
नेपाल सम्वत् ११४४, गुँल्लाथ्वः २ (२२ साउन, २०८१) मंगलबार, बाँपीझ्याला । प्राचिन शहर दोलखामा आजबाट शुरु भयो नेवारहरुको पर्व गुँल्ना । यसरी प्रचिन शहर दोलखामा बिहानी मन्दिर परिक्रमा (देउ उईरी) प्रारम्भ भएको छ ।
दुई समूहमा एकत्रित भई तल्लो टोल र माथिल्लो टोलका स्थानिय वासिन्दाहरुबाट दोलखामा मन्दिर परिक्रमा (देउ उईरी) चलन रहेको छ । जस अनुसार आजदेखि प्रारम्भ भएको मन्दिर परिक्रममा (देउ उईरी) प्रारम्भमा माथिल्लो टोलबाट १४ जना स्थानिय युवाहरुको सहभागी रहेको छ भनी भीमेश्वर नगरपालीका वडा नं. २ का निवर्तमान वडाध्यक्ष समाजसेवी विराजमान श्रेष्ठले बताउनु भयो ।
यसै गरी प्रारम्भ भएको मन्दिर परिक्रममा (देउ उईरी) मा तल्लो टोलबाट १३ जना स्थानिय युवाहरुको सहभागीता रहेको छ भनी समाजसेवी ज्ञानेन्द्र प्रधानले बताउनु भयो ।

आज दिउँसोदेखि जो डाकस नचाईने समाजसेवी विराजनमान श्रेष्ठले बताउनु भयो । आज हर्ष उल्लासका साथ स्थानिय युवाहरुको सहभागीतामा मन्दिर परिक्रमा देउ उईरी परम्परा शुरु भएको समेत उहाँले बताउनु भयो ।
दोलखामा गुल्ना पर्व शुरु भई बिहानी मन्दिर परिक्रमा प्रारम्भ :
यसरी दोलखाको इतिहासमा र विभिन्न धर्मग्रन्थहरुमा पढ्दै जाँदा दोलखाको चाडपर्व, मौलिकताहरु अनेकौं पाईन्छ । जुन कुरा दोलखाको ऐतिहासिक रुपरेखा, कालिन्चोक युवा क्लवद्वारा प्रकाशित गरिएको “आँखा” पत्रिकाको विभिन्न अंकहरुमा पढ्न सकिन्छ । त्यसै गरि दोलखाको मूल जात्राको अवलोकन गर्ने नै हो भने साउन शुक्ल पक्षको त्रयोदशीको दिनदेखि कृष्णाष्टमीको दिन सम्म दोलखामा नै गएर हेर्दा वास्तविक झलकहरु छर्लंग हुनेछ ।
यस बारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का निर्वतमान वडाध्यक्ष विराजमान श्रेष्ठले यसरी भन्नु हुन्छ, धर्म, संस्कृती परम्परा नेवार जातीको पहिचान भएकोले आजदेखि गुल्ना पर्व शुरु भएको छ । जुन परम्परा र बिधी अनुसार आजदेखि दोलखा शहर भित्र रहेका मठ–मन्दिरहरुको स्थानिय बाजागाजा सहित परिक्रमा शुरु गरिएको छ । यसमा तल्लो टोलबाट एक समुह र माथिल्लो टोलबाट एक समुह बाजा बजाएर मन्दिर परिक्रम गर्ने गरिन्छ । जुन कालिञ्चोक भगवती माताको मन्दिरमा दर्शणको लागि पुर्णे भन्दा अघिल्लो दिन जाने परम्परा छ त्यसमा डापा खलक भएर अहिलेको समुह जाने प्रचलन रहेको छ भनी बताउनु भयो ।

यो गुँला (गुल्ना) जात्राको दोलखाको डापा खलकको बारेमा भन्नुपर्दा यहाँको नेवार जातीयतामा मतभेदमा मतभिन्नता छैन, यसमा जोशी, श्रेष्ठ, प्रधान, मास्के, राजभण्डारी, तुलाधर आदिले संयुक्त रुपमा सहभागी जनाउँछन् । यस खलकमा सनै फुक्नेमा नेवारी वर्गकै कुसुले थरिका हुन्छन् । तर यही हिसाबले उपत्यकाका नेवारहरुमा भने फरक तरिका देखिन्छ । उपत्यकाको विभिन्न ठाउँमा किर्तिपुर, शंखरापुर (साँखु) शिखरापुर (फर्पिङ), टोखा मध्यपुर ठिमी, बोडे एवं पनौती बनेपाको नेवार साथीहरू संग बुझेर हेर्दा बज्राचार्य, मानन्धर, खड्गी, महर्जन आदि थर हुने नेवारहरुले थरपिच्छेकै ढापा खलक भएको र प्रत्येकले प्रत्येकको सिमांकन क्षेत्रमा परिक्रमा गर्ने तर बार र तिथि मिलाएर अलगअलग समुहले स्वयम्भूमा अनिवार्य पुग्नुपर्ने नियम राखिएको छ ।
गुँल्ना पर्व र मन्दिर परिक्रमा :
नेपाल अहिले लोकतन्त्रको आवागमन पश्चात् धर्म निरपेक्ष अन्तर्गत केही मात्रामा चलि आए तापनि अधिकांशले हिन्दू धर्मलाई नै विशेष महत्व दिंदै हिन्दूकै पर्याय बोकेर हिन्दूकै गुणगान गाएर हिन्दूलाई नै महत्वपूर्ण ठानेर जात्रा, पर्व मेला गर्दै र मान्दै आएका छन् र मानिदै आएका छौं ।
हामीले अर्थात् सम्पूर्ण नेपालीले एक अर्थमा हातमा संस्कृति र परम्पराको मुशल र टुकी बोकेर आगन्तुक बत्तीको खोजीमा हिंडिरहेका छौं भन्दा फरक नपर्ला । किनकि हामीलाई थाहा छ सुन्दै आएका छौं, भोग्दै आएका छौं र विचिन्न मन्त्र उच्चारण गरेर पुज्दै आएका छौं कि हिन्दुराज्यको हिसाबले देवी देवता भनेर ब्रम्हा विष्णु, महेश्वर नै हाम्रा प्रमुख देवता हुन् भनेर ।
अनि लक्ष्मी, सरस्वती, भगवती र पार्वतीलाई महादेवीको रुपमा आराधना स्तुति गर्छौ यसको लगायत करुणा माईलाई पनि देवीकै रुपमा पुज्छौं तर तमाम नेवार जातीयतामा प्रमुख मानिने नेवारहरु मध्ये शाक्य र बज्राचार्य अनि तुलाधर, गुरुवाचार्य, कर्माचार्य र भट्टाचार्य पनि नेवार जातीय हिसाबमा माथिल्लो श्रेणीमा हुन्छन् । जसलाई नेपालको उत्पत्तिको पहिलो जातीयताका आधारमा मान्न सकिन्छ कि नेपालको लुम्बिनी भन्ने ठाउँ विश्व प्रसिद्ध छ, जहाँ ईशा पूर्वको शुरुआतमै शाक्य राजा शुद्धोधनले राज्य गरेका हुन् र उनैको छोरा सिद्धार्थ हो ।

उनै सिद्धार्थ गौतमले सांसारिक मायाजालबाट अलग्गिएर मानवीय जीवन लीलाको मूल अर्थ राज्य सत्तामा रहेर शासन चलाएर शोषण गर्नु होइन भन्ने होइन बरु मानव हुनुको मुल आशय के हो र मानवले मानव माथि परास्त नीति अपनाएर अन्याय अत्याचार गर्नु उचित होइन यसलाई कसरी मानवीय ज्ञानको मार्ग खोल्न सकिन्छ भन्ने उद्देश्यले एकमन र एक ध्यान गरेर शान्तिपूर्ण वातावरण र शान्त निश्चलतामा बाँधिएर सबैमा सतबुद्धि प्राप्ति गर्नु नै बुद्धतब हो ।
यसै गरी ज्ञान दिलाएको कारणले उनी महात्मा बुद्ध बने र संसारले उनलाई बुद्धिशक्तिकोरुपमा पहिचान गर्न सकुन् भन्ने अभिप्रायले मन्जुश्रीले बुद्धको ज्ञानको प्रचार खातिर कुनै जनावरको सिङलाई शंखको रुपमा प्रयोग गरेर फुक्दै देश संसार घुम्दै ठाउँ ठाउँमा बुद्धको प्रति मूर्तिस्वरुप ससाना चैत्यहरुको निर्माण गर्दै जाने क्रममा मन्जुश्रीले नै तिलौराकोट देखि नेपालका अधिकांश ठाउँहरु घुम्दाघुम्दै ९ महिना लगाएर नेपाल राज्यको पूर्वी भागमा रहेको प्राचीन नगर अभयपुरको एक बस्तीको उत्तरी भाग तिलिन्चो डाँडामा पुगेर विश्राम गरेकोे र यति लामो समयको यात्राबाट थकित भएकोले विश्राम गर्ने क्रममा मंजुश्रीको पाईलाको छाप पर्न गएको हुनसक्छ ।
जुन पदछाप अहिलेसम्म यथावत छ । तत्कालीन समयमा दोलालघाट सम्म फैलिएको दोलखा राज्यको सो ठाउँमा नेवारहरुको बस्ती भएको कुरा बुझेर नै मंजुश्रीले त्यहाँका सबै नागरिकलाई जागरुक बनाउन टोल टोल घुमेर बुद्धको ज्ञान र महिमा प्रचारप्रसार गर्ने क्रममा एक पछि अर्को गर्दै चैत्य, स्तुपा निर्माण गरेर यो अवधिमा रमाइलो गर्ने अभिप्रायले मनोरञ्जन पनि गर्दै जाँदा यो गुँला पर्व ( दोलखाको स्थानीय भाषामा गुन्ला ) मनाईएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसको तात्पर्य के हो भन्दा कार्तिक महिनाको शुरुआतमा शुरु गरेको मंजुश्रीको यात्रा नौ महिनापछि चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न त्यति समय लाग्नसक्ने अनुमान गर्न सकिन्छ ।
काठमाडौं उपत्यकाको उत्पतिकाललाई बिचार गर्दा चोभारको डाँडो काटेर उपत्यकामा मानव बस्ती बसाउनु पूर्व नै मंजुश्रीले दोलखाको यात्रा गरेर बुद्ध धर्मको प्रचारप्रसार गरेको र यो गुँला (गुन्ला) पर्वको शुरूवात भएको हुनसक्छ ।
इतिहासका बिचार भाव संगै हेर्दा दोलखाको मूल जात्रा र चाडपर्व आजैबाट शुरु हुन्छ जुन सिठीनखतको दिनमा बन्द भएको थियो । आजैबाट दोलखाको प्रमुख दुईवटा टोल माथिल्लो टोलको चैत्य स्तुपा र तल्लो टोलको कोर्छें गुर्कोटसंगैको टोलबाट स्थानीय युवाहरूको समुहले ( ढापा खलक ) बाजा बजाएर सबै चैत्य, स्तुपा र मन्दिरलाई परिक्रमा गर्ने चलन छ ।
यसलाई स्थानीय भाषामा “ द्येउ उइरी“ भनिन्छ । यसबाट एउटा कुरा के बुझ्न सकिन्छ भने यो गुँला (गुल्ना) पर्वले बुद्ध धर्मको गरिमालाई उजागर गर्दै निरन्तर स्मरण गराउने हो भनेर बुझ्दा उचित होला, किनकि यो पर्वमा पर्वको अवसरमा बुद्धको स्तुपा परिक्रमा लगायत बज्राचार्य वर्गले पञ्चदान ग्रहण गर्ने कार्यक्रम पनि गरिन्छ र यसलाई स्थानिय स्तरमा पाङ्जा पुर्णिमाको रुपमा मानिन्छ ।
अर्को तरिकाबाट भन्नुपर्दा यो ढापा खलकले बाजा बजाएर सबै देव देवी संग आराधना गरेर कुनै पनि दैवीप्रकोप नहोस्, रोगव्याधि नलागोस् र अदृश्य शक्तिको आँखा नपरोस् भनेर स्थानीयहरुले आराधना गरिएको रुपमा हेरिन्छ , अझै भन्नुपर्दा सत्ययुग तिर राक्षस वर्गले अनेकौं रुप धारण गरेर मानवलाई अति दुख दिएकोले देवी देवतासंग गुहार मागेको पनि भनिन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij