
प्रा. डा. श्याम जोशी
यसपाली होली चैत्र महिनामा परेको भएपनि सामान्यतया फाल्गुन महिनाको शुक्ल अस्टमिको दिन देखि फागु शुरु हुन्छ । त्यो दिन देखि होली खेल्न शुरु हुन्छ रङ् हानेर र अबिर दलेर । पुर्णिमाको दिन धुमधामले बाजागाजा सहित नाचगान गरेर टोल टोलमा–शहर शहर परिक्रमा गरेपछी होली उत्कर्षमा पुग्छ र समाप्त हुन्छ । काठमान्डौ उपत्यकामा फागु शुक्ल अस्टमिको दिन रंगिन कपडाले बेह्री राखेको चिर गाडे पछि फागु शुरु भएको मानिन्छ ।

यसै गरी दोलखामा भने पुर्णेको अगिल्लो रात मात्र कुसलेहरुले तलेजु मन्दिर अगाडि चिरको रुपमा राखेको बाँस आगो बालेर पड्काउने गर्छन् फाल्गुन महिनाको पुर्णेको दिन पर्ने भएको यो पर्व लाई नेपालमा फागु पुर्णे भन्ने गरिएपनि भारत भने होली नै भन्ने प्रचलनमा रहेको पाईन्छ ।
होली कसरी शुरु भयो भन्ने सम्बन्धमा हिन्दु ग्रन्थमा विभिन्न किम्बदन्तीहरु पाइन्छन् । एउटा भनाइ अनुसार प्रेमको देवता कामदेबले होलीको दिन कामबाण हानेर तपस्यालिन भगवान् शिवको तपस्या भङ्ग गरेकोले शिवले क्रोधबस कामदेबलाइ भस्म गरेका थिए । कामदेवकि पत्नी रतीले बिलौना गर्न थाले पछि शिबको मन पग्लियो । शिवले द्वापर युगको अन्तमा श्रीकृष्णको छोरा प्रधुम्न भएर तिम्रो पतिको पुनर्जन्म हुनेछ र तिमीहरुको भेट हुनेछ भनेर बरदान दिएका थिए । त्यही भएर होली को रात खुसियालीको आगो बालेर रमाइलो गर्ने चलन छ भनिन्छ ।

दोस्रो किम्बदन्ती अनुसार होली भारतको मथुराको ब्रज भनिने स्थान बाट उदगम भएको हो । मथुरा भगवान श्रीकृष्णको जन्मस्थान मानिन्छ । भगवान श्रीकृष्णको प्यारी अर्धाङ्गिनी राधा लगायत गोपिनीहरु सङ्ग नाचगान गर्ने, रङ्ग खेल्ने जस्ता रमाइलो मनोरंजन हुन्थ्यो जस्लाइ रासलिला भनिन्छ । अतः उक्त प्रणय लिलाको स्मरण स्वरुप होली मनाउन थालिएको हो भन्ने मान्यता रहेको पाईन्छ । सोहि कारण मथुरामा अहिले पनि रंगीचंगी पिङ बनाएर र अबिर र रङ्ग खेलेर होली धुमधामका साथ होली मनाइन्छ ।

सबभन्दा प्रचलित किम्बदती राजा हिरण्य कश्यप संग सम्बन्धित छ । सो किम्बदन्ती अनुसार राजा हिरण्य कश्यप सङ्ग देवताहरुले बिजय प्राप्त गरेको खुसियालीमा होली मनाइन्छ । कथा अनुसार हिरण्य कश्यप नास्तीक र अह्ङ्कारी थिए । उनमा आफू ईस्वर भन्दा शक्तिसाली भएकोले कसैले मार्न सक्दैन भन्ने दम्भ थियो । उन्कै छोरा प्रल्हाद भने भगवान बिष्णुको भक्त थिए जुन उनलाई असह्य भएको थियो । त्यसैले उन्ले अग्निले असर गर्न नसक्ने आफ्नी बहिनी होलीकालाई प्रल्हादलाई काखमा राखेर बलिरहेको आगोमा बस्न अह्राए । दाजुको आज्ञा सिरोपर गरेकी होलीका आगोमा खरानी भए, तर प्रल्हाद लाई रतिभर केही भएन । यहि होलीका दहनको खुसियालीमा यो पर्व मनाउने गरिएको हो भनिन्छ । होली भन्ने नाम पनि होलीका बाट नै उदगम भएको मानिन्छ ।

त्यति मात्र नभएर देबताहरुले हिरण्य कश्यप लाई पाठ पढाउने निर्णय गरे । उन्लाइ सजिलै किसिमले मार्न नसकिने भएकोले देबताहरुले चलाखी दाउ अपनाए।भगवान शिवले अर्धपुरुष र अर्धनारी समिश्रित जनावरको रुप लिएर (नर्सिंह अबतार) उनलाई मारे।यस्तो जनावर सङ्ग उ केही गर्न असमर्थ थिए र प्रतिकार गर्न सकेनन । उनको आतंक बाट सबैलाइ छुटकरा मिल्यो । त्यसैले हिरण्य कश्यप सङग देवताहरको जितको खुसियालीमा होली मनाइन्छ पनि भनिन्छ ।

किम्बदन्ती त हिन्दुहरुको प्रत्यक चाडपर्व संग जोडिकै हुन्छ।यथार्थमा धेरै जसो पर्व मौसम वा ऋतु परिबर्तन भएको अबसरमा मनाइन्छ। ।होली पर्व फाल्गुन महिनामा बसन्त ऋतुको आगमनको खुसियालीमा मनाइने गरिन्छ।होली नयाँ बाली लगाउने मौसमको आगमनको खुसियालीको पर्व हो । यो पर्वमा मानिसहरुले एकअर्का लाई अबिर र रङ छर्ने गर्छन । सरद ऋतुको कठाङ्गृदो जाडो भुलेर वसन्त ऋतुको प्रारम्भ भएकोमा खुसी मनाउछन । मौसम अत्यधिक जाडो बाट न्यानोमा परिबर्तत हुन थाल्छ । वसन्त ऋतुको आगमनले गर्दा रुख बिरुवाहरुमा पात पलाउने र फूल फुल्न थाल्छ । चराहरु चिर्बिर गर्दैप्रणयमा रमाउने र चल्ला कोरल्न गुढ बनाउने तर्खर गर्न थाल्छ्न ।

होली पुरानो रिसराग र बैमनश्य बिर्सेर आपसमा माया साटेर उत्साह र उमंगका साथ मनाइने आपसी सदभाब र भाइचाराको पर्व हो । भारतको विभिन्न भागमा विभिन्न किसिमले होली मनाउने चलन छ । काठमान्डौ उपत्यका र पहाड तिर पुर्णे को दिन होली मनाईन्छ भने तराइ तिर र भारतमा भोलिपल्ट मनाउने चलन छ । दसैँ तिहार जस्तै यो पर्ब पनि हिन्दु तथा बुद्धधर्मीहरु दुबैले उतिकै उत्साहका साथ् मनाउछन । विश्वकै बिभिन्न देश जस्तै श्रीलंका, थाइलेन्ड, स्वीडेन, फ्रान्स, जापान, बेल्जियममा पनि बर्षको बिभिन्न समयमा आ–आफ्नै किसिमले होली मनाइने प्रचलन पाइन्छ । नेपाल र भारतको होलीको झझल्को दिने गरि अमेरिकाको न्यू ओर्लिन्स, टेक्सास र फ्लोरिडा, ब्रीटेनको लन्डन र म्यान्चेस्टर आदि शहरमा एक आपसमा रङ्ग दलेर सङ्गीत नृत्यमा रमाउदै जुलुस निकालेर रङ्गको पर्ब मनाउने गर्छन ।

अधिकाङ्स हिन्दुहरु बसोबास गर्ने पौराणिक शहर दोलखामा पनि धुमधामका साथ होली पर्व मनाइन्छ । अन्यत्र जस्तै दोलखामा पनि अस्टमि देखि रङ खेल्न शुरु हुन्छ । तर पुर्णेको अगिल्लो दिन सम्म पनि केवल केटाकेटी मात्र होली आएको सङ्केत गर्ने गरि अलि अलि रङ हानेर फागु खेल्छन । दलित समुदायका कुस्लेहरुले पुर्णेको अगिल्लो दिन नै फागु पर्व मान्ने गर्छन जसलाइ “जोगि (कुस्ले) फागु” भनिन्छ । तर उनिहरुले फागु पर्व दिनमा नभएयेर रातमा मनाउंछन । दोलखा शहर परम्परागत रुपमा माथिल्लो टोल र तल्लो टोल गरि दुई भागमा बाँडिएको छ । जात्रामात्रा, चाड्पर्ब उहीँ भए पनि केही जात्राहरु प्रतिस्पर्धात्मक रुपमा दुई टोल बाट बेग्ला बेग्लै निकाल्ने चलन छ । त्यसैले फागु पुर्णेको दिन तल्लो टोल र माथिल्लो टोलको समूह बेग्लाबेग्लै मुख्य मुख्य टोल र मन्दिर नछुट्ने गरेर शहर परिक्रमा गर्छन ।

होली खेल्ने टोलि दोलखाको परम्परागत बाजा बजाएर होलीको गीत गाएर नाच्दै पिचकारी हान्दै अगाडि बढछन । पितृसत्तात्मक समाज भएकोले महिलाहरु उक्त फागु खेल्ने टोलीमा समाबेश हुदैनन । महिलाहरु घरघर रटोलटोलमा नै आपसमा अबिर दलेर रमाइलो गर्छ्न।तर खास गरि युबतिहरु आ–आफ्नो घरको बार्दली, झ्यालमा लुकेर फागु खेल्ने टोलीको प्रतिक्षामा बसिरहेका हुन्छन। फागु टोलि बाजा बजाएर आए पछी युबतिहरुले बाटा, बाल्टिन आदिले रङ्ग खन्याउछ्न। केटाहरु पिचकारी र बेलुन हानेर युबतीहरुलाई प्रत्युतर दिन्छ्न । त्यो द्श्य अत्यन्त रमाइलो हुन्छ । शहर परिक्रमा सकिएपछि मुख्य जात्रा सकिन्छ । त्यस्पछी दुबै टोलि दोलखाको प्रख्यात तिनधारा राइति गएर नुहाएर रङ्ग पखाल्छ्न । अबिर र रङ्गको मैलो पखालेर शुद्ध भयपछी घाटो भनिने अर्कै गीत गाएर भिमेस्वर थान जान्छन । घाटो गीत गाउने प्रचलन पाटनमा पनि पाइन्छ । घाटो गाएर हिढ्ने समयमा रङ्ग हान्ने र अबिर दल्ने कार्य बिल्कुलै बन्द हुन्छ । भिमेस्वर थान पुगे पछि फागु बिधिवत समाप्त हुन्छ ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij