
७ बैशाख, बाँपिझ्याला, दोलखा । साक्षात भगवान दोलखा भीमेश्वर मन्दिरमा चुडामणी (चुल्काप्सी) स्तम्भ जिर्ण हुर्दै गएकाले ६ बैशाख २०८१ मा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले नयाँ चुडामणी व्यवस्थापन गरिएको छ । दोलखा भिमेश्वर मन्दिरको पछाडी रहेको सालको ९/ ९ इन्चको लम्बाइ र चौडाइ, जमिन मुनी ५ हात र जमीन माथि देखिनु पर्ने १६ हात (३२ फीटको) उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ ।

भीमेश्वर भण्डारमा रहेको ताम्रापत्र स्वर्णपत्रको आधारमा यो स्तम्भ फेरिएको लिखित प्रमाणको अनुसार वि.सं. १७११, वि.सं. १७७३, वि.सं. १८२६ सालहरुमा यो स्तम्भ फेरिएको पाइन्छ । यसरी अनुमान गर्दा करिव ५० देखि ७० वर्षको अन्तरालमा चुडामणी (चुल्काप्सी) स्तम्भ फेरिएको पाइन्छ । स्तम्भ फेरिएको लिखित प्रमाणहरु पाइएको छैन । पछिल्लो पटक हालको यो स्तम्भ २००९ साल असारमा फेरीएको हो र करिव ६१ साल पछि २०७० चैत्र महिनाको २० गते सो चुडामणी स्तम्भ ढलेको थियो ।

त्यसबेला यो चुडामणी भीमेश्वर नगरपालिका वडा नं. २ घर भै हाल काठमाडौं लाजिम्पाट निबासि श्री नरेन्द्रबहादुर श्रेष्ठ सहित उहाँका परिवारको संयुक्त सहयोगमा मिति २०७० साल चैत्र २३ गतेका दिन स्तम्भ पुनः प्रतिस्थापना गरिएको थियो भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनु भयो ।
साथै चुडामणी स्तम्भ ढल्यो भने नयाँ स्तम्भ नठड्याउन्जेल सम्म भीमेश्वरमा कोरा पुजा बाहेक अन्य पुजा गर्न नहुने मान्यता रहेको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यसरी वि.सं. २०७० साल चैत्र २३ गते प्रतिस्थापन गरिएको चुडामणी (चुल्काप्सी) पुनः ढल्ने र बाँच्ने सम्भावना बढ्दै गएकोले अहिले नयाँ चुडामणी (चुल्काप्सी) को व्यवस्थापन गर्न लागिएको हो भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
सिन्धुली जिल्ला कमलामाई नगरपालकिा वडा नं. ७ स्थित माजिटार स्थित श्री ९ बाहीनी अड्डाको कम्पाउण्डमा रहेको रुख जिल्ला बागमती प्रदेश वन मन्त्रालय अन्तर्गत वन डिभिजन कार्यालय सिन्धुली लगायत सम्वन्धीत निकायको स्विकृतबाट चुडामणी (चुल्काप्सी) काठ उपलब्ध गराईएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका उपाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।


यसरी चुडामणी (चुल्काप्सी) को लागि रुख काट्न जादा दोलखाको स्थानिय बाजागाजा, भजन मण्डली टोली, पुरोहित र व्यवस्थापन समितीका पदाधिकारी, सदस्यहरु, सल्लाहकार तथा शुभचिन्तक महानुभाव दोलखावासीहरुको उपस्थिती रहेको थियो ।
यस पूजा कार्यक्रम विशेष सहयोग गर्नु हुने भीमेश्वर नगरपालीका वडा नं. ४ घर भई हाल श्री ९ बाहीनी अड्डामा कार्यरत क्याप्टेन गणेश कार्कीको विशेष सक्रियता र सहयोगमा बाहिनी अड्डा उक्त चुडामणीको रुख कटान गर्न सहयोग पुगेको थियो भनी उपाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो । यस कार्यको लागि उहाँ लगायत सवैमा हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
यसै गरी उक्त चुडामणी ल्याउनको लागि स्थानिय दोलखाका स्थानिय पुरोहीत काशिनाथ सापकोटा जेष्ठ नागरिक दिक्षाकर्म थाकती जेष्ठ नागरिक यज्ञकुमार प्रधान र बाहीनी अड्डाका पुरोहित बाजेको सामूहिक पाठपूजा र दिक्षाकर्म पूजाबाट ५ गते बेलुका जागरम पूजा गरिएको थियो ।
यस अवसरमा संस्कृती प्रेमी भगवानदासको नेतृत्वमा भजन मण्डली र स्थानिय बाजागाजा टोलीहरुको सहभागीता रहेको थियो । यसरी बाजागाजा सहित ५ र ६ गते पूजा पुरोहीत, थाकतीबाट पूजा सम्पन्न पश्चात व्यवस्थापन समितीका उपाध्यक्ष विराजमान श्रेष्ठले रुख कटानको लागि विधिवत पूजा गरीएको थियो ।

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीको तर्फबाट चुडामणी (चुल्काप्सी) का लागि रुख उपलब्ध गराउन सहयोग गर्नु हुने बागमती प्रदेश मन्त्रालय, सचिवज्यूहरु जिल्ला बन डिभिजन कार्यालय सिन्धुली, सिन्धुली जिल्ला प्रमुख जिल्ला अधिकारी, श्री ९ बाहीनी अड्डाका सेना प्रमुख, प्रहरी प्रमुख लगायत स्थानिय भजन मण्डली, बाजा टोलीहरु लगायत उपस्थिती भई सहयोग र सद्भाव राख्नु हुने सम्पूर्णमा आभार सहित धन्यवाद व्यक्त गरिएको छ भनी कोषाध्यक्ष शुरेस श्रेष्ठले बताउनु भयो ।

यसरी सम्पन्न पूजा कार्यक्रममा दोलखाबाट भिमेश्वर व्यवस्थापन समितीका उपाध्यक्ष विराजमान श्रेष्ठ, कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठ, सदस्य ज्ञानेन्द्र प्रधान, सल्लाहकार अधिवक्ता प्रवीण प्रधान, पदेन सदस्य एवं भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, जेष्ठ नागरिक दिक्षाकर्म थाकती यज्ञकुमार प्रधान, पुरोहित काशिनाथ सापकोटा, भजन मण्डलीमा भगवानदास श्रेष्ठ, बिरबहादुर शिवभक्ती, तुलसी नारायण जोशी, प्रेमकृष्ण श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, मनिल श्रेष्ठ, मुकेश गिरी, बाद्यवादमा ईन्द्रलाल श्रेष्ठ, टहलुवा श्यामकुमार श्रेष्ठ, कालिमन्दीर पूजारी सुरज श्रेष्ठ, सहनाई बिरबहादुर कुसुले र बाँपिझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानको सहभागीता रहेको थियो ।
चुडामणी (चुल्काप्सी) के हो ?
प्राचिन शहर दोलखा स्थित साक्षात भगवान भिमेश्वर भगवान रहेको छ । जसको आफ्नै महिमा रहेको पाईन्छ । बागमती प्रदेश, दोलखा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं. २ अन्तर्गत तत्कालिन दोलखा स्वतन्त्र राज्यको राजधानी द्वालखा, साविक पूर्व दोलखा गाविस वडा नं. ९ हाल भीमेश्वर नगरपालिका वडा नं. २ मा अवस्थित दोलखाको श्री भीमेश्वर (भीमसेन) हिन्दु राज्यको महत्वपूर्ण धार्मिक तीर्थ स्थलहरु मध्ये एक धार्मिक धार्मीक तीर्थ स्थलको नामबाट प्रख्यात रहेको छ ।

आदिम कालदेखि नै हिन्दु धर्मावलम्विहरु साथै विभिन्न धर्मावलम्विहरुको आस्थाको केन्द्रविन्दु रहेको श्री भीमेश्वर (भीमसेन) मन्दिर विश्वमा नै अति प्रख्याती पाएको धार्मिक तीर्थ स्थल मध्ये एक हो । प्राचिन काल देखि नै यस शिलालाई एक शिला तिन अवतार मान्दै आएकोमा हाल आएर आएर अध्ययनबाट आदिशक्ति, महाशक्ति, परमशक्ति, देवादिदेव सहस्र अवतारको अवतार श्री भीमेश्वर, श्री भीमसेन, श्री भीमाशङ्कर ज्योतिलिङ्ग, श्री भीम नारायण, श्री भीम भैरव, श्री भगवती, श्री भीमराणेश्वर आदि निरञ्जन निराकार भगवानको रुपमा पुज्ने गरिएको छ ।
यसरी ख्याती प्राप्त दोलखा भिमेश्वर अनि मन्दिरको पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, जमिन मुनी ५ हात र जमीन माथि देखिनु पर्ने १६ हात (३२ फीटको) उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ ।
भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पूजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ ।
मेषबली तथा अन्य वली पूजा गर्दा, भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै गरि रुद्र महादेवको रुपमा रुद्रि पूजा गर्दा डिकी डोरा (काँचो धागोले निर्मित डोरा) भीमेश्वरको शिलाबाट उक्त स्तम्भमा बाँधिन्छ ।

यसो गर्नुको तात्पर्य के हो भने भक्तजनहरुले जुन भगवानको आराधाना गर्छन सोहि भगवान त्यसैको मार्ग भएर शिलामा विराजमान हुन्छ र अन्य भगवान चुडामणी स्तम्भको आसनमा गएर बस्छ भन्ने कम्विदन्ती रहेको छ । यसै गरी यो स्तम्भ सालको काठबाट निर्मित भएको हुनाले निश्चित अवधिमा ढल्छ र स्तम्भ फेर्नु पर्दछ । यो स्तम्भ अँधेरीको जङ्गलबाट ल्याउनु पर्ने इतिहासमा उल्लेख रहेको छ ।

यसरी भीमेश्वर भण्डारमा रहेको ताम्रापत्र स्वर्णपत्रको आधारमा यो स्तम्भ फेरिएको लिखित प्रमाणको अनुसार वि.सं. १७११, वि.सं. १७७३, वि.सं. १८२६ सालहरुमा यो स्तम्भ फेरिएको पाइन्छ । यसरी अनुमान गर्दा करिव करिव ५० देखि ७० वर्षको अन्तरालमा चुडामणी (चुल्काप्सी) स्तम्भ फेरिएको पाइन्छ । स्तम्भ फेरिएको लिखित प्रमाणहरु पाइएको छैन । पछिल्लो पटक हालको यो स्तम्भ २००९ साल असारमा फेरीएको हो र करिव ६१ साल पछि २०७० चैत्र महिनाको २० गते सो चुडामणी स्तम्भ ढल्यो । उक्त स्तम्भ ढल्दाको समयमा विहानको करिब ११ बजेको समय थियो विहान झकमक घाम लागेको थियो, एक्कासी आकासमा कालो बादलले ढाक्न थाल्यो हावाहुरी चन्न थाल्यो । शनिवारको दिन भएका कारण यस मन्दिरमा दर्शन गर्नेहरुको बाक्लै भिड थियो । मौसम एक्कासी परिवर्तन भएपछि दर्शनार्थीको भीड सुरक्षाको लागि सुक्षित स्थान तिर लाग्यो । सोहि समयमा एक्कासी अतिठूलो आवाजका साथ नैरित्य कोण पारेर उक्त चुडामणी स्तम्भ ढल्यो । पछि तुरुन्तै मौसम सफा भयो । उपस्थित सम्पूण दर्शनर्थी अचम्बीत भयो ।

त्यस पछि विधी विधान पूर्वक दोलखा जिल्ला शहरे गाविस वडा नं. ५ स्थित इन्द्रवती तिलखोरिया सामुदायीक वन उपभोक्ता समूहको सहयोगमा प्राप्त सालको रुखबाट स्तम्भ निर्माण गरि भीमेश्वर नगरपालिका वडा नं. २ घर भै हाल काठमाडौं लाजिम्पाट निबासि श्री नरेन्द्रबहादुर श्रेष्ठ सहित उहाँका परिवारको संयुक्त सहयोगमा मिति २०७० साल चैत्र २३ गतेका दिन स्तम्भ पुनः प्रतिस्थापना गरिएको थियो । चुडामणी स्तम्भ ढल्यो भने नयाँ स्तम्भ नठड्याउन्जेल सम्म भीमेश्वरमा कोरा पुजा बाहेक अन्य पुजा हुँदैन ।
यसरी साक्षात भगवान भीमेश्वर मन्दिरको पछाडी रहेको चुडामणी (चुल्काप्सी) अहिले जिर्ण अवस्थामा भन्दापनि घामपानीको कारणले चुडामणीको फेदमा कुनैपनी समयमा बाच्न सक्ने केही मक्कीएको अवस्थामा रहेको छ । यस अवस्थालाई मध्यनजर गरी दोलखा भीमेश्वर गुठी व्यवस्थापनले यस पटक समयमै चुडामणी व्यवस्थापन गरिएको सम्वन्धीत सवैको जानकारीको लागि अनुरोध गरिएको छ ।
यस चुडामणीको लेख सम्वन्धमा विशेष सहयोग भरत बहादुर श्रेष्ठ, भीमेश्वर गुठी व्यवस्थापन समिती अध्यक्ष ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij