
नेपाल सम्वत् ११४४, दिल्लागाः ८ (१३ साउन, २०८१) आईतबार, बाँपीझ्याला । वरिष्ठ निर्देशक, कलाकार एवं रचनाकार पवन जोशीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । लहना मिडियाले शुक्रबार काठमाडौंमा पवन जोशी सन्ध्या ११४४ कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको हो ।
नेपाली र नेपालभाषा गरी जोशीको रचनामा सय वटा गीत रेकर्डिङ गरिएको छ । यस अवसरमा जोशीलाई भव्य सम्मान गरिएको हो । सम्मानको क्रममा लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जोशीलाई दोसल्ला ओढाए भने बागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सम्मान पत्र प्रदान गरे ।

लहना मिडियाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले फुलमाला लगाइदिए भने वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष न्हुछेँकाजी महर्जनले खादा ओढाइदिए ।
सो अवसरमा जोशीलाई नेवाः संस्कृति अनुसार ख्येँय् सगं (अण्डा सगुन) दिएर समेत सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि बोल्दै वरिष्ठ निर्देशक, कलाकार, रचनाकार जोशीले आफ्नो रचनामा सय वटा रेकर्डिङ भएको अवसरलाई उत्सवको रुप दिएकोमा आयोजक साथै सबैलाई कृतज्ञता व्यक्त गरे ।
आफुले कला क्षेत्रमा लागेर बटुलेको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आफु इच्छुक रहेको भन्दै कोही सिक्ने इच्छा लिएर आएमा आफुले सकेको र जानेको सिकाइदिने जोशीले उद्घोष गरे ।
सो अवसरमा बागमति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री महर्जनले कला क्षेत्रको संरक्षण र कलाकारको सम्मानको लागि राज्यबाट ठोस पहल गर्नको लागि आफुले प्रयास गर्ने र मन्त्रीपरिषदमै यो कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष महर्जन, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष बलामी लगायतले जोशीको कला क्षेत्रमा योगदानको प्रशंसा गर्दै आ–आफ्नो विचार राखेका थिए ।
लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले लहनाले विगतमा पनि कलाकारको सम्मानमा कार्यक्रमहरु गर्दै आएको र कला र कलाकारको सम्मानमा निरन्तर सक्रिय भइरहने प्रतिवद्धता जनाए ।
सोही कार्यक्रममा प्रवेशमान शाक्य, सोनी राजभण्डारी, सतिश महर्जन, रत्नशोभा महर्जन, कृष्ण महर्जन, सरस्वती मानन्धर, स्वतन्त्र महर्जन, सरीता महर्जन, राजेन्द्र शाक्य, अगिना तण्डुकार, अनिल तुलाधर, शुद्धलक्ष्मी श्रेष्ठ, जयसिद्धिलक्ष्मी बज्राचार्य लगायतका गायक गायिकाले जोशीबाट रचित गीत प्रस्तुत गरेका थिए ।
त्यस्तै आराध्यालक्ष्मी खड्गी, अनु महर्जन, किशोर शाही र मीरा डंगोलले जोशीबाट रचित गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा जोशीको ११ वटा गीत गाएका कृष्ण महर्जन, ५ दर्जन बढि गीत रेकर्डिङ गरेका विजय मास्की, ५ दर्जन बढि गीतमा संगीत दिएका अनिल तुलाधर र जोशी १००औं गीत गाएका सरिता महर्जनलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

जोशीले २०२७ सालमा नेपालभाषाको डबली नाटकमा खेल्दै कला क्षेत्रमा प्रवेश गरेका थिए । नेपालको पहिलो मातृभाषी चलचित्र ‘सिलु’ मा समेत अभिनय गरेका जोशीले नेपालभाषाको फिल्म ‘बांलाः मयजु’ बाट उत्कृष्ट निर्देशकको रुपमा राष्ट्रिय अवार्ड समेत पाएका छन् ।
उनको निर्देशनमा करीब ११५ वटा म्यूजिक भिडियो निर्माण भइसकेको छ । उनले थुप्रै नेपाली चलचित्रमा पनि खलनायकको भूमिका अभिनय गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij