र पसेर हिपाथामी लाई आफ्नो तरवार द्वारा अभिवादन गर्छन् । त्यसपछि तिनीहरू भीमेश्वर मन्दिर पछाडि रहेको त्रिपुरासुन्दरी मन्दिर तर्फ सँगै अघि बढ्छन् ।

मन्दिरको परिक्रमा गरेर पूरै समूह देविकोटको चोकमा प्रवेश गर्छ । थामीहरू पनि मन्दिरमा प्रवेश गर्छन्, गुरु र नाडीले देवीलाई प्रसाद चढाउँछन्। करिब आधा घण्टापछि खाँडोको पहिलो समूह आइपुग्छ । तिनीहरू प्रसाद चढाउन भित्र जान्छन्। यसैबीच, थामीहरू आएर बाहिर प्रवेश द्वारमा बस्छन् जबकि खाँडोहरूले माथिको झ्यालबाट हेर्छन् ।

केही समयपछि देवीका पुत्र भटिङखारा आएपछि खाँडोहरू त्रिपुरासुन्दरी मन्दिर बाट निस्कन थाल्छन् । पहिले दुईजना हिपाथामी माटोको भाँडोमा दुई राक्षसको मुकुण्डो लिएर बाहिर निस्कन्छन् र दुईजना हिपाथामी “टाउके” काँधमा दुईवटा राँगोको टाउको लिएर निस्कन्छन् । खड्ग जात्रा पर्वमा टाउकेले भीमेश्वर मन्दिरबाट ल्याइएका राँगोको टाउको र देविकोटमा अघिल्लो दिन बलि चढाइएको राँगोको टाउको बोकेको हुन्छ । हिपाथामीहरु मन्दिर परिसर बाट बाहिर आएर तल तिर पर्खेर बस्छन ।

त्रिपुरासुन्दरीको रुपमा पुजारी मन्दिर परिसरबाट बाहिर निस्कने बित्तिकै जात्रा पुनः धूमधामका साथ सुरु हुन्छ। दुङ्गल, नास्वर र पिङ्गल टोलबाट खाँडोहरु संगसँगै टाउकेहरू अगाडि बढ्छन्। अन्त्यमा राजकुलेश्वर मन्दिरमा जात्रा समाप्त हुन्छ । राजकुलेश्वरमा टाउकेहरूले मरेका राँगोको पुच्छर काटेर काटिएका टाउकोको मुखमा हाल्छन्। खाँडोहरुले राक्षसहरूलाई तर्साउनका लागि श्लोक जप गरेपछि सम्पूर्ण जात्राको समापन हुन्छ ।

द्वादशीको दिन देविकोटका पुजारीले हिपाथामीका लागि भोजको व्यवस्था गर्छन्। भोज खाएपछि देवीकोट मन्दिरको चार कुनामा पातमा राखेर हिपाथामीहरूले भोज चढाउँछन् । मन्दिरका पुजारी भित्र तिर हेरेर झ्यालमा बसेको हुन्छ भने हिपाथामीहरू आँगनमा बस्छन्। स्थानीय संस्कृतिविद् तीर्थनारायण जोशीका अनुसार हिपाथामीहरुले मन्दिरको परिक्रमा गरिसकेपछि राम्रो फसल हुने नहुने, रोग लाग्ने नलाग्ने र प्राकृतिक प्रकोपका सम्बन्धमा चालु वर्ष के हुने हो भनी भविष्यवाणी गर्ने गर्छन् । त्यसपछि भीमेश्वर मन्दिरमा गएर भगवानको दर्शन गर्छन र दशैं घर फर्केर आफ्नो गाउँ फर्किन्छन् ।

दोलखा शहरका नेवारहरूले मनाउने दशैं पर्वमा डुमकोटको थामी समुदाय कसरी जोडिन आयो ?

दोलखा सहरका नेवारहरूले मनाउने दशैं पर्वमा डुमकोटको थामी समुदाय कसरी जोडिन आयो भन्ने बारे एउटा मिथक छ । एक पटक दोलखाका राजाका सेवकहरूले एउटी सुन्दर थामी केटीलाई गुफामा एक्लै ध्यान गरिरहेको देखे। उनको सौन्दर्यले मोहित भएर दोलखा सहरमा ल्याएर राजा समक्ष प्रस्तुत गरे । राजाले तुरुन्तै उनीसँग प्रेम गरे र थामी केटीसँग विवाह गरे । केही महिनापछि उनका भाइहरू उनको खोजीमा दोलखा आए । उनीहरूले उनलाई भेट्टाए र गोप्य रूपमा उनको गाउँमा लगे । तर, त्यसबेला उनी राजाको सन्तानबाट गर्भवती थिइन् । समयमै उनले जुम्ल्याहा बच्चा जन्माइन् । थामिहरूले हिपाथामीको रूपमा काम गर्नेहरू ती जुम्ल्याहाका सन्तान वा दोलखाका राजाको सन्तान भएको दाबी गर्छन् । एक बिदेशी अनुसन्धानकर्ता सारा स्नेइडरम्यान का अनुसार – म यो कुरा ठोकुवा गरेर भन्न सक्छु कि “दशमीको दिन छुट्टै अनुष्ठानको रूपमा गरिने यो जात्रा दोलखाको लागि अद्वितीय छ ।

यसरी आफ्नै मौलिकता, परम्परा र महत्व रहेको हिपाथामी जात्रा, केही वर्षदेखि आफ्नो स्वामित्वमा रहेको गुठी जग्गा उच्च जातिका मानिसले कब्जा गरेको बहानामा केही थामीहरूले दोलखामा हिपाथामी जात्रागर्न आउन छाडेका छन् । दोलखाका समाजसेवीहरू यो जात्राको पुनरुत्थान गर्न पहल गरिरहेका छन् । अनादिकालदेखि मनाइने अनुपम पर्व भएकाले स्थानीय तथा प्रदेश सरकारले हरेक वर्ष यो पर्वलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न स्थायी कोष स्थापना गरी पुनरुत्थान गर्नुपर्छ । यद्यपि, केही थामीहरूले दोलखाका तत्कालीन शासकहरूले ल्याएका रीतिरिवाजसँग आबद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित भएको ठान्छन् ।

यसरी यो जात्रा संचालनमा दोलखाका नेवार जातीको जति जिम्मेवारी र दायित्व रहेको छ । त्यसै गरी डुमकोटको थामी जातीको पनी त्यही अनुसारको जिम्मेवारी र दायित्व भएकोले यस जात्रा पुनः संचालनको लागि यस बाँपिझ्याला डटकम अनलाईन पत्रिका मार्फत सम्वन्धीत निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार